एमआईटी कलेजको आयोजनामा कृष्ण पाण्डेयले गिनिज वर्ल्ड रेकर्डका लागि प्रयास गर्ने

एमआईटी कलेजको आयोजनामा कृष्ण पाण्डेयले गिनिज वर्ल्ड रेकर्डका लागि प्रयास गर्ने

केन्द्रबिन्दु
57
Shares

काठमाडौं । बागबजारस्थित मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) कलेजको आयोजनामा पूर्व गिनिज वर्ल्ड रेकर्डधारी तथा प्रख्यात मेमोरी एथ्लेट कृष्ण पाण्डेयले नयाँ विश्व कीर्तिमानका लागि आधिकारिक प्रयास गर्ने भएका छन्।

आगामी माघ ६ गते काठमाडौँ मोडेल सेकेन्डरी स्कूल, बागबजारमा हुने विशेष कार्यक्रममा पाण्डेयले “फास्टेस्ट टाइम टु स्पेल ५० वर्ड्स ब्याकवार्ड्स” शीर्षकमा आफ्नो प्रतिभा प्रदर्शन गरी नयाँ रेकर्ड कायम गर्ने लक्ष्य राखेका हुन्।

यस रेकर्ड प्रयास गिनिज वर्ल्ड रेकर्ड्सका कडा नियम, मापदण्ड र प्रमाणीकरण प्रक्रियाअनुसार सञ्चालन गरिने आयोजकले जनाएको छ। कार्यक्रम एमआईटी कलेजको मुख्य आयोजना तथा काठमाडौँ मोडेल सेकेन्डरी स्कूलको सहकार्यमा हुन लागेको हो। यसैगरी, कार्यक्रमको हस्पिटालिटी पार्टनरका रूपमा बेस्ट वेस्टर्न प्लसले सहयोग गर्नेछ।

एमआईटी का सह–संस्थापक आर. के. दाहालका अनुसार रेकर्ड प्रयास पूर्ण रूपमा नियन्त्रित तथा ध्यानभंगरहित वातावरणमा सम्पन्न गरिनेछ। कार्यक्रममा स्वतन्त्र साक्षी, आधिकारिक समयमापक, व्यावसायिक फोटोग्राफी तथा भिडियो डकुमेन्टेसनको व्यवस्था गरिनेछ, र सम्पूर्ण प्रमाण सामग्री कार्यक्रमपश्चात् गिनिज वर्ल्ड रेकर्ड्समा आधिकारिक प्रमाणीकरणका लागि पेश गरिनेछ।

आयोजकहरूले यस पहलले उत्कृष्टता, अनुशासन तथा नेपाली प्रतिभाको विश्वव्यापी पहिचानप्रति दृढ प्रतिबद्धता झल्काउने बताएका छन्। उनीहरूका अनुसार एमआईटीले विश्वस्तरीय मञ्चहरूसँग युवाहरूलाई जोड्दै प्रतिभाको पहिचान, प्रेरणा र विकास गर्ने आफ्नो व्यापक शैक्षिक तथा संस्थागत दृष्टिकोणअन्तर्गत यो कार्यक्रम आयोजना गरेको हो। अन्तर्राष्ट्रिय अमेरिकी विश्वविद्यालयसँग आबद्ध एमआईटी कलेजले विश्वस्तरीय मापदण्डअनुसार आईटी तथा व्यवस्थापन कार्यक्रमहरू प्रदान गर्दै कक्षाकोठाभन्दा बाहिरको अनुभवात्मक तथा व्यवहारिक शिक्षालाई सक्रिय रूपमा प्रवर्द्धन गर्दै आएको छ। यस्ता अन्तर्राष्ट्रिय स्तरका पहलहरू आयोजना तथा समर्थन गर्दै एमआईटीले विद्यार्थीहरूमा उपलब्धि, विश्वव्यापी पहुँच र नेतृत्व क्षमताको संस्कृति विकास गर्ने, साथै नेपाली उदाउँदा प्रतिभाहरूलाई आत्मविश्वासका साथ विश्वमञ्चमा स्थापित गर्ने लक्ष्य लिएको छ।

रेकर्ड प्रयासबारे आफ्नो धारणा व्यक्त गर्दै कृष्ण पाण्डेयले भने, “न्युयोर्कमा गिनिज वर्ल्ड रेकर्ड हासिल गरेको अविस्मरणीय अनुभवपछि नेपालमै पुनः रेकर्ड प्रयास गर्न पाउनु मेरो लागि विशेष सम्मान र राष्ट्रिय गौरवको विषय हो। यो प्रयास केवल अर्को रेकर्ड थप्ने विषय मात्र होइन, नेपाली प्रतिभाको क्षमता विश्वस्तरमा प्रमाणित गर्दै युवाहरूलाई प्रेरित गर्ने उद्देश्यले गरिएको हो। यस यात्रामा सहयोग पुर्याएको एमआईटी कलेज, स्कूल र बेस्ट वेस्टर्न प्लसप्रति म आभारी छु।”

कार्यक्रमको सफल, पारदर्शी तथा विश्वसनीय कार्यान्वयन सुनिश्चित गर्न हालै सबै सरोकारवालाबीच औपचारिक कार्यक्रम सम्झौता सम्पन्न भइसकेको छ, जसमा भूमिका, जिम्मेवारी, व्यवस्थापन, मिडिया समन्वय तथा गिनिज मापदण्डको पूर्ण पालना सम्बन्धी प्रावधानहरू समेटिएका छन्।

माघ ६ गतेको कार्यक्रमअन्तर्गत आधिकारिक रेकर्ड प्रयाससँगै त्यसमा असर नपर्ने गरी सीमित औपचारिक कार्यक्रम, मिडिया अन्तर्क्रिया तथा सहकार्य संस्थाहरूको सम्मानसमेत समावेश गरिनेछ। कार्यक्रमको विस्तृत समयतालिका तथा कार्यक्रमपश्चात्का गतिविधिबारे थप जानकारी समयक्रममा सार्वजनिक गरिनेछ।

Logo