काठमाडौँ,

आज विक्रम संवत् २०७५ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । "/>

आज बाट नयाँ वर्ष वि.सं. २०७५ शुरु

आज बाट नयाँ वर्ष वि.सं. २०७५ शुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,

आज विक्रम संवत् २०७५ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन आज वैशाख सङ्क्रान्ति अर्थात मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो ।

आज हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता/असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता पाउन नयाँ योजनाको सङ्कल्प गर्दछन् । यस अवसरमा आज बिहानै स्नान गर्ने, घर–आँगन सफा गर्ने, देवदेवीको दर्शन गर्न मन्दिर जाने, मीठोमीठो खाने, साथी सङ्गाती तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना साटासाट गर्ने गरिन्छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य एवम् इतिहासकार प्रा डा दीनेशराज पन्त मल्लकाल देखि नेपालमा मौलिक संवतका रुपमा वि.सं चलेको बताउँछन् । “नेपालमा मात्र मौलिक रुपमा यो संवत् चल्छ, भारतमा सरकारी संवत शक संवत भए पनि व्यहारमा इस्वी संवत चलेको छ”–उनले भने । नेपालमा विसं १३५ देखि शक संवत, वि.सं ६३३ देखि मानदेव संवत, वि.सं ९३६ देखि नेपाल संवत चलेको जानकारी समेत उनले दिए । यी संवत मध्ये अहिले मानदेव संवतको चलन हराइसकेको छ ।

विक्रमको १२ औँ शताब्दीमा गुजरातबाट आएका विद्वानले किताब सार्दा पहिलोपटक वि.सं. को प्रयोग गरेको लिखित दस्तावेज फेला परेको पनि इतिहासकार पन्तले सुनाए । विक्रम संवतलाई पहिले ‘कृत’, ‘मालव’, ‘मालव गर’ आदि नामले पनि चिनिन्थ्यो । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम वि.सं शास्त्रीय संवत भएको बताउँछन् । “सौरमान र चान्द्रमान दुवैलाई समन्वय गरेर बनाइएको संवत नै वि.सं. हो, विक्रमको अर्थ पराक्रम र आदित्यको अर्थ सूर्य हुन्छ, सूर्यका उपासकले चलाएकाले नै यसलाई विक्रम संवत भनिएको हो”–उनले भने ।

राजा विक्रमादित्यले चलाएको संवत भएकाले यो संवतलाई विक्रम संवत भनिएको तर्क पनि एकथरीले गर्ने गरेका छन् । यस अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ । यस वर्षको संवतसरको नाम ‘बिरोधकृत’ हो । संवतसरको फल अनुसार यो वर्ष मध्यम रहेको समितिले जनाएको छ । यस वर्ष वर्षा समेत कम हुने समितिले स्वीकृत गरेका पञ्चाङ्ग (पात्रो)ं मा उल्लेख छ ।
रासस

Logo