काठमाडौँ । भृकुटीमण्डपमा विशेष महाधिवेशन गरिरहेको नेपाली कांग्रेसभित्र विवाद चुलिँदै गएपछि सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन समूह र नेता डा। शेखर कोइराला नेतृत्वको इतर समूहले पनि वार्ता समिति गठन गरेका छन्। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यसअघि बनाएको वार्ता समितिसँग छलफल गर्न दुवै पक्ष बाध्य भएका हुन्।
चार सदस्यीय वार्ता समितिमा बालकृष्ण खाण, रमेश लेखक, सहमहामन्त्री जीवन परियार र नेता डा। मिनेन्द्र रिजाल छन्। खाण र लेखक सभापति देउवाको तर्फबाट तथा परियार र रिजाल नेता कोइरालाको तर्फबाट वार्ता समितिमा समेटिएका हुन्। विशेष महाधिवेशन पक्षधरले सोमबार साँझ नै वार्ता समिति गठन गरेका थिए।
यसअघि केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल र मधु आचार्यसँगै २४८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सङ्कलनको नेतृत्व गरेका नेता गुरुराज घिमिरे र देवराज चालिसे समेत वार्ता समितिमा सहभागी छन्। नेताहरूका अनुसार दुई वार्ता समितिबीच केहीबेरमै छलफल हुने तयारी छ।
विवादकै बीच नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पनि आज बस्दैछ। बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको छ। बैठकमा विशेष महाधिवेशन, विधान संशोधन र आन्तरिक विवादबारे छलफल हुने बताइएको छ।
