मोनिका नगरकोटी

हाल: युएई

खाडीमा काम गर्न आएका प्राय: युवाहरुलाई नेपालमा दु:ख पाएर अथवा स्वदेशमा कुनै अवसर नपाएर वाध्यतावस: विदेशीनु परेको दुःखी ब्यक्तिको रुपमा चित्रण गरिन्छ । "/>

हो, म घमण्डी केटी हुँ

हो, म घमण्डी केटी हुँ

केन्द्रबिन्दु
0
Shares

मोनिका नगरकोटी

हाल: युएई

खाडीमा काम गर्न आएका प्राय: युवाहरुलाई नेपालमा दु:ख पाएर अथवा स्वदेशमा कुनै अवसर नपाएर वाध्यतावस: विदेशीनु परेको दुःखी ब्यक्तिको रुपमा चित्रण गरिन्छ । परिवार छाडेर टाढा बस्नु परेको अभागीको रुपमा समेत परिभाषित गर्दै बैदेशिक रोजगारीलाई दुःखको भावसागरको रुपमा परिभाषित समेत गर्ने गरेको पाइन्छ ।

त्यसमाथि अझ खाडीमा कार्यरत युवतीहरुलाई समाजले हेर्ने नजर यति कहालीलाग्दो छ कि त्यो शब्दहरुमा बर्णन गर्न असम्भव नै हुन जान्छ । प्राय: नेपालमा टेक्ने डालो र समाउने हाँगो नभएपछिको अन्तिम विकल्पको रुपमा मात्र युवतीहरु खाडीमा काम गर्न आउछन भन्ने मान्यता राख्ने गरिन्छ ।

खाडीमा कार्यरत महिलाहरुको लागि समाजको दृष्टिकोण अपरिवर्तनीय जस्तै छ । घरवार बिग्रेकाहरु र सामाजीक रुपमा वहिस्कृत महिलाहरु मात्र युएईमा काम गर्न आईपुगेका हुन जस्तो एक किसीमको तिरस्कृत नजरले हेर्ने परम्परा बसेको छ ।

एउटी महिला नेपालमा बसेर घरबार चलाएर एकजना पुरुष बिदेशमा कार्यरत हुनु सामान्य प्रक्रिया मान्छ समाज तर एकजना पुरुष नेपालमा छ र उसकी श्रीमती खाडीमा काम गर्छे भने त्यो कुनै मुल्यमा पचाउन सक्दैन समाजले । कसरी हुन्छ लोग्ने नेपालमा श्रीमती यहा … पक्कै घरबार बिग्रेको होला …पक्कै डिभोर्स भैसकेको होला भन्ने अनुमान लगाई हाल्छन् ।

महिलाहरुले पनि श्रीमानलाई घरमा राखेर आफु मिहनेत गर्न सक्छन भन्ने कुरा यो समाजले पत्याउदै पत्याउदैन । अझ अविवाहित युवतीलाई समाजले हेर्ने नजर झन् डरलाग्दो छ । स्वाभिमानी कुनै युवती आफूखुशी आफ्नो काम रोजेर कार्यरत रहदा समेत छोरीलाई खाडीमा काम गर्न पठाएर पाप गरेको आरोप उनीहरुका बाबु आमालाई समेत लगाउछ यहि समाजले ।

अर्का थरि छन् खाडीमा आएका नारीहरु जति चरित्रहीन हुन भन्ने सोच राख्ने हरु ।  नेपाल छाडेर विदेश आएका र आफुलाई राम्री लागेका सबै युवती उसले चाहे अनुकुल प्रयोग गर्न पाउनुपर्छ भन्ने सोच राख्छन उनीहरु । खासगरी समाजमा राम्रै हैसियत बनाएका बाहिर देखावटी मुकुण्डो एक किसिमको लगाएका तर भित्र फोहोरो सोच बोकेका मानिसहरुको कमि छैन ।

युवतीको स्वाभीमानको कुनै मूल्य नै छैन । कुनै युवती आफै केही गर्न सक्छु भन्ने हिम्मतले अवसरको खोजीमा युएई आईपुग्न पनि सम्भव छ भन्ने कुरा बुझ्ने वुद्दीजीवीहरुको खडेरी छ समाजमा । मानौं नेपाल छाडेर विदेश आउनु कुनै अपराध हो र अपराधीलाई जस्तोसुकै ‘प्रपोजल’ राख्न पनि छुट छ । पुरुष हरु छोडीएका साँढे हुन र महीला निरीह प्राणी । जो सुकैको चरित्रमाथि एकोहोरो धावा बोल्ने एकलौटी अधीकार पुरुषलाई छ जस्तो जो सुकैको चरित्रलाई वहसको विषय बनाएर खिल्ली उडाउने अधिकार उनीहरुलाई भएजस्तो ।

