काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आगामी दिनमा सौर्य ऊर्जा उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
नेपाल सौर्य विद्युत उत्पादक सङ्घको २५औँ वार्षिक साधारणसभामा बोल्दै मन्त्री घिसिङले उल्लेख गरे। “सौर्य ऊर्जा राष्ट्रिय प्रसारण ग्रिडमा जोडिन थालेको छ । यसको उत्पादन बढाउन सकिए विद्युत् आयातलाई घटाउन सकिन्छ।”उनले भने ।
उनले सरकारले सौर्य ऊर्जा प्रवद्र्धनका लागि मापदण्ड बनाएर कार्यान्वयनमा लैजान लागेको जानकारी दिए । साथै, सिँचाइका नहरमा सौर्य ऊर्जा उत्पादन गर्ने सम्भावनाबारे अध्ययन भइरहेको र निजी क्षेत्रलाई समावेश गरेर उत्पादन बढाउने योजना अघि बढाइँदै गएको बताए ।
मन्त्री घिसिङले छिमेकी भारतमा १ लाख मेगावाटभन्दा बढी सौर्य ऊर्जा उत्पादन भइरहेको र त्यसबाट विद्युत् निर्यात भइरहेको उदाहरण दिँदै, नेपालमा पनि पहाडी भूभाग र डाँडाहरु प्रयोग गरेर सौर्य उत्पादन विस्तार गर्न सकिने उल्लेख गरे ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले जलवायु परिवर्तनले खोलाहरु सुक्दा विद्युत् उत्पादनमा असर पर्न थालेको र त्यसैले नेपालले सौर्य ऊर्जा बढाउनुपर्ने औंल्याए । ऊर्जा मन्त्रालयका सचिव चिरञ्जीवी चटौतले सरकार आगामी दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने लक्ष्यसहित काम गरिरहेको र सौर्य ऊर्जामा पनि क्रमशः विकास भइरहेको जानकारी दिए ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाल र उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठले सौर्य ऊर्जा उत्पादनको मर्यादित र व्यवस्थित विकासमा संघको भूमिका सराहनीय रहेको बताएका छन्।





























प्रतिक्रिया