काठमाडौँ। नेपाली सेनाले संविधान तथा नागरिक सर्वोच्चताको पूर्ण पालना गरिरहेको बताएको छ ।
भदौ २३–२४ को जेनजी आन्दोलनपश्चात नेपाली सेनाले आफ्नो भूमिकाबारे स्पष्ट पार्दै कुनै राजनीतिक महत्त्वाकांक्षा नभएको र तत्कालीन संकटको समयमा जीवन रक्षा पहिलो प्राथमिकता राखेको बताएको हो । सेनाले उक्त परिस्थिति नियन्त्रणमा राख्न सहजीकरण गरेको भन्दै तत्कालीन घटनामा सीमित जनशक्ति र स्रोतका बाबजुद संयमित भूमिका निर्वाह गर्दै नागरिक जीवन र सुरक्षा सुनिश्चित गर्न सक्रिय रहेको बताएको छ । सेनाले राजनीतिक एजेन्डा अघि नबढाएको, सत्ता हस्तक्षेपको आकांक्षा नराखेको र संवैधानिक आदेशअनुसार मात्र कार्य गरेको उल्लेख गरेको छ ।
भदौ २४ मा सेना प्रमुखको सन्देशमा देखाइएको पृथ्वीनारायण शाहको तस्बिर राष्ट्रिय एकताको प्रतीकको रूपमा बुझ्नुपर्ने जंगी अड्डाको भनाइ छ । राष्ट्र निर्माता माथि कुनै तन्त्र वा वादभन्दा माथि रहेको ऐतिहासिक पहिचानलाई सम्मान गर्दै सेनाले संकटको बेला राष्ट्रिय एकता, सार्वभौमसत्ता र अखण्डताको स्मरण गराएको छ ।
इतिहासतर्फ फर्केर हेर्दा, नेपाली सेनाले कहिल्यै सत्ता हस्तक्षेप गरेको छैन । बरु संवैधानिक सङ्क्रमणको समयमा संयम र अनुशासित भई नागरिक सर्वोच्चताको पक्षमा उभिएको छ । यसले सेनाको व्यावसायिकता, मानवअधिकार प्रतिको प्रतिबद्धता र अन्तर्राष्ट्रिय विश्वसनीयता पुष्टि गरेको छ।
जंगी अड्डाले भनेको छ, हालको निर्वाचन तयारीको समयमा सबै सुरक्षा निकायबीच स्पष्ट कार्यविभाजन, समन्वय र जिम्मेवारी सुनिश्चित गर्नु राष्ट्रको हितमा छ । सेनाले संविधान र आदेशको पूर्ण सम्मान गर्दै राष्ट्रिय एकता र सुरक्षामा आफ्नो प्रतिबद्धता दोहोर्याएको तत्कालीन अवस्थाका बारेमा चर्चा गरिएको जंगी अड्डाको लेखमा भनिएको छ।





























प्रतिक्रिया