काठमाडाैं । निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिलकुमार शर्माले आफूले अक्षरारम्भ गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित जनता माध्यमिक विद्यालयलाई करिब ४ करोड रुपैयाँको लागतमा अत्याधुनिक भवन निर्माण गरिदिने भएका छन् । शनिबार एक भव्य कार्यक्रमका बीच डा. शर्माले उक्त भवनको जग बसाल्दै शिलान्यास गरेका हुन् ।
आफ्ना मातापिताको नाम सदैव अमर रहोस् भन्ने उद्देश्यका साथ निर्माण गर्न लागिएको उक्त भवनको शिलान्याससँगै विद्यालयको नाम समेत परिवर्तन गरिएको छ । अब यो विद्यालय ‘श्री जनता लोकनाथ–होमादेवी माध्यमिक विद्यालय’ का रूपमा चिनिनेछ । विद्यालयको नाम परिवर्तन गर्ने प्रक्रिया रतुवामाई नगरपालिकाको शिक्षा ऐन २०७२ को कानुनी व्यवस्था अनुसार पूरा गरिएको जनाइएको छ ।
डा. शर्माको व्यक्तिगत लगानीमा निर्माण हुने उक्त भवन ६ हजार ४ सय वर्गफुट क्षेत्रफलमा फैलिनेछ । भवनमा १० वटा सुविधायुक्त कोठाहरू, अत्याधुनिक कम्प्युटर ल्याब र आधुनिक शौचालयसहितको अपाङ्गमैत्री संरचना रहेकाे छ ।
भवन शिलान्यासकै अवसरमा डा. शर्माले शिक्षा क्षेत्रमा अर्को महत्वपूर्ण घोषणा समेत गरे । उनले काठमाडौं मेडिकल कलेजअन्तर्गत एमबीबीएस, बीडीएसलगायतका विषयमा पीएचडी तहसम्म अध्ययन गर्नका लागि थप १ करोड रुपैयाँ बराबरको छात्रवृत्ति घोषणा गरे ।
घोषित १ करोडको छात्रवृत्तिलाई तीन भागमा विभाजन गरिएको छ, जसमा ५० लाख रुपैयाँ विद्यालयका जग्गादाता स्वर्गीय नरेन्द्र बहादुर थापाको स्मृतिमा, २५ लाख रुपैयाँ डा. शर्माका हजुरबुबा स्वर्गीय गुणलाल न्यौपानेको नाममा र २५ लाख रुपैयाँ डा. शर्माका जिजुबुबा स्वर्गीय गणपति न्यौपानेको नाममा रहेकाे छ ।
विद्यालयप्रतिको ऋण तिर्दैछु -डा. शर्मा
कार्यक्रममा सम्बोधन गर्दै डा. शर्मा निकै भावुक देखिन्थे । उनले भने, “म आज जे छु, यही विद्यालय र यहाँका गुरुहरूको देन हो । संघर्षका बीच विद्यालय स्थापना गर्ने संस्थापकहरूप्रति म नतमस्तक छु । यो सहयोग मेरो विद्यालयप्रतिको ऋण तिर्ने एउटा सानो प्रयास मात्र हो ।” उनले शिक्षामा गरिएको लगानी नै राष्ट्र निर्माणको दिगो आधार भएको विश्वास व्यक्त गरे ।
रतुवामाई नगरपालिकाका नगर प्रमुख नागेश्वर सिंहले डा. शर्मालाई ‘महान् दाता’ को संज्ञा दिँदै उनको निस्वार्थ सेवाभावले ग्रामीण क्षेत्रका विद्यार्थीहरूको भविष्य उज्यालो बनाउने बताए । यस्तै, कोशी प्रदेशसभा सदस्य गणेश उप्रेतीले यो सहयोगले सामुदायिक विद्यालयप्रतिको जनविश्वास बढाउने र निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउने विश्वास व्यक्त गरे ।
स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक र विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रमले रतुवामाईको शैक्षिक इतिहासमा नयाँ आयाम थपेको स्थानीयले बताएका छन् ।































प्रतिक्रिया