काठमाडौँ। नेपाली कांग्रेसमा जारी महाधिवेशन विवादबारे धारणा तय गर्न डा. शेखर कोइराला पक्ष छलफलमा जुटेको छ। विशालबजारस्थित कोइरालाको सचिवालयमा समूहको बैठक जारी छ।
छलफलमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार र बद्री पाण्डे, नेताहरू बलबहादुर केसी, मिनेन्द्र रिजाल, सञ्जय गौतम, डा. गोविन्द पोखरेल, सरिता प्रसाईँसहित ४० भन्दा बढी केन्द्रीय सदस्य सहभागी छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार दिउँसो बसेको कार्यसम्पादन समिति बैठकले आगामी वैशाख २८–३१ गतेसम्म पार्टीको १५औँ महाधिवेशन गर्ने निर्णय बहुमतले गरेपछि शेखर समूह छलफलमा जुटेको हो।
निर्णयमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहित ५ जनाले फरक मत राखेका छन्। फरक मत राख्नेमा सहमहामन्त्री फरमुल्लाह मन्सुर र कार्यसम्पादन समिति सदस्य अर्जुननरसिंह केसी तथा उमा रेग्मी रहेका छन्।
१४औँ महाधिवेशनमा शेखर–गगन समूह एक भएर प्रतिस्पर्धा गरेको थियो। १५औँ महाधिवेशनमा भने उनीहरूबिच सहकार्य भएको छैन।
महामन्त्री थापाले पुसभित्र विशेष महाधिवेशन हुने बताएका कारण कांग्रेसमा अन्यौलता देखिएको छ। यस अवस्थामा शेखर समूहबिच भएको छलफललाई पार्टी र राजनीतिक विश्लेषकहरूले चासोका साथ हेरिरहेका छन्।





























प्रतिक्रिया