काठमाडौं। भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगसमक्ष पूर्वगृहमन्त्री रमेश लेखकले आन्दोलनमा बल प्रयोग गर्न कुनै लिखित वा मौखिक आदेश नदिएको दाबी गरेका छन्।
सोमबार आयोगमा उपस्थित भएका लेखकले आयोगलाई बुझाएको ६ पृष्ठ लामो लिखित बयानमा केन्द्रीय सुरक्षा समितिको भदौ २२ गतेको बैठकमा आफूले “कुनै हताहती नहोस्, संयमता अपनाइयोस्” भन्ने स्पष्ट निर्देशन दिएको उल्लेख गरेका छन्। उनले सुरक्षा निकायको अपरेसनल काममा मन्त्रीले हस्तक्षेप नगर्ने र कानुनले पनि त्यस्तो अधिकार नदिएको जिकिर गरेका छन्।
पूर्वगृहमन्त्री लेखकले भ्रष्टाचार नियन्त्रण र सुशासनको मागसहित सुरु भएको जेन–जी समूहको शान्तिपूर्ण आन्दोलनलाई लोकतन्त्र विरोधी तत्त्वले हाइज्याक गरी हिंसात्मक बनाएको आरोप लगाएका छन्। संसद् भवन, सर्वोच्च अदालत र आफ्नै निजी निवासमा भएको आगजनीलाई उनले “सुनियोजित षड्यन्त्र” र “लोकतन्त्रमाथिको आक्रमण” को संज्ञा दिएका छन्।
घटनामा युवाहरूको ज्यान गएपछि आफू गहिरो रूपमा मर्माहत भएको र नैतिक जिम्मेवारी लिँदै तत्काल राजीनामा दिएको उनले स्मरण गराएका छन्। आगजनीका क्रममा आफ्नो घरका ऐतिहासिक दस्तावेज नष्ट भएको र बिरामी आमालाई अक्सिजनबिनै अस्पताल लैजानुपर्दा केही दिनपछि मृत्यु भएको दुखद प्रसङ्ग पनि बयानमा समेटिएको छ ।
लेखकले आयोगको सिफारिसका आधारमा तीन महिनादेखि राहदानी रोक्का र काठमाडौँ उपत्यकाबाहिर जान प्रतिबन्ध लगाइएकोप्रति आपत्ति जनाउँदै, आफूलाई सफाइको मौका नदिइएको निर्णयलाई “विधिको शासन र स्वच्छ सुनुवाइको सिद्धान्त विपरीत” भएको बताएका छन्।































प्रतिक्रिया