हुन त सबै महिला सामाजीक लक्ष्मणरेखा भित्र बस्छन नै भन्ने हुदैन त्यसरी नै हरेक महिला खराब चरित्रकै हुन्छन भन्ने सोच नै दुषित सोच हो । खाडीमा काम गर्ने युवतीप्रतिको सामाजिक दृष्टिकोण यता विदेशबाट हेर्ने र उता स्वदेशबाट हेर्ने ठ्याक्कै एउटै छ । अलिकति बढी पैसा कमाईन कुनै युवतीले भने त्यो ‘सजिलो बाटो’ प्रयोग गरेर कमाएको हो भनेर शंका गरिन्छ । युवतीले कमाएको पैसामाथि कस्ता कस्ता फोहोरी शंकाहरु गरिन्छन त्यो पुरुषहरुको फोहोरी सोचको उपज हो ।

खाडीमा रहेका पुरुषहरु नेपालमा बिग्रेर यता आएकी हो भन्ने सोच राख्छन अनि नेपालमा रहेका पुरुषहरु खाडी गएर बिग्रेर आएकी हो भन्ने सोच राख्छन । आखिर बिग्रनु के हो ? के हुँदा मान्छे बिग्रन्छ ? आफ्नो ईच्छा अनुसारको लवाइ खवाई गर्दा मान्छे बिग्रन्छ ? आफ्नो मेहनतले पैसा कमाउन जागीर गर्दा मान्छे बिग्रन्छ ? अथवा मिठो भाषामा आफुहरुसंग संगत गर्न आइपुगेकाहरुसंग बोल्दा मान्छे बिग्रन्छ ? आखिर के हो यो बिग्रनु भनेको ?

सामाजीक संजालमा हिजो हाई हेल्लो भएको मान्छे केही मिनेटमै हितैषी या घनिष्ट बन्न आईपुग्छ अनि चारवटा जवाफ राम्रोसंग लगातार दिईयो भने उ आफ्नो औकातमा झरीहाल्छ । कफी भेट, चियागफ हुँदै फित्रीक्क डेटमा झर्छ, त्यो बखत उसको नियत प्रष्ट भैसकेको हुन्छ । नारी शरीर प्रतिको आशक्तीले उसले आफैलाई झिंगा फेसबुकको च्याटरुमलाई फोहोरको डंगुर बनाउछ ।

म स्वाभीमानी युवती हुँ ! मलाई मेरो स्वाभीमान प्रति गर्व छ । दुनिया घमण्डी भन्दो हो मलाई तर घमण्ड र स्वाभीमान विचको भेद बुझेका मेरा पनि सहृदयी साथीहरु छन जसले मलाई यथेष्ट सम्मान गर्छन । म पनि उनीहरुको सम्मान गर्न कुनै कसर बाकी राख्दीन ।

रेडलाइट एरियामा रात बिताएर फर्केको पुरुष घमण्ड गर्दै आफ्नो कहानी सुनाउछ तर उ बिग्रेको हुँदैन । अनुशासित भएर आफ्नो सामाजिक परिवेशलाई सम्मान गर्दै मजदुरी गरिरहेका युवती बिग्रेको देख्छन उनीहरु । तपाइँ हाम्रो नजिक पर्ने केहि लुकेको चरित्र भएका व्यक्तिहरु संग दुरी बनाउनुपर्छ । उनीहरुलाई समयमै चिनेर त्यस्ता व्यक्तिहरु संग टाढा रहन सक्नुपर्छ ।

एकाथरी मान्छे हुन्छन जसले मलाई एकदम एक्लो भएको, म दुखि भएको र त्यहि कारणले मैले खाडीमा जागीर गर्न परेको जस्तो सोच्छन । मै जस्तो दुखीको अभिनय समेत गर्छन । हाम्रो दुख उस्तै हो भनेर समेत परिभाषित गर्छन वास्तवमा उनीहरु दुखि हुन्छन या हुदैनन् त्यो उनुहरुलाई नै थाहा होला तर उनीहरुको नजारमा महिला भएर खाडीमा काम गर्न परेको कारण म एकदम दुखि प्राणि हुँ । यो उनीहरुको बुझाइ हो । यस्तो बुझाइ राख्ने मान्छेहरु संग दश कदम टाढा रहनु राम्रो हो ।

