पठाओका सञ्चालक बस्नेतद्वारा काठमाडौं–१ बाट उम्मेदवारी घोषणा

पठाओका सञ्चालक बस्नेतद्वारा काठमाडौं–१ बाट उम्मेदवारी घोषणा

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । पठाओ नेपालका सञ्चालक असिममान सिंह बस्नेतले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत बस्नेतले उद्यमीको रूपमा नेपालमै बसेर केही बनाउने क्रममा भोगेका अनुभवहरूले आफूलाई राजनीतिक जिम्मेवारीतर्फ अग्रसर गराएको बताएका छन् ।

‘यो निर्णय सजिलो थिएन,’ उनले भने, ‘तर व्यवसाय र उद्यम सहज नभएसम्म क्षमता भएर पनि भविष्य अनिश्चित हुने यथार्थ मैले नजिकबाट देखेँ ।’ राजनीतिमा प्रवेश गर्नुभन्दा पनि जिम्मेवारी लिन आएको स्पष्ट पार्दै बस्नेतले आफ्ना तीन मुख्य एजेन्डा सार्वजनिक गरेका छन् ।

पहिलो, उद्यमशीलता र स्टार्टअपलाई प्रोत्साहन तथा समर्थन गर्ने नीतिगत व्यवस्था, युवाहरूले नेपालमै सपना देख्न र त्यसलाई कार्यान्वयन गर्न सक्ने वातावरण निर्माण गर्ने उनको प्रतिबद्धता छ । दोस्रो एजेन्डाका रूपमा उनले जवाफदेहिता र सुशासनलाई अघि सारेका छन् । ‘काम गर्नेले जवाफ दिनुपर्छ, निर्णय गर्नेले जिम्मेवारी लिनुपर्छ,’ भन्दै उनले यसलाई सुशासनको आधारका रूपमा व्याख्या गरे ।

तेस्रो एजेन्डा अनुभव र नयाँ पुस्ताबीच सेतु निर्माण गर्ने रहेको उनले बताए । अनुभवी पुस्ता र युवाबीच संवाद, मार्गदर्शन र सहकार्यको संस्कृति विकास गरी समाजलाई एकजुट बनाउने लक्ष्य रहेको उनको भनाइ छ । बस्नेतले यो यात्रा एक्लै सम्भव नभएको उल्लेख गर्दै आम नागरिकको साथ, सुझाव, आलोचना र सहभागिताको आह्वान गरेका छन् । ‘काठमाडौं–१ बदलौँ, नेपाल बदलौँ,’ भन्दै उनले नेपालमै सम्भावना छ भन्ने विश्वासलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरे ।

Skip This
Skip This
Logo