समानुपातिक सूचीमा कुलमानको रजगजबारे चलाइएका हल्लाको केन्द्रिय समिती बैठकद्वारा खण्डन

समानुपातिक सूचीमा कुलमानको रजगजबारे चलाइएका हल्लाको केन्द्रिय समिती बैठकद्वारा खण्डन

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । तत्कालीन उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक गएराति सम्पन्न भएको छ। पार्टी एकता सम्पन्न भएपछि पहिलोपटक आयोजना गरिएको यो समीक्षाात्मक बैठक बेलुका करिब ८ बजेदेखि पौने ११ बजेसम्म चलेको थियो।

बैठकमा पार्टीको वर्तमान अवस्था, संगठनात्मक संरचना, एकतापछिको व्यवस्थापन तथा आगामी कार्यदिशाका विषयमा गहन छलफल गरिएको पार्टीले जनाएको छ। बैठकमा सहभागी केन्द्रीय सदस्य तथा नेताहरूले पार्टीलाई अझ सशक्त, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले आ–आफ्ना धारणा तथा सुझावहरू प्रस्तुत गरेका थिए।

बैठकमा हाल विभिन्न सञ्चारमाध्यममा प्रकाशित समानुपातिक सूचीसम्बन्धी समाचारप्रति पनि ध्यानाकर्षण गरिएको थियो। पार्टीका केन्द्रीय सदस्य तथा वरिष्ठ अधिवक्ता उद्दव चौलागाईँले केही मिडियामा आएका समाचारहरू भ्रमपूर्ण रहेको दाबी गरे।

उनले समानुपातिक सूची मामा–भान्जा, ससुरा, छिमेकीलाई मात्र समेटेर बनाइएको भन्ने समाचारहरू निराधार भएको बताए। “समानुपातिक सूची तयार गर्दा सर्वसम्मत रूपमा केन्द्रीय सदस्यहरूको उपस्थितिमा छलफल गरी पास गरिएको हो,” चौलागाईँले भने, “कुनै व्यक्तिलाई लक्षित गरेर खुट्टा तान्ने उद्देश्यले यस्ता समाचारहरू प्रकाशित गरिएको देखिन्छ।” उनले यस्ता भ्रामक समाचारको पछि नलाग्न आम कार्यकर्ता तथा शुभेच्छुकहरूलाई आग्रहसमेत गरे।

यसैबीच पार्टीका अर्का केन्द्रीय सदस्य राजु थापाले बैठक एकतापछिको पहिलो समीक्षा बैठक भएकाले यसको विशेष महत्व रहेको बताए।

उनले केन्द्रविन्दुसँग कुरा गर्दै पार्टी एकतालाई थप मजबुत बनाउँदै संगठनलाई जनस्तरसम्म विस्तार गर्ने विषयमा विशेष जोड दिइएको जानकारी दिए। “पार्टीको हालको अवस्था, संगठनात्मक मजबुती र आगामी रणनीतिका विषयमा खुला र सकारात्मक छलफल भएको छ,” थापाले भने ।

उनका अनुसार बैठकले संगठन विस्तार, कार्यकर्ताको भूमिका र पार्टीको दीर्घकालीन रणनीतिका विषयमा सकारात्मक सन्देश दिएको छ। एकतापछि देखिन सक्ने चुनौतीहरूलाई अवसरमा बदल्दै अघि बढ्ने विषयमा पनि बैठकमा सहमति बनेको उनले बताए।

बैठकले पार्टी एकतालाई संस्थागत गर्दै संगठनलाई थप सुदृढ बनाउने दिशामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ। पार्टी नेतृत्वले आगामी दिनमा नीति, संगठन र जनसम्पर्कलाई प्राथमिकतामा राख्दै राजनीतिक गतिविधि अगाडि बढाउने संकेत दिएको छ।

Logo