नेकपा र नाउपा बिच एकता, चुनाव अगाडी धेरै पार्टीहरु नेकपामा समाहित हुन्छन् : प्रचण्ड

नेकपा र नाउपा बिच एकता, चुनाव अगाडी धेरै पार्टीहरु नेकपामा समाहित हुन्छन् : प्रचण्ड

केन्द्रबिन्दु
66
Shares

काठमाडौं। नेपाली कम्युनिस्ट आन्दोलनमा नयाँ मोड आएको छ। नेपाली कम्युनिस्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीले औपचारिक एकीकरणको सहमति पत्रमा हस्ताक्षर गरेका छन् । जेन जी आन्दोलन पछि विभिन्न १६ समाजवादी कम्युनिस्ट पार्टीहरु मिलेर बनेको नेकपामा नागरिक उन्मुक्ति पार्टी समाहित भएको हो । अव नेकपा १७ कम्युनिस्ट घटकहरुको एउटै मोर्चा भएको छ । एकताको सहमतिपत्रमा हस्ताक्षर गर्दै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशको वाम–समाजवादी राजनीतिमा नयाँ ध्रुवीकरण सुरु भएको बताएका छन् ।

जनआन्दोलन, जनयुद्ध, मधेस आन्दोलन र पछिल्लो जेन–जी आन्दोलनबाट विकसित राजनीतिक चेतनालाई आत्मसात गर्दै थप उपलब्धिका लागि एकताबद्ध संघर्ष गर्ने प्रतिबद्धता सहित सहमति गरिएको उनले बताए । यस्तै प्रचण्डले देशभक्त कम्युनिस्ट शक्ति एक हुनुको विकल्प नभएको भन्दै चुनाव अगाडी अन्य दलहरुपनि क्रमश नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुँदै जाने जिकिर गरे । अन्य विभिन्न शक्ति र जेन जी समुहहरुविच पनि नेकपामा समाहित हुने गरी छलफल चलिरहेको प्रचण्डको भनाई छ ।

नेकपा र नेउपा पार्टीले बहुजातीय, बहुभाषिक र समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र समाजवादउन्मुख राज्य निर्माणलाई साझा लक्ष्य बनाउँदै दुवै दलले एकै पार्टीमा विलय हुने निर्णय गरेका हुन्।

सहमति अनुसार एकीकरणपछि पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहनेछ भने चुनाव चिन्ह तारा हुनेछ। दुवै दलबाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि स्वतः नयाँ पार्टीका सदस्य हुने व्यवस्था गरिएको छ। सहमति–पत्रमा संघीयता, सुशासन, सामाजिक न्याय र समृद्धिलाई समाजवादतर्फको आधार मानेर अघि बढ्ने स्पष्ट दिशा तय गरिएको छ। सडक, सदन र सरकार तीनै तहबाट संघर्ष गर्ने रणनीति अपनाइने उल्लेख छ।

महिला, थारू, मधेसी, आदिवासी जनजाति, दलित, मुस्लिम, अल्पसंख्यक र सीमान्तीकृत समुदायको समानुपातिक समावेशीकरणलाई राज्यका सबै तहमा सुनिश्चित गर्ने प्रतिबद्धता पनि सहमतिमा समेटिएको छ। संविधानका सकारात्मक पक्ष जोगाउँदै आवश्यक संशोधन र अग्रगामी परिमार्जन गर्ने, संघीय संरचना सुदृढ गर्ने तथा निर्वाचन प्रणाली सुधारमा पहल गर्ने विषय पनि एकीकरणको साझा एजेन्डा बनेको छ।

विशेषगरी टिकापुर घटनासँग सम्बन्धित मुद्दाहरू, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने विषयलाई सहमतिले राजनीतिक रूपमा पुनः उठान गरेको छ, जसले थारू आन्दोलन र नागरिक अधिकारका मुद्दालाई राष्ट्रिय बहसमा फर्काउने संकेत गरेको छ। सहमति–पत्रमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, सहसंयोजक माधवकुमार नेपाल र संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका छन्।

एकीकरणसँगै वाम र समाजवादी शक्तिहरूलाई एउटै मोर्चामा उभ्याउने प्रयास तीव्र बनेको छ। सहमतिपत्रको अन्त्यमा समान विचार राख्ने सबै राजनीतिक शक्ति र व्यक्तिहरूलाई नेपाली कम्युनिस्ट पार्टीमा एकताबद्ध हुन खुला आह्वान गरेका छन् ।।

Logo