अर्काथरी छन् जो हेर्दा एकदम सरल, दुनिया सामु सोझो र अनुशाषित मुखौटो लिएर हिड्ने अनि भित्र भित्र गम्भिर षडयन्त्रकारी । कुनै युवतीलाई फसाउनु उसको पुरुषार्थ भएजस्तो ।

एक पटक भेट्यो कुनै युवतीलाई भने साथीहरुसंग उसलाई बारम्बार भेट्ने गरेको गफ लगाउनुपर्ने अनि अनावस्यक रुपमा युवतीको चरित्रप्रति खोट देखाउने र चर्चा चलाउने । हुँदै नभएका सम्वन्धका कुरा रुलाई पनि गर्वसाथ साथीहरुलाई सुनाउने । यिनीहरुसंग कुनै युवती नजिकिनु पर्ने अवस्था आई नपरोस ।

अर्का थरि हुन्छन एकछिनको उताउलो बैँस बिसाउन आउनेहरु। जो मायाको अभिनय गर्दै आउने अनि स्वार्थ खोज्ने जब स्वार्थ पूरा गर्न पाउदैन अनि नानाथरी गाली गर्ने अनि रिस राग पोख्नेहरु । हुँदै नभएको कुराको हल्ला समेत चलाउनपछि पर्दैनन् त्यस्ता मान्छे ।

मैले खाडीको रोजगारीको कारण धेरै नया कुरा सिक्ने मौका पाएँ । समाजलाई बुझ्ने मौका पाएँ । समाजले हेर्ने दृष्टिकोण बारे बुझ्न पाएँ । समाज एकातिर छ उनीहरुका सोचहरु एकातिर छन् तर म आफ्नै पारामा निरन्तर चलिरहे । मेरो मुल्यांकन गर्ने कतिले मलाई घमण्डी भने होलान र कतिले जिद्दी । त कतिले छि: पनि भने होलान  । तर म ती तमाम संगतहरुलाई एकमुष्ट एकै ठाउमा राखेर सोच्दै छु आज । के म समाजले मुल्यांकन गरे जस्तै छु त ?

हरेक दिन नयाँ मान्छे भेट हुन्छ्न । मलाइ थाहा छ उनीहरु पहिल्यै मलाई चिनिसकेका मान्छे हुन तर पनि यस्तो लाग्छ उनीहरु पुनः आफुलाइ चिनाउन आइपुगेका हुन । नियाल्छु म उनीहरुलाई । उनीहरु मेरा पाहुना हुन जस्तो लाग्छ । अतिथि देवो भवः मा बिश्वाश गर्छु म । जो आउछ मबाट उस्तै सम्मान पाउछ ।

मेरो  जिन्दगीमा झुल्किएका हरेक मान्छेलाई मैले एउटै सम्मान दिने कोसीश गर्छु । जसमा पुरा पुरा सम्मान हुन्छ । कसैबाट कतै कुनै मान सम्मान मैले पाएँ या पाइन त्यो सम्झने जाँगर चल्दैन मलाई । जसले सम्मान चिनेको हुन्छ उसले पक्कै सम्मान गर्यो होला मलाई पनि अनि जसले मैले गरेको सम्मानलाई चिन्न सकेन उसले दिने मानको अर्थ नै के रह्यो र आखिर !

धेरै फराकिलो संसार र उत्तिकै फराकिलो सोच भएका मान्छेहरु हुन्छन हाम्रो वरिपरी । कसैसंग आफुलाई नजिकिन मन लाग्छ कोहि खोज्दै खोज्दै संगत गर्न आइपुग्छन । म कसैको संगतमा कुनै स्वार्थ लिएर गएँ जस्तो लाग्दैन तर के मेरो संगतमा आइपुगेका मेरा हितैसी बनेका र मैले समेत सुख दुख सेयर गरेका मान्छेहरु पनि स्वार्थ बिहिन थिए त ?

आज एकान्तमा बसेर मैले मेरा संगतहरुको लेखाजोखा गरिरहेछु । हो मेरो नजरमा म स्वाभिमानी युवती हुँ किनकी आफ्नै नजरमा गिर्नुपर्ने त्यस्तो कुनै काम गरेकी छैन मैले । बाँकी समाजको नजर त बहुरंगी छ । समाजले मलाई घमण्डी देख्छ भने ।  हो म घमण्डी केटी हुँ !

Logo