समृद्ध नेपाल निर्माणमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका- उपराष्ट्रपति

समृद्ध नेपाल निर्माणमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका- उपराष्ट्रपति

केन्द्रबिन्दु
0
Shares

उपराष्ट्रपति नन्दबहादुर पुनले देशलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुने बताएका छन् । 

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को छैटौँ राष्ट्रिय महाधिवेशनको यहाँ आज उद्घाटन गर्दै उपराष्ट्रपति पुनले मुलुक परिवर्तनमा सञ्चारमाध्यमको अतुलनीय योगदान रहेको भन्दै समृद्ध नेपाल निर्माणमा पनि उत्तिकै भूमिका हुने आशा व्यक्त गरे ।

“लोकतन्त्र बलियो हुन सञ्चारमाध्यम बलियो हुनुपर्छ, आर्थिक संकटका कारण पत्रकार विदेशिनु परेको छ, पेशा परिवर्तन गर्नुपरेको छ, त्यसलाई राज्यले गम्भीरतापूर्वक हेर्नुपर्छ,” उपराष्ट्रपति पुनले भने । सञ्चारमाध्यमले कुनै धर्म वा जाति विशेषभन्दा पनि उत्पीडित समुदायको आवाज बोल्नुपर्ने उहाँको भनाइ थियो । 

सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो पटक सञ्चारमाध्यम गैरजिम्मेवार देखिएको बताउँदै यो क्षेत्रलाई जिम्मेवार, मर्यादित र प्रतिष्ठित बनाउन पत्रकार महासंघलगायतका सबै संघ संगठन लाग्नुपर्नेमा जोड दिए । महाधिवेशन भोलि शनिबारसम्म चल्नेछ । 

फोनिजले आदिवासी जनजाति पत्रकारको हकहितका साथै व्यावसायिक पत्रकारिताको माध्यममार्फत देश र जनताको विकासका लागि महत्वपूर्ण योगदान दिँदै आएको अध्यक्ष दण्ड गुरुङले जानकारी दिए । 

पत्रकारको दक्षता अभिवृद्धि गर्ने, सञ्चार पैरवी गर्नेजस्ता समाजसेवी भावनाबाट विभिन्न किसिमका अभियानसमेत यसले सञ्चालन गर्दैआएको छ । महाधिवेशनमा ३०० भन्दा बढी प्रतिनिधि र पर्यवेक्षकहरु सहभागी छन् । फोनिजमा आठ वटा जातीय संस्थागत सदस्य आबद्ध छन् । यसको देशभित्र ५० भन्दा बढी शाखा छन् भने विदेशमा चार शाखा छन् ।

Logo