फूलबारीमा पहाडको मौलिक पहिचानः कुँडुले सञ्चो विसञ्चो केन्द्रले थप्यो पर्यटकीय आकर्षण

फूलबारीमा पहाडको मौलिक पहिचानः कुँडुले सञ्चो विसञ्चो केन्द्रले थप्यो पर्यटकीय आकर्षण

केन्द्रबिन्दु
33
Shares

तिलोत्तमा। पहाडी भेगको मौलिक पहिचान बोकेको परम्परागत कुँडुले घर अब बुटवलको फूलबारीमा पर्यटकीय आकर्षणका रूपमा उभिएको छ । गोलाकार बनोट, माटोले लेपिएको भित्तो र खरले छाएको दुईतले कुँडुले घरले मणिमुकुन्द सेन उद्यानको सौन्दर्य थप बढाएको छ ।

सानो लगानीमा परम्परागत शैलीमा निर्माण गरिएको यो घर उद्यानको पश्चिम भागमा बनाइएको हो, जसले त्यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको ध्यान तानेको छ। पोखराबाट फूलबारी घुम्न आएकी सृजना सुनार भन्छिन्, “पुर्खाले बसोबास गरेको घर हेर्दा आफ्नै इतिहाससँग जोडिएको अनुभूति भयो।”

कुँडुले घरभित्र पहाडी जीवनशैली झल्काउने घरेलु सामग्री, कृषि उपकरण र परम्परागत भाँडाकुँडा राखिएका छन्। जाडोमा न्यानो र गर्मीमा शीतल हुने यो घर नयाँ पुस्तालाई मौलिक संस्कृतिसँग जोड्ने प्रयासको रूपमा लिइएको छ।

उद्यान प्रशासनका अनुसार आगामी दिनमा यहाँ ढिँडो, फापर, भुटेको मकैजस्ता परम्परागत खानाका परिकार समेत व्यवस्थित रूपमा पस्कने योजना छ। साथै सेल्फी जोन, रुखमा लज, रेस्टुरेन्ट र थप भौतिक संरचना निर्माण गरी फूलबारीलाई बहुआयामिक पर्यटकीय गन्तव्य बनाउने तयारी भइरहेको छ ।

उपमहानगरपालिकाको रु १४ लाख र उद्यानको थप लगानीमा निर्माण गरिएको कुँडुले घरले फूलबारीको पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ ।

Skip This
Skip This
Logo