काठमाडौँ

पूर्वप्रधानमन्त्री, गृहमन्त्री र भीआईपीले अझै घरमा मनपर्दी ढंगले दर्जनौं सुरक्षाकर्मी राखेका छन् । "/>

भीआईपीका घरमा मनलाग्दी सुरक्षाकर्मी : कसको घरमा कति ?

भीआईपीका घरमा मनलाग्दी सुरक्षाकर्मी : कसको घरमा कति ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

पूर्वप्रधानमन्त्री, गृहमन्त्री र भीआईपीले अझै घरमा मनपर्दी ढंगले दर्जनौं सुरक्षाकर्मी राखेका छन् । सरकारले बनाएको विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि विपरीत हुने गरी पूर्वभीआईपीले सशस्त्र प्रहरीका दर्जनौं सुरक्षाकर्मीलाई घरको सुरक्षामा राखेका हुन् ।

राज्यकोषबाट तलब सुविधा लिएर मुलुकको सुरक्षामा तैनाथ हुनु पर्ने सयौं सुरक्षाकर्मी पहुँच र शक्तिका आधारमा भीआईपी कहाँ बसिरहेका छन् । विगतमा सुरक्षा अवस्था गम्भीर हुँदा र सुरक्षा थ्रेट बढी हुँदा राखिएका सुरक्षाकर्मी अहिले सुरक्षा थ्रेट नहुँदा र राजनीतिक स्थिरता सहितको शान्ति कायम भइसक्दा पनि ठूलो संख्यामा भीआईपी कहाँ रहँदै आएका हुन् । कतिपयले सुरक्षाकर्मीलाई घरायसी काममा लगाउने गरेको गृह मन्त्रालय स्रोतको दाबी छ ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई बाहेक सबै पूर्वप्रधानमन्त्री, गृहमन्त्री र पूर्वपदाधिकारी तथा बहालवाला अधिकारीले पनि घरमा दर्जनौं सुरक्षाकर्मी राखेको गृह मन्त्रालयले जनाएको छ । पूर्वप्रधानमन्त्री भट्टराईले हालै घरको सुरक्षामा रहेका सशस्त्र प्रहरीका सबै सुरक्षाकर्मी हटाएका छन् । यद्यपि भट्टराईले सुरक्षाकर्र्मी फिर्ता गरेको औपचारिक जानकारी भने सशस्त्र मुख्यालयमा पुगेको छैन ।

प्रहरीका पूर्व तथा बहालवाला उच्च अधिकारीले पनि आफ्नो आवासमा दर्जनौँ सुरक्षाकर्मी राखिरहेका छन् । प्रहरीका बहालवाला तथा पूर्वपदाधिकारीले आवासमा राखिएका सुरक्षाकर्मीलाई घरायसी काममा लगाउने गरेको गृहका अधिकारीको दाबी छ । कतिपय पूर्वगृहमन्त्रीले बहालवाला अवस्थामा प्रयोग गरेको प्रहरी पछुवा टोली समेत फिर्ता गरेका छैनन् ।

गृह मन्त्रालयका अनुसार सबैभन्दा धेरै सुरक्षाकर्मी पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको घरमा खटिएका छन् । देउवाको घरको सुरक्षार्थ सशस्त्र प्रहरीका २९ जना सुरक्षाकर्मी परिचालित छन् । यसैगरी पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको घरमा १६ जना, झलनाथ खनालको घरमा १५, लोकेन्द्रबहादुर चन्दको घरमा १४, खिलराज रेग्मीको घरमा ९ जना सुरक्षाकर्मी कार्यरत छन् ।

यसैगरी पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीहरू वामदेव गौतमको घरमा २७, रामचन्द्र पौडेलको घरमा १३, कृष्ण सिटौलाको घरमा १५, विमलेन्द्र निधिको घरमा १६, पूर्णबहादुर खड्काको घरमा १३, नारायणकाजी श्रेष्ठको आवासमा १२ र जनार्दन शर्माको आवासमा ११ जना सुरक्षाकर्मी तैनाथ छन् । यसैगरी पूर्वअर्थमन्त्री रामशरण महतको घरमा १४, पूर्वशिक्षामन्त्री गोपालमान श्रेष्ठको घरमा ९, पूर्वउपप्रधानमन्त्री कमल थापाको घरमा १४ र पूर्वमन्त्री प्रकाशमान सिंहको घरमा १५ जना सुरक्षाकर्मी खटिएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता सुवेदीले कार्यविधि विपरीत भीआईपीका घरमा सुरक्षाकर्मी खटिएकाले तत्काल फिर्ता गर्न दुवै प्रहरी मुख्यालयलाई निर्देशन दिइएको बताए । घरेलु कामदार बनाइएकालाई तत्काल फिर्ता गर्न समेत कडा निर्देशन दिइएको प्रवक्ता सुवेदीले जानकारी दिए ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo