ललितपुर। नेपाली कांग्रेसको आगामी महाधिवेशनलाई लिएर पार्टीभित्र चर्कँदै गएको विवादका बीच केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे सुरु हुने बैठकलाई महाधिवेशनको समय, प्रक्रिया र राजनीतिक सन्देशका दृष्टिले महत्वपूर्ण मानिएको छ ।
पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बस्नेछ । महाधिवेशनअघि क्रियाशील सदस्यता टुंग्याउन नसकिँदा पार्टी संगठन तहदेखि केन्द्रसम्म असन्तोष बढ्दै गएको छ ।
बैठकअघि महामन्त्री विश्वप्रकाश शर्माले अबको १६ दिनभित्र क्रियाशील सदस्यताको काम अनिवार्य रूपमा सक्नुपर्ने दबाब देखाएका छन्। उनका अनुसार वडा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन पूरा गरेर सिधै केन्द्रीय महाधिवेशनतर्फ जानु व्यावहारिक विकल्प हो।
महामन्त्री शर्माले महाधिवेशनलाई केवल नेतृत्व चयनको औपचारिक प्रक्रिया नभई पार्टीले देशलाई दिने राजनीतिक सन्देशसँग जोडेर हेर्नुपर्ने बताएका छन्। सुरक्षा अवस्था सहज नभएसम्म निर्वाचन सम्भव नरहेको उनको तर्क छ । “जेलबाट भागेका कैदी र लुटिएका हतियार फिर्ता नआएसम्म चुनाव गरिनु व्यावहारिक हुँदैन,” उनले भने, फागुनभन्दा वैशाखमा निर्वाचन गर्नु उपयुक्त हुने संकेत गरेका छन्। पार्टीको संस्थागत निर्णय सबैले मान्नुपर्नेमा उनको जोड छ ।
यता पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले आन्तरिक विषयलाई सार्वजनिक रूपमा अतिरञ्जित नगर्न आग्रह गरेका छन्। पार्टीभित्र जिम्मेवारी स्पष्ट रहेकाले महाधिवेशन प्रक्रिया रोकिएर नजाने उनको दाबी छ । “महामन्त्रीलाई विधानले दिएको अधिकारअनुसार क्रियाशील सदस्यताको व्यवस्थापन हुँदैछ, समय टुंगिएपछि निर्वाचन प्रक्रिया सहज रूपमा अघि बढ्छ,” उनले भने ।
बुधबारदेखि जारी कार्यसम्पादन समितिको बैठकमा शीर्ष नेताहरूले धारणा राख्ने क्रम जारी छ। उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, कोषाध्यक्ष उमेश श्रेष्ठसहित वरिष्ठ नेता विमलेन्द्र निधि, विजयकुमार गच्छदार, अर्जुननरसिंह केसीलगायत नेताहरूले आ–आफ्नो दृष्टिकोण प्रस्तुत गरिसकेका छन्।































प्रतिक्रिया