काठमाडौँ
नेपाली काँग्रेसका नेता डा. रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको तीन दिने भारत भ्रमण फलदायी र उपलब्धिमूलक भएको बताएका छन् । रिपोर्टर्स क्लबले हिजो आयोजना गरेको साक्षात्कारमा उनले नेपालका कुनैपनि प्रधानमन्त्रीको भारत भ्रमण अहिले सम्म असफल नभएको बताउँदै प्रधानमन्त्री ओलीको भ्रमण पनि सद्भावपूर्ण भ्रमण भएको र दुई देश बीचको सम्बन्ध सुधारमा महत्वपूर्ण भूमिका खेलेको बताए ।
भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण पनि अहिलेसम्म असफल नभएको उल्लेख गर्दै नेता महतले नेपालको संविधान जारी गर्दा नेपाल–भारतबीच रहेको असमझदारीलाई स्वयम् भारतले पनि महसुस गरेकाले अब भारत नयाँ दृष्टिकोणबाट नेपालसँग सम्बन्ध सुधार गर्न इच्छुक रहेको छ भने । उनले प्रधानमन्त्री ओलीलाई विमानस्थलमा वरिष्ठ मन्त्रीले स्वागत गर्नु, पन्तनगरमा विद्यावारिधिको उपाधि दिनु र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ‘वान–टु–वान’ भेटवार्ता हुनु नै राम्रो कुरा भएको टिप्पणी गरे ।
उनले भने, “रेल आउने कुरा राम्रो हो, तर भाषण गरेर मात्रै हुँदैन, यसका लागि लगानी कति लाग्छ, रेल ल्याउँदा अनुदान हो कि ऋणमा त्यसको टुंगो लगाउनु पर्छ, रेल ल्याउने बारे विस्तृत अध्ययन बाँकी नै छ ।” जलमार्ग बनाउने कुरा पनि आज भन्दा करिब ४० वर्ष देखि छलफल भैरहेको बताउँदै नेता महतले त्यसको कार्यान्वयमा सहजता नरहेको बताए ।
रासस





























प्रतिक्रिया