कुस्माको शताब्दी घरमा रङ्ग–रेखाको उत्सव, इतिहासले पायो क्यानभास

कुस्माको शताब्दी घरमा रङ्ग–रेखाको उत्सव, इतिहासले पायो क्यानभास

केन्द्रबिन्दु
60
Shares

एन.पि.घायल,काठमाडौँ । कसैले आँगनको न्यानो घाममा बसेर कुची चलाइरहेका थिए, कसैले पिँढीमा टेक्दै रङ्गसँग संवाद गर्दै थिए । तीन सय वर्ष पुरानो कुश्माको शताब्दी घर आइतबार इतिहास मात्र रहेन, त्यो आफैँ एउटा क्यानभास बन्यो। प्रकृति, संस्कृति र जनजीवनका भावभङ्गीहरू त्यहीँका भित्ताभित्र रङ्ग र रेखामा जीवित हुँदै गए । अनुजदेखि अग्रजसम्मका कलाकारहरू एकै थलोमा जुटे। अनुभव साटियो, दृष्टि भेटियो, र कलाका सम्भावनाबारे विमर्श भयो। कुश्मा कला परियोजनाको आयोजनामा सम्पन्न ‘एक दिवसीय कला कार्यशाला’ ले शताब्दी घरलाई सिर्जनात्मक ऊर्जाले भरिदियो। पर्वत, बागलुङसहित धवलागिरि क्षेत्रका कलाकारहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई विशेष बनायो।

इतिहास संरक्षणसँगै कला प्रवद्र्धनको उद्देश्य बोकेको परियोजनाले शताब्दी घरकै परिसरमा कार्यशाला आयोजना गरेको हो। कार्यशालामा कुश्माका विभिन्न विद्यालयबाट आएका झण्डै २०० विद्यार्थी सहभागी भए । उनीहरूले आफ्ना कल्पनालाई कागजमा उतारे, अनुभवी कलाकारका क्यानभास नियाले र चित्रकलासँगको पहिलो आत्मीय सम्बन्ध गाँसे।

परियोजनाका अध्यक्ष आरके अदिप्त गिरीका अनुसार कार्यशालाको मूल उद्देश्य चित्रकला विधाको जगेर्ना र नयाँ पुस्तालाई कलाप्रति आकर्षित गर्नु हो। उनी भन्छन्,“कलाकारको सम्मान गर्दै नयाँ पुस्तामा सिर्जनाको बीउ रोप्ने प्रयास हो।” धवलागिरि क्षेत्र आफैँमा कलाको उर्बर भूमि भएको र यसलाई नयाँ ढङ्गले अघि बढाउनुपर्ने गिरीले बताए ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले यस्तो कार्यशालाले कलाको वातावरण निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको बताए । यो कार्यक्रम “कलाकारहरूबीच सिक्ने–सिकाउने सेतु बन्यो,” उनले भने, “कलाप्रतिको सम्मान जोगाउन यस्ता गतिविधि अपरिहार्य छन्।” उनका अनुसार प्रतिष्ठानले पछिल्लो समय जिल्लास्तरमै ललितकलाका कार्यक्रम विस्तार गरिरहेको छ र कुश्माको कार्यशालामा पनि सहकार्य गरिएको हो।

प्रतिष्ठानकी प्राज्ञ सदस्य राधी कँडेलले कला प्रवद्र्धन राजधानी र ठूला सहरमा सीमित नराख्ने प्रयासस्वरूप कार्यक्रम विकेन्द्रित गरिएको बताइन्। “पहिले धेरैजसो कला कार्यशाला पोखरामै हुन्थे,” उनले भनिन्, “यसपालि पर्वतमा आयोजना गर्न सफल भयौँ। विद्यार्थी र स्थानीय कलाकारको उत्साहजनक सहभागिताले कलाप्रतिको सम्मान झल्काएको छ।”चित्रकला व्यावसायिक रूपमा पनि सम्भावनायुक्त विधा भएकाले नयाँ पुस्तालाई ललितकला अध्ययनतर्फ प्रेरित गर्नुपर्ने उनको धारणा थियो।

नवलपुरको गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति भीम शर्माले कार्यशालाले लुकेका प्रतिभा पहिचान गर्न सहयोग पुग्ने बताए। उनले आगामी माघ १५ गतेदेखि गैँडाकोटमा आयोजना हुने गण्डकी प्रदेशस्तरीय कला प्रदर्शनीमा धवलागिरि क्षेत्रका कलाकारहरूको सहभागिता रहने जानकारी दिए । उक्त प्रदर्शनी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा हुनेछ, जहाँबाट छनोट भएका कृतिहरू राष्ट्रिय प्रदर्शनीमा सहभागी गराइनेछ।

बागलुङका कलाकार मछिन्द्र शाक्यका अनुसार कार्यशाला पुरानो र नयाँ पुस्ताबीचको सशक्त सेतु बन्यो।
“धवलागिरि क्षेत्रका कलाकार एकै ठाउँमा जुट्ने अवसर मिल्यो,” उनले भने, “स्थलगत रूपमा क्यानभासमा चित्र कोर्दाको अनुभूति साँच्चै बेग्लै र जीवन्त भयो।”

शाक्यसहितका कलाकारहरूले शताब्दी घर, त्यहाँ संग्रहित परम्परागत सामग्री, प्रकृति, संस्कृति र जनजीवनलाई क्यानभासमा उतारे। तीन सय वर्ष पुरानो घरले यसरी नयाँ रङ्ग पायो। इतिहासले वर्तमानसँग हातेमालो गरेको एक दुर्लभ क्षणका रूपमा । यसको महत्व आज भन्दा भोली र भोली भन्दा पर्सी गरेर बढ्दै जानेछ । कार्यशालामा सिर्जना गरिएका चित्रहरू शताब्दी घरमै संग्रह गरिने र भविष्यमा यसलाई सांस्कृतिक संग्रहालयका रूपमा विकास गर्ने लक्ष्य परियोजनाको छ ।

Skip This
Skip This
Logo