काठमाडौं । द ब्रिटिश कलेजले विगत केही समयदेखि सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममा कलेजका विरुद्ध फैलाइएका सूचनाहरू भ्रामक, बदनियतपूर्ण र तथ्यहीन रहेको भन्दै त्यसको खण्डन गरेको छ । कलेजले एक प्रेस विज्ञप्ति जारी गर्दै संस्थाको कानुनी आधार, दुबईमा सञ्चालित कार्यक्रम र हालैका विवादहरूबारे यथार्थ सार्वजनिक गरेको हो।
कलेजले आफू नियामक निकायको स्वीकृतिमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त विश्वविद्यालयहरूसँगको अनुबन्धमा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको प्रतिष्ठित संस्था भएको स्पष्ट पारेको छ । दुबईस्थित ‘द वुलविच इन्स्टिच्युट’ पनि त्यहाँको प्रचलित कानुन र नियामक निकायको मान्यतामा सञ्चालित एक स्वतन्त्र संस्था रहेको र यसले २५ भन्दा बढी देशका विद्यार्थीहरूलाई सेवा दिइरहेको विज्ञप्तिमा उल्लेख छ।
हस्पिटालिटी म्यानेजमेन्ट फाउन्डेसन तहमा अध्ययनरत विद्यार्थीहरूलाई दुबईमा ‘हाइअर नेशनल डिप्लोमा’अन्तर्गत सैद्धान्तिक र व्यावहारिक ज्ञानका लागि पठाइने गरिएको कलेजले जनाएको छ। दुबई जाने विद्यार्थीहरूका लागि सुरुवाती समयमा तेस्रो पक्षमार्फत अस्थायी आवासको व्यवस्था गरिए पनि दीर्घकालीन रूपमा विद्यार्थीले आफ्नै व्यवस्था गर्नुपर्ने कुरा सम्झौतामै स्पष्ट गरिएको कलेजको दाबी छ। “विद्यार्थीहरूलाई बेघर बनाइएको वा अलपत्र पारिएको भन्ने दाबी पूर्णतः झुटो हो,” विज्ञप्तिमा भनिएको छ।
हस्पिटालिटी म्यानेजमेन्टका ५१ जना विद्यार्थीमध्ये ९ जना व्यक्तिगत असन्तुष्टिका कारण नेपाल फर्किएको कलेजले जानकारी दिएको छ । उनीहरूका लागि डिसेम्बर १ देखि नै इन्टर्नसिपको तय गरिएको भए पनि उनीहरू त्यसअघि नै फर्किएका थिए। नेपाल फर्किएपछि अभिभावक र विद्यार्थीसँग पारदर्शी संवाद गरी समस्या समाधानको दिशामा अघि बढिरहेको समयमा बाह्य समूहले स्थितिलाई भड्काउन खोजेको कलेजको आरोप छ।
यस्तै, मंसिर २३, पुस ७ र ८ गते कलेजमा भएका गतिविधिहरूप्रति कलेजले गम्भीर आपत्ति जनाएको छ। विद्यार्थी र बाह्य समूहले कलेजको अनुमति बिना सामाजिक सञ्जालमा सामग्री प्रसारण गरेको, कर्मचारीहरूलाई दुर्व्यवहार गरेको र कार्यालयमा तोडफोड गरी शैक्षिक वातावरण बिथोल्न खोजेको विज्ञप्तिमा उल्लेख छ। कलेज प्रशासनले पटक-पटक वार्ताका लागि आह्वान गर्दा पनि विद्यार्थीहरू सहभागी नभई अनधिकृत गतिविधिमा लागेको कलेजले जनाएको छ।
यसैगरी कलेजले आफूमाथि लगाइएको ‘शोषण’ वा ‘मानव तस्करी’ जस्ता गम्भीर आरोपहरूलाई पूर्ण रूपमा अस्वीकार गरेको छ। यस्ता मानहानीपूर्ण आरोपहरूले संस्थाको प्रतिष्ठामा आघात पुर्याएको भन्दै कलेजले आफ्नो कानुनी र नैतिक मापदण्डप्रति प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।
हाल कलेजका सम्पूर्ण शैक्षिक कार्यक्रम, परीक्षा र मूल्याङ्कन निर्धारित तालिकाअनुसार नै सुचारु रहेको कलेजले स्पष्ट पारेको छ । विद्यार्थी र अभिभावकहरूलाई कुनै पनि भ्रममा नपर्न र आधिकारिक माध्यमबाट मात्र सूचना लिन कलेजले आग्रह गरेको छ। विद्यार्थीको हित, सुरक्षा र उज्ज्वल भविष्य नै कलेजको मुख्य प्राथमिकता रहेको विज्ञप्तिमा पुनः दोहोर्याइएको छ।































प्रतिक्रिया