इक्यानमा शेषराज भट्टराईको सफल ‘इनिङ’, किन बने भुसालको प्रस्तावक ?

इक्यानमा शेषराज भट्टराईको सफल ‘इनिङ’, किन बने भुसालको प्रस्तावक ?

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । नेपालको शैक्षिक परामर्श क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को नेतृत्व सम्हालेका शेषराज भट्टराईको कार्यकाल आजबाट समापन भएको छ। दुई वर्षको नियमित कार्यकाल र पछि थपिएको ६ महिना सहित उनको नेतृत्वले इक्यानलाई नयाँ उचाइमा पुर्याएको छ। २०२३ जुलाईमा निर्वाचित भएका भट्टराईको दुई वर्षे कार्यकाल मूल रूपमा २०२५ जुलाईमा समाप्त हुने थियो, तर उनको सफल नेतृत्व र उपलब्धीहरूका कारण सम्मानस्वरुप ६ महिना थप गरिएको थियो । इक्यानको इतिहासमा यसरी कार्यकाल थपिनुलाई उनको नेतृत्वको सफलता र सर्वस्वीकार्यताको रूपमा हेरिएको छ।

शैक्षिक परामर्श व्यवसायलाई मर्यादित, व्यवस्थित र विश्वसनीय बनाउने उद्देश्यसहित तत्कालिन अध्यक्ष प्रकाश पाण्डेले हस्तान्तरण गरेको एउटा बलियो जगमा भट्टराईको कार्यकालले एउटा इँटा थपेको छ । इक्यान नेतृत्वमा प्रवेश गर्दै गर्दा जुन संकल्प लिएका थिए, त्यो पूरा पनि गरेका छन् ।

पाण्डेकै प्रस्तावमा नेतृत्वमा पुगेका भट्टराईले निर्वाचनका बेला गरेको स्मार्ट इक्यानको प्रतिबद्धता पूर्ण रूपमा कार्यान्वयन गरेका छन् । इक्यानलाई डिजिटल प्रविधिसँग जोड्दै सबै सदस्यहरूको डाटाबेस, सूचना प्रवाह र कार्यालय सञ्चालनलाई आधुनिकिकरण गरिएको छ । नीतिगत सुधार र सरकारसँगको समन्वय शैक्षिक परामर्श क्षेत्रलाई मर्यादित बनाउन शिक्षा मन्त्रालय र वैदेशिक अध्ययन अनुमति शाखा (एनओसी)सँग निरन्तर समन्वय गरी व्यवसायीका समस्या समाधानमा उनी निकै सक्रिय रहे। उनले ‘स्टडी इन नपाल’ अभियानलाई प्रवद्र्धन गर्दै नेपाललाई पनि शैक्षिक हब बनाउन विशेष पहल गरे । यो एक अभियान मात्र होइन, दिनहुँ हजारौंको संख्यामा नेपालका कलेज क्याम्पसलाई रित्ताएर पलायन हुने भीडलाई रोक्ने र विदेशी विद्यार्थीलाई नेपालमा आकर्षित गर्ने एउटा कडी पनि हो ।

इक्यानलाई मर्यादित, व्यवस्थित र विश्वसनीय बनाउने उद्देश्यसहित तत्कालिन अध्यक्ष प्रकाश पाण्डेले हस्तान्तरण गरेको एउटा बलियो जगमा भट्टराईको कार्यकालले एउटा इँटा थपेको छ ।

यसको नतिजा आउन समय लाग्ला, तर जग भट्टराईले नै बसाएका हुन् ।

आफ्नो कार्यकालमा ‘स्मार्ट इक्यान २.०’ पहल सुरु गरेका भट्टराईले संस्थालाई सांगठनिक रुपमा पनि मजबुत बनाएका छन् । इक्यानलाई २०० भन्दा बढी नयाँ सदस्य जोडेर ७०० सदस्यको परिवार बनाउनु, आर्थिक रुपमा साढे ३ करोड बढीको कारोवार गरेर ४० लाख भन्दा बढी कोषमा रकम संचित हुनु, २ वटा नयाँ शाखाहरु थपिनु भट्टराईको कार्यकालमा भएका प्रमुख उपलब्धी हुन् ।

पछिल्लो समय इक्यानको राज्यसँगको समन्वय, डायलग, पत्रकारिता जगतमा समग्र शैक्षिक परामर्श व्यवसायको सकरात्मक सन्देशको प्रवाह, अर्थिक अनुशासन र पारदर्शिता, शाखाहरुको अपनत्व महसुस, बोर्ड बैठकका सर्व सम्मत निर्णय र कार्यन्वयनमा भट्टराईकै देन देखिन्छ ।

भट्टराई अहिले भन्छन्, ‘म आउँदा इक्यान रक्षात्मक अवस्थामा थियो । आज हामी आक्रामक र निर्णायक छौँ । हिजो हामी सरकारको निर्णय कुरेर बस्थ्यौँ, आज सरकारले निर्णय गर्नुअघि हाम्रो राय पर्खिन्छ । हामीले संस्थालाई ‘रिएक्टिभ’ बाट ‘प्रो–एक्टिभ’ बनाएका छौँ । ‘बौद्धिक र निर्णायक शक्ति’ बनाएका छौं ।’

