काठमाडौँ
प्रदेशका उच्च पदाधिकारीलाई गाडीको चरम समस्या भइरहेको अवस्थामा मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबार भित्र भने तीन सय भन्दा बढी गाडी मर्मत बिनै थन्किएका छन् । सरकारले सामान्य रूपमा बिग्रिए पनि समयमै मर्मत गर्न नसक्दा अर्बौं मूल्यका गाडी प्रतिदिन बिग्रँदै र थन्किँदै गएका हुन् । सिंहदरबार भित्र विभिन्न मन्त्रालय नजिक तथा सिंहदरबार भित्रकै ग्यारेजमा गरी तीन सय भन्दा बढी गाडी बिग्रिएको अवस्थामा अलपत्र राखिएको गृह मन्त्रालयले जनाएको छ ।
केही दिन अघि प्रधानमन्त्री केपी ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग गरेको छलफल कार्यक्रममा सबैजसो मुख्यमन्त्रीले प्रदेशले भोग्नु परेका मुख्य समस्यामा गाडीको समस्या समेत रहेको भन्दै तत्काल पूर्ति गर्न माग गरेका थिए । प्रदेशमा गाडीको चरम समस्या भइरहे पनि केन्द्रले सयौं गाडी मर्मत गरेर पठाउनेबारे कुनै गृहकार्य अघि बढाउन सकेको छैन ।
प्रधानमन्त्री कार्यालयले केही महिना अघि बिग्रिएका गाडी मर्मत गर्न सकिने खालका भए मर्मत गरेर प्रयोगमा ल्याउने र मर्मत हुन नसक्नेलाई लिलामी गर्नु पर्ने भन्दै त्यसका लागि कार्यालयका सचिव प्रेम कुमार राईको नेतृत्वमा प्रक्रिया अघि बढाएको थियो । सचिव राईले विभिन्न कारणले सो कार्य रोकिए पनि अब त्यस्ता गाडीको अवस्थाबारे खोजतलास गरी आवश्यक प्रक्रिया थालिने जानकारी दिए । प्रधानमन्त्री कार्यालयका सचिव राईले वर्षौं देखि सयौं गाडी त्यत्तिकै राखिएको स्विकार्दै अब तिनको शीघ्र व्यवस्थापन जरुरी रहेको बताए ।
गृह मन्त्रालयका अनुसार गृहमा महँगो र बहुमूल्य मानिएको ७ वटा मर्सिडिज वेञ्जकार नै अलपत्र अवस्थामा राखिएको छ । यो गाडीको सुरुको मूल्य हाल २ करोड भन्दा बढी छ । त्यसैगरी गृहका २० वडा गाडी बिग्रिएर अलपत्र छन् । गृहका अनुसार परराष्ट्र मन्त्रालयका ५० भन्दा बढी महँगा कार नारायणहिटी दरबार भित्र त्यसै थन्क्याएर राखिएको छ भने सिंहदरबार भित्र वन तथा वातावरण, जलस्रोत ऊर्जा तथा सिँचाइ, कृषि विकास, भौतिक मन्त्रालय, अन्य विभिन्न आयोग तथा नियोग र संसद सचिवालयको नाममा रहेका सयौं गाडी समेत त्यत्तिकै अलपत्र अवस्थामा राखिँदै आइएको छ । यसैगरी महँगा खालका मित्सुबिसी, टोयटा, कोरोला जस्ता सयौँ गाडी सिंहदरबार भित्र बेवारिस छन् ।
अन्नपूर्णबाट





























प्रतिक्रिया