खेलकुदमन्त्री गुप्ताले स्थगित गरे अमेरिका भ्रमण

खेलकुदमन्त्री गुप्ताले स्थगित गरे अमेरिका भ्रमण

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले अमेरिका भ्रमण स्थगित गरेका छन्। भ्रमण कार्यक्रम विवादमा तानिएपछि मन्त्री गुप्ताले आगामी माघ ३ गते अमेरिका भ्रमणमा जाने कार्यक्रम स्थगित गरेका हुन् ।

यद्यपी गुप्ताको सचिवालयले भने भिसा लगायतका प्रक्रियाका लागि समय लाग्ने भएपछि अहिलेका लागि भ्रमण स्थगित गरेको जनाएको छ ।

यसअघि मन्त्रिपरिषदले अमेरिकामा हुने ‘रोल अफ युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोलुसन’सम्बन्धी कार्यक्रममा सहभागी हुन मन्त्री गुप्तालाई स्वीकृति दिएपछि यो विषय चर्चामा आएको थियो।

अध्यक्ष विकास उप्रेती नेतृत्वको एनआरएनएले मन्त्री बब्लुलाई अमेरिका बोलाएको हो । तर अमेरिकामा एनआरएनए नै विभाजित भएर दुईवटा छन् । एक पक्षले भ्रमणको निम्तो दिँदा सतेन्द्र साह नेतृत्वको अर्को एनआरएनए अमेरिकाको नामबाट मन्त्री गुप्तालाई अमेरिका बोलाउने कुनै कार्यक्रम नरहेको भनेर बिहीबार विज्ञप्ति आएपछि यो विषयमा थप विवाद चर्किएको हो ।

गत मंसिर १४ गते एनआरएनएबीच एकता भएको थियो। त्यसअघि बद्री केसी र महेश श्रेष्ठ नेतृत्वमा दुइटा एनआरएनए थियो।

मंसिरमा एकता भए पनि सबै देशहरूको कार्यसमिति मर्ज भइसकेको छैन। एनआरएनए अमेरिकाको एउटा समूहको अध्यक्षमा सतेन्द्र शाह र अर्को समूहका अध्यक्ष विकास उप्रेती छन्। उप्रेती बद्री केसी र शाह महेश श्रेष्ठ पक्षका एनआरएनए अमेरिकाका अध्यक्ष हुन्।

केसी र श्रेष्ठ नेतृत्वको एनआरएनए एकता हुँदै गर्दा दुवै कार्यसमितिलाई एकता गरेर स्टेरिङ कमिटी बनाउने भनिएको थियो। स्टेरिङ कमिटी बन्ने क्रममै रहेकाले अहिले दुवै कार्यसमिति सक्रिय छन्। खेलकुद मन्त्रीलाई बोलाउने निर्णय एउटा समिति र बोलाइएको छैन भनेर खण्डन गर्ने अर्को समिति रहेको खुलेको हो।

Logo