भारतमा हुने नेपाली महिलाहरुको बेचबिखनमा ब्यापक बृद्धि भएको भारतीय सशस्त्र सिमा बलको तथ्यांकले देखाएको छ ।
सडक मार्ग हुँदैं नेपाली चेलीहरुको बेचबिखन सन् २०१३ को तुलनामा ५ सय प्रतिशतले बृद्धि भएको सिमा बलले जनाएको छ । नेपालका पहाडी र तराई क्षेत्रवाट मानव बेचविखनका दलालहरुले यौनकर्मी बनाउन, घरेलु कामदार र जोखिमयुक्त काममा लगाउन नेपाली चेलीहरुलाई भारत लैजाने गरेका छन् । यसरी बेचिने अधिकांश महिलाहरु भारतका मुख्य शहरहरु कोलकाता, मुम्बाई, दिल्ली लगायत विभिन्न शहरमा रहेका बेश्यालयमा बिक्रि गरिने गरिएका छन् ।
बलको तथ्यांक अनुसार सन् २०१३ मा महिला बेचबिखनको घटनाहरु १४ वटा भएको थियो । त्यो बर्ष १९ जना महिला बेचबिखन गर्ने दलालाहरुलाई पक्राउ गरिएको थियो भने १ सय ८ जना महिलाहरुलाई उद्धार गरिएको थियो । तर त्यसपछिका तथ्यांकहरुलाई हेर्ने हो भने संख्यामा प्रत्येक बर्ष बृद्धि हुदै गएको छ । सन् २०१५ मा १ सय २ जनालाई पक्राउ गरेर ३ सय ३६ नेपाली चेलीहरुको उद्धार गरिएको थियो । सन् २०१६ मा १ सय ४८ जनालाई पक्राउ गरेर ५ सय १ जनाको उद्धार भएको थियो भने सन् २०१७ मा १ सय ५४ दलालहरुलाई पक्राउ गरेर ६ सय ७ चेलीहरुको उद्धार गरेको बलको तथ्यांक रहेको छ ।
अहिले नेपालमा २६ जिल्लाहरुवाट बढी मात्रामा महिलाहरु भारतको विभिन्न शहरमा बिक्रिका लागि पुर्याउने गरिएको छ । यसरी भारत पुर्याएका महिलाहरुलाई औसत ५० हजार भारतीय रुपैंयामा बिक्रि गर्ने गरिएको छ । महिला बिक्रि गर्न मानव तस्करहरुले गाउँवाट चेलीहरुलाई पहिला काठमाडौं ल्याउने र यहाँ रहेका गलैंचा कारखाना लगायत केही कारखानामा काम लगाउने गर्छन् । बढी पैसा कमाउने प्रलोभन देखाएर नेपाल भारत सिमा क्षेत्रमा पुर्याउने गर्छन् । यसरी सिमा क्षेत्रमा पुर्याइएका नेपाली चेलीलाई दलालहरुले ६ हजार भारुमा भारत पुर्याउने गरेका छन् । भारत प्रबेश गरेका नेपाली चेलीलाई बसमा राखेर पहिला दिल्ली लैजाने अनि बल्ल बिभिन्न शहरहरुमा पुर्याउने गरिएको बलले जनाएको छ ।
यो कार्यमा धेरै जसो नेपाली दलाल र भारतमै बेश्यालय संचालन गरेर बसेका नेपाली महिलाहरु नै रहेका छन् । उनीहरुले मुख्यतया ९ देखि १६ बर्षसम्मका महिलाहरुलाई तस्करीको जालोमा पार्ने गरेका छन् । महिलाहरुको तस्करी मुख्यतया जुन देखि अगष्ट महिनामा बढी हुने गरेको छ । एक तथ्यांक अनुसार अहिले भारतको बेश्यालयमा कार्यरत यौनकर्मीहरुमा ६० प्रतिशत नेपाली महिलाहरु रहेका छन् ।































प्रतिक्रिया