काठमाडौं। नेपाली राजनीतिमा केही पात्र केवल व्यक्ति हुँदैनन्। उनीहरू समयको साक्षी, प्रवृत्तिका प्रतिनिधि र विचारको उतार–चढावका जीवित दस्तावेज बन्छन्। रामबहादुर थापा ‘बादल’ त्यस्तै पात्र हुन्। माओवादी जनयुद्धका कठोर कमाण्डरदेखि आज नेकपा एमालेका उपाध्यक्षसम्म आइपुग्दा उनको राजनीतिक यात्रा पद परिवर्तनको कथा मात्र होइन, विचार बदलिँदै गएको एउटा गहिरो संकेत पनि हो।
जनयुद्ध सुरु हुँदा बादलको नेतृत्व शैली स्पष्ट थियो। आदेशको अवज्ञा गर्नेका लागि कडाइ थियो। संगठनभित्र अनुशासन अनिवार्य थियो। सेनाको एकीकरण, नियन्त्रण र निर्देशनमा उनको पकड बलियो मानिन्थ्यो। राज्यलाई वर्गशत्रु ठान्ने सोच, संसदीय राजनीतिप्रति अविश्वास र बन्दुकलाई परिवर्तनको माध्यम मान्ने दृष्टिकोणमा उनी दृढ थिए। त्यसबेला उनको राजनीति स्पष्ट थियो—चुनावी चिन्ह होइन, संघर्ष नै शक्ति थियो।
शान्ति प्रक्रिया सुरु भएपछि यही स्पष्टता क्रमशः धुमिल हुन थाल्यो। शान्ति सम्झौता, हतियार व्यवस्थापन र सेनाको एकीकरणजस्ता विषयमा उनी खुला असन्तुष्टि व्यक्त गर्थे। ‘यो क्रान्तिको अन्त्य होइन’ भन्ने उनको भनाइ बारम्बार दोहोरिन्थ्यो। तर समयसँगै त्यो भनाइ व्यवहारमा कमजोर हुँदै गयो। शान्ति प्रक्रियाले उनलाई सत्ताको ढोकासम्म पु¥यायो, तर त्यहीँबाट उनको राजनीतिक दिशा पनि बदलिन थाल्यो।
गृहमन्त्री बनेपछि बादलको भूमिकामा ठूलो परिवर्तन देखियो। पहिले राज्यविरुद्ध लडेको व्यक्ति राज्यकै सुरक्षा संयन्त्रको प्रमुख बने। आन्दोलन नियन्त्रण, सुरक्षा व्यवस्थापन र प्रशासनिक शक्ति प्रयोगमा उनी कडा देखिए। यसले एउटा गम्भीर प्रश्न जन्मायो। के क्रान्तिबाट आएको नेतृत्व सजिलै व्यवस्थापक बन्छ, कि विचार त्यहीँ हराउँछ ?
नेकपा विभाजनपछि बादलको एमाले प्रवेशले यो प्रश्न झन् तीखो बनायो। कुनै समय एमाले संसदीय अवसरवादको प्रतीक ठानिन्थ्यो। आज त्यही पार्टीमा उनी उपाध्यक्ष छन्। यो केवल पार्टी परिवर्तन मात्र होइन, वैचारिक दिशाको ठूलो मोड थियो। उनले यस परिवर्तनबारे गहिरो आत्मालोचना वा सार्वजनिक वैचारिक बहस गरेनन्। यही मौनताले आलोचना जन्मायो।
जेन जी आन्दोलन पछि अहिले उनी कांग्रेस–एमाले सहकार्यको पक्षमा खुलेर बोलिरहेका छन्। राष्ट्रिय स्वाधीनता र स्थायित्वको नाममा गरिएको यो प्रस्तावलाई कतिपयले राजनीतिक यथार्थवाद मानेका छन् भने धेरैले वैचारिक विसर्जनको संकेत ठानेका छन्। यदि कांग्रेस र एमाले एउटै बाटोमा हिंड्ने हो भने, जनयुद्ध किन भयो भन्ने प्रश्न स्वतः उठ्छ ।
यही सन्दर्भमा समानुपातिक प्रणालीमा बारम्बार देखिने उनको उपस्थितिले थप विवाद जन्माएको छ । अहिले एमाले पार्टीभित्रैबाट आवाज उठेको छ—आफूलाई लोकप्रिय ठान्ने नेता किन प्रत्यक्ष चुनावबाट भाग्छन्? गोकुल बास्कोटाजस्ता नेताको टिप्पणी व्यक्ति लक्षित भन्दा पनि प्रवृत्तिमाथिको प्रश्न हो। हिजो प्रचण्डको आशिर्वाद र माओवादको छायाँमा बादल बनेका बादलको बैचारिक मूल्य र राजनैतीतिक चरित्र एमाले भित्रनै सुर्यग्रहण जस्तै भएको बास्कोटाजस्ता नेताको टिप्टणी छ अरु बाहेक ।
आज बादल न पूर्ण रूपमा क्रान्तिकारी छविमा छन्, न संसदीय लोकतन्त्रका विश्वसनीय व्याख्याता नै । उनको राजनीति स्मृतिमा कार्ल माक्सले भनेजस्तै र उनले यात्रा गरेजस्तै वर्ग संघर्षको कथा छ, तर सर्वहाराको काँधमा चढेर टाउकामा हिर्काएका बादल वर्तमानमा संसदिय दलाल पुँजीवादको भूमरीमा रुमलिएर सुविधाको वरिपरि फनफनिएको दृश्य छ । सूर्यतिर पुग्ने प्रयासमा उनी आफ्नै छायाँमा अल्मलिएका जस्ता देखिन्छन्।
यो विषयबस्तु कुनै व्यक्तिविशेषलाई कमजोर देखाउने उद्देश्यले होइन । यो एउटा ठूलो बहस हो। विचार बिना सत्ता टिकाउ हुँदैन । नेतृत्वको उचाइ पदले होइन विचारको स्पष्टताले तय हुन्छ । माओवाद छाडेर बाओबाद अर्थात ओलीवादमा समाहित बादल आज एमालेमा जबज खोज्न लाग्छन् कि आफ्नो समानुपातिक बन्दसुचीको नाम हेर्न ?
नेपाली राजनीतिले व्यक्तिभन्दा विचार खोजिरहेको छ । तर विचारमा हिन्नेहरुको उल्टो यात्राले आज विचार होइन व्याक्ति । रामबहादुर थापा ‘बादल’को यात्राले यही प्रश्न छोडेको छ—अब उनी कुन विचारका प्रतिनिधि हुन् ? हिजो जनयुद्दका कमाण्डर बादल आज किन आफ्नै छायाँमा हराएका छन् भन्दै उनी निकटकाको गुनासो छ ।





























प्रतिक्रिया