भक्तपुर
प्रदेश नं ३ को स्थायी राजधानी भक्तपुरलाई बनाउनु पर्ने माग गर्दै आज प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरिएको छ । एमालेबाट निर्वाचित प्रदेशसभा सदस्यद्वय शशिजंग थापा र हरिशरण लामिछानेले भक्तपुरलाई प्रदेश राजधानी बनाउने १० आधार सहित प्रस्ताव दर्ता गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
सदस्य थापाले भक्तपुरलाई स्थायी राजधानी बनाउँदै प्रदेश नं ३ का सबै जिल्लालाई पायक पर्ने र सहज हुने भएकाले प्रस्ताव दर्ता गराएको बताए । सो प्रस्तावमा सानोठिमी भक्तपुरका शिक्षा मन्त्रालय मातहतका शिक्षा विभाग, शैक्षिक जनशक्ति विकास केन्द्रका भवन, परीक्षा नियन्त्रण कार्यालय, अनौपचारिक शिक्षा केन्द्र लगायतका सुविधा सम्पन्न भवन, सानोठिमीको कृषि विकास तालीम केन्द्रको भवन तथा २०० रोपनी भन्दा बढी जग्गा खाली रहेकाले यहाँ राजधानीका लागि उपयुक्त हुने उल्लेख छ ।
वैशाख देखि रिक्त हुने यहाँका कार्यालयमा मन्त्रालय, मन्त्री आवास, मुख्यमन्त्रीको कार्यालय, सभामुख, उपसभामुखको कार्यालय, निवास, प्रदेशसभा भवनका लागि उपयुक्त हुने संरचना रहेको प्रस्तावमा उल्लेख छ । सुरक्षाको पूर्ण प्रत्याभूति रहेको, आवश्यक अन्य पर्याप्त जग्गा रहेको, भौतिक संरचनाका लागि सरकारले तत्काल खर्च गर्नु पर्ने आवश्यकता नरहने र प्रदेश नं ३ को राजधानी भक्तपुर उपयुक्त भएको प्रतिवेदन समेत सरकारी टोलीले बुझाएको तर्क सहितको प्रस्ताव गरिएको छ । यस अघि काभ्रे र नुवाकोटका प्रदेशसभा सदस्यले पनि आफ्नो जिल्लालाई प्रदेश नं. ३ को स्थायी राजधानी बनाउन प्रस्ताव दर्ता गराएका छन् । रासस































प्रतिक्रिया