यति मात्र होइन, भट्टराईको उद्देश्य ‘बिकेन्द्रीकृत नेतृत्व’ पनि थियो । काठमाडौंमा बसेर मात्र देशभरका व्यवसायीका समस्या बुझ्न सकिँदैन भन्ने भान उनलाई पहिले नै परेको थियो । काभ्रे, मकवानपुर र सुदूरपश्चिम जस्ता क्षेत्रमा शाखा खोल्न उनको महत्वपूर्ण भूमिका रह्यो, जसले त्यहाँका स्थानीय व्यवसायीलाई इक्यानको मूलधारमा जोड्यो र उनीहरूलाई राज्यका स्थानीय निकायसँग संवाद गर्न सक्षम बनायो ।

‘यु गाइड, वी लिड’ अर्थात् तपाईं मार्गदर्शन दिनुस् हामी नेतृत्व गर्छौ भन्ने नारासहित अगाडि बढेका भट्टराईसँग महाभारतमा कृष्ण सारथि बनेकै कारण अर्जुनले युद्ध जितेको प्रसङ्ग पनि मेल खान्छ । उनको टोलीले पनि आफ्नो कार्यकालमा उत्तिकै साथ दियो । भट्टराईकै नेतृत्वमा इक्यानले सदस्यहरूको क्षमता विकास, विद्यार्थीहरूको हित संरक्षण र संघको पारदर्शितालाई प्राथमिकता दिँदै इक्यान लिडर्स मिट २०२५ आयोजना गर्नु पनि एक उपलब्धीमूलक कदम हो ।

भट्टराईको कार्यकाल सकिँदै गर्दा इक्यानमा नयाँ नेतृत्वका लागि रस्साकस्सी सुरु भएको छ । अध्यक्ष पदका लागि भट्टराईकै कार्यसमितिमा रहेका प्रथम उपाध्यक्ष रहेका लक्ष्मण पौडेल ‘एन्ड्रयु’ र महासचिव दिपकराज भुसाल प्यानलसहित चुनावी मैदानमा छन्।

नीतिगत सुधार र सरकारसँगको समन्वय शैक्षिक परामर्श क्षेत्रलाई मर्यादित बनाउन शिक्षा मन्त्रालय र वैदेशिक अध्ययन अनुमति शाखा (एनओसी)सँग निरन्तर समन्वय गरी व्यवसायीका समस्या समाधानमा भट्टराई निकै सक्रिय रहे।

भट्टराई आफैं प्रस्तावक भएर आफ्नो लिगेसीलाई निरन्तरता दिन भुसाललाई अध्यक्षमा अगाडि बढाएका छन् । भुसालको उम्मेदवारीलाई संस्थागत निरन्तरता र स्थिरताको प्रतीक मानिएको छ । शैक्षिक परामर्श क्षेत्रमा बढ्दो विद्यार्थी संख्या, नीतिगत चुनौती र सरकारसँग समन्वयलाई मुख्य मुद्दा बनाएका उनले २६ बुँदे एजेण्डा अघि सारेका छन् । उनले शैक्षिक परामर्श क्षेत्रमा लामो अनुभव र ‘फुल–टाइम’ समर्पणको पहिचान बनाएका छन् ।

भुसालले दर्ता भएका सबै कन्सल्टेन्सीलाई राज्यको आधिकारिक मान्यता दिलाउन शिक्षा मन्त्रालय र सातै प्रदेश सरकारसँग समन्वय गर्ने योजना अघि सारेका छन् । ‘ग्रे मार्केट’ र अनधिकृत कन्सल्टेन्सी विरुद्ध कडा कदम चाल्ने, नयाँ शिक्षा ऐनमा शैक्षिक परामर्शलाई ‘मर्यादित सेवा उद्योग’ का रूपमा समावेश गराउने र सदस्यहरूलाई कानुनी समस्या पर्दा २४/७ सहयोग गर्न ‘लिगल डिफेन्स सेल’ स्थापना गर्ने उनको लक्ष्य छ।

यता अध्यक्षमा वर्तमान प्रथम उपाध्यक्ष एन्ड्रयु पनि मैदानमा छन् । उनकै प्रस्तावमा भट्टराईको दुई वर्षे कार्यकालमा ६ महिना थप गरिएको थियो । ‘फुट होइन जुटको इक्यान’ भन्ने एकताको सन्देश प्रवाह गर्न भट्टराई लागिपरिरहेका छन् ।

भट्टराईको कार्यकाल थप्ने एन्ड्रयुको त्यो प्रस्ताव

शैक्षिक परामर्श व्यवसायमा २० वर्षभन्दा बढी अनुभव बोकेका वर्तमान प्रथम उपाध्यक्ष ‘एन्ड्रयू’ गुणस्तरीय शिक्षा प्रदान गर्न सदैव समर्पित व्यक्तित्वका रूपमा परिचित छन् । उनी शैक्षिक परामर्श कम्पनीहरूको सुधार र व्यावसायिकताका न्याय र संरक्षणका लागि पूर्ण रूपमा वकालत गर्ने व्यक्ति समेत हुन् । उनी भन्छन्– ‘इक्यानमा वर्षौ राजनीति गरेर बस्ने फुर्सद छैन मलाई । इक्यानलाई कर्पोरेट संस्कृतिमा ढालेर यो संस्थामार्फत सदस्य संस्थाहरुलाई इज्जतिलो वातावरणमा काम गर्ने स्थितीमा पुर्याउन मैले अध्यक्ष बन्नुपर्ने देखेको छु ।’

७ सयभन्दा बढी व्यवसायी सदस्यहरू आबद्ध रहेको यस संस्थाको नयाँ नेतृत्व अब कसको हातमा पुग्छ भन्ने कुराले आगामी शैक्षिक परामर्श क्षेत्रको दिशा तय गर्नेछ।

Logo