काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का पूर्वअध्यक्ष प्रकाश पाण्डेले अध्यक्षका उम्मेदवार दीपकराज भुसालको टिमलाई ‘डुअर्स’ को संज्ञा दिएका छन् ।
शनिबार भएको दीपकराज भुसाल समूहको उम्मेदवारी घोषणा कार्यक्रममा इक्यानजस्तो ७३० भन्दा बढी सदस्य र ८ वटा शाखाहरू भएको ठूलो संस्था हाँक्न अनुभवी नेतृत्व चाहिने र त्यसका लागि भुसालको टिमले काम गरेरै आफूलाई प्रमाणित गरिसकेको पाण्डेले बताएका छन् ।
इतिहासमै भुसालको जत्तिको बलियो टिम नबनेको बताउँदै उनले आफ्नो मतसँगै मन पनि भुसालकै टिमलाई दिएको जिकिर गरेका छन् ।
इक्यानमा दुई कार्यकाल अध्यक्षका रुपमा र पछिल्ला वर्षहरुमा लगातार इक्यानलाई मार्गदर्शन गर्दै आएका पाण्डेले भुसालको टिममा अस्ट्रेलिया, जापान, क्यानडा जस्ता विभिन्न देशमा काम गर्ने विज्ञहरू, महिला उद्यमी र शाखाहरूको प्रतिनिधित्व रहेको दाबी गरेका छन् ।
उनले सामाजिक सञ्जालको ‘रिल’ युद्धभन्दा ‘रियल’मा मतदाताको मन र मत जित्नु प्रमुख कुरा भएको बताउँदै भुसालको प्यानलका सबै १८ जनालाई विजयी गराउन इक्यानका सदस्यहरुलाई अपिल गरेका छन् ।
पूर्वअध्यक्ष पाण्डेले इक्यानमा कसैको ‘बिरासत’ तोड्ने भन्दा पनि संस्थाको साझा बिरासतलाई बलियो बनाउन र शैक्षिक परामर्श क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्न यो टिम सक्षम रहेको विश्वास व्यक्त गरेका छन् ।
भुसालले सदस्य, सचिव र महासचिव हुँदै हरेक खुड्किलोमा आफूलाई प्रमाणित गरेर यहाँसम्म आइपुगेको र विगतमा इक्यानमा न्यायपूर्ण भुमिका खेलेकाले नै अध्यक्षको उम्मेदवारसम्म आइपुगेको बताएका छन् । आफूले निष्पक्ष रुपमा भुसालकै टिमलाई मनसँगै मत पनि दिएको दोहोर्याउँदै १८ जनाकै टिमलाई विजयी गराउन इक्यानका सदस्यहरुसँग अपिल गरेका छन् ।































प्रतिक्रिया