महोत्तरी । पुस लागेसँगै महोत्तरीसहित सम्पूर्ण मधेसमा चिसो अत्यधिक बढेको छ। लगातारको शितलहरका कारण दैनिक ज्यालामा निर्भर बनिहारा वर्गको दैनिकी गम्भीर संकटमा परेको छ। जाडोले काम ठप्प हुँदा उनीहरूलाई खान–बस्नै समस्या भएको छ।
मुसहरीटोल, भङ्गाहा–३ का पराउ सदा भन्छन्, “काममा बोलाउन कोही आउँदैन, बाहिर निस्कन पनि साहस हुँदैन। घरमा अन्न सकियो, के गर्ने थाहा छैन।” दुई सातायता कृषि मजदुरी नपाउँदा अधिकांश मुसहर परिवार भोकको सामना गर्न बाध्य छन्।
औरही–७ का पल्टा सदाका अनुसार धान कटनीबाट जोगिएको थोरै अन्न पनि सकिएको छ। “अब झुपडीमा न अन्न छ, न आम्दानी। बालबच्चा भोकै बस्नुपर्ने अवस्था आएको छ,” उनी भन्छन्।
मुसहर र बाँतर समुदायको मुख्य जीविकोपार्जन कृषि मजदुरी हो। चिसोका कारण न त काममा जान सकिएको छ, न वैकल्पिक रोजगारी भेटिएको छ। रातको चिसो छल्न प्लास्टिक र खरपात बालेर ‘घूर’ ताप्नु नै उनीहरूको एकमात्र सहारा बनेको छ।
भङ्गाहा–४ की हेमनी सदा पीडा पोख्छिन्, “खाने–बस्ने केही छैन। गरिबको जिन्दगी यस्तै रहेछ भन्ने लाग्छ।” यस्तै पीडा बाँतर समुदायमा पनि उस्तै छ। “न बनी गर्न पाइयो, न माछा मार्न। जिताएर पठाएकाबाट अहिले आश मात्र छ,” सियानकीदेवी बाँतरको गुनासो छ।
२०७८ को जनगणनाअनुसार महोत्तरीमा मुसहर २७ हजारभन्दा बढी छन् भने बाँतर समुदाय करिब दुई हजारजति छन्। शिक्षामा पहुँच अत्यन्त न्यून हुँदा उनीहरूको अवस्था झन् जटिल बनेको जिल्ला समन्वय समिति महोत्तरीले जनाएको छ ।
चिसोले थप कठिन बनेको बनिहारा बस्तीको अवस्था हेर्दै स्थानीय तह र विपद् व्यवस्थापन समितिले तत्काल राहत र संरक्षणका कार्यक्रम अघि बढाउनुपर्ने सामाजिक अभियान्ताहरुको आग्रह छ ।





























प्रतिक्रिया