कुनै पनि कम्पनीले विभिन्न पदका लागि आवेदन खोल्दा धेरै ब्यक्तिहरुले निवेदन दिएपछि उक्त कम्पनीलाई कर्मचारी छनोट गर्न निकै झन्झटिलो हुने गरेको छ । सही कर्मचारीको छनोट गर्न उक्त कम्पनीलाई नै धेरै नै जनशक्तिको आवश्यक्ता समेत पर्ने गरेको छ । यही समस्यालाई बुझेर रसियाको स्टार्टअप कम्पनी स्टाफोरीले रोजगारीका लागि आवेदन दिने उम्मेदवारहरुको अन्तवार्ता लिने रोबोटको निर्माण गरेका छन् ।
बिशेष प्रविधिको प्रयोग गरेर तयार पारिएको आर्टिफिसियल इन्टेलिजेन्स सफ्टवेयरको सहयोगमा यो रोबोटले कर्मचारीहरुको अन्तवार्ता लिएर कर्मचारी छनोटमा सहयोग गर्छ । स्टाफोरीले यो रोबोटको नाम अहिले बिरा राखेको छ । महिला आकृतिमा रहेको बिराले पेप्सिको, लोरिअल, इकिया जस्ता विश्वकै चर्चित कम्पनीमा काम गर्न इच्छुक कामदारहरुको अन्तवार्ता लिने काम गरिसकेको छ ।
मानव संसाधनको क्षेत्रमा काम लाग्ने यो रोबोटको निर्माण रसियाका एलेक्जेण्डर युराक्सिन र भ्लादिमिर सेजनिकोभले तयार पारेका हुन् । आफ्नो नयाँ कम्पनीलाई स्थापना गर्ने उद्धेश्यले निर्माण गरेको यो रोबोटको अहिले ब्यापक माग हुन थालेको छ । अहिले नै यो किसिमको रोबोटको निर्माण गर्न ३ सय कम्पनीहरुले अनुरोध गरेको स्टाफोरीले बताएको छ ।
रोबोट बिराले सर्वसाधारण ब्यक्तिहरुसंग जोडिने डिपार्टमेन्टर स्टोर, क्लर्क, वेटर/वेट्रेस, कन्ष्ट्रक्सन कम्पनीमा कामदार आदीको पदपूर्ति गर्न सहयोग गर्ने गर्छ । यसको प्रयोगले धेरै कम्पनीहरुले कर्मचारी भर्नाको झमेलावाट मानविय जनशक्तिलाई मुक्त समेत गरेका छन् । रोबोट बिराले आफुमा रहेको सफ्टवेयरको मद्धतले भिडियो र भ्वाईस मार्फत् एकै पटक सैयौं उम्मेदवारहरुको अन्तवार्ता लिन सक्छ । जसको कारण मानिसले यही काम गर्दा हुने खर्चमा समेत ब्यापक कटौती भएको छ ।
रोबोट बिराको निर्माण गर्ने क्रममा यसका निर्माताहरुले टेलिभिजनमा आउने कार्यक्रम, विकिपेडिया र रोजगारसंग सम्बन्धित विभिन्न शब्द र १२ खर्ब भन्दा बढी उदाहरणहरुलाई सफ्टवेयर मार्फत् रोबोटमा समावेश गरेका छन् । जसको कारण यो रोबोटले अन्तवार्ताको क्रममा राम्ररी कुराकानी गर्न सक्छ । परिमार्जनको क्रममा पनि रहेको रोबोट बिरालाई मानिसमा आएको रिस, आक्रोस र निराशको भावलाई बुझ्नो सफ्टवेयरहरु पनि जडान गर्ने तयारीमा कम्पनी रहेको छ ।
अहिले रोजगार दिन भन्दा पनि कर्मचारी छनोट गर्न झन्झटिलो हुने अवस्थामा यो रोबोट आएको कारण यसले चाडैंनै अन्यत्र मुलुकमा पनि लोकप्रियता पाउने देखिएको छ ।





























प्रतिक्रिया