काठमाडौं । आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका नेताहरु प्रतिस्पर्धा गर्नबाट पन्छिन थालेका छन् । कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री बद्री पाण्डेले प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका हुन् ।
महामन्त्री शर्मा र सहमहामन्त्री पाण्डेले औपचारीक रुपमै चुनाव नलड्ने सार्वजनिक घोषणा गरेका छन् भने महामन्त्री थापाले भने बिहीबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा प्रतिनिधिसभा निर्वाचनअघि पार्टीको नेतृत्व परिवर्तन नभए चुनाव नलड्ने बताएका हुन् ।
थापा २०६४ सालदेखि लगातार सांसद रहँदै आएका छन् । २०६४ सालमा समानुपातिक सूचीबाट संसद भएका थापा २०७०, २०७४ र २०७९ मा लगातार तीनपटक काठमाडौं क्षेत्र नं. ४ बाट निर्वाचित भएका थिए ।
महामन्त्री शर्मा भने झापाबाट २ पटक पराजित भइ तेस्रो पटकमा जित निकाल्न सफल भएका थिए । झापा क्षेत्र नं. १ बाट गत निर्वाचन जितेका उनले आफू तीन पटक सांसद लडेको र अब साथीहरुलाई पालो दिने भन्दै चुनाव नलड्ने प्रस्ट पारेका हुन् ।
पार्टीले शर्माको नाम झापा–१ बाट सर्वसम्मत रुपमा सिफारिस गरेको छ । उनले आफूलाई सिफारिस गरेकोमा धन्यवाद दिँदै आफू निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन् ।
यता २०७९ सालमा बाजुराबाट प्रत्यक्ष निर्वाचित सहमहामन्त्री पाण्डेले चुनावी प्रतिस्पर्धा नगर्ने भएसँगै उनको नाम सिफारिस गरिएको छैन । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री समेत रहेका पाण्डेले नयाँ पुस्तालाई अवसर दिनका लागि चुनाव नलड्ने निर्णयमा आफू पुगेको बताए । ‘सांसद र मन्त्री भइसकेँ । नयाँ पुस्तालाई अवसर दिनुपर्छ भन्ने सोचेर चुनाव नलड्ने निधो गरेँ,’ पाण्डेले भने । पार्टी सुदृढीकरणको काममा आफू लाग्ने उनले बताउँदै आएका छन् ।































प्रतिक्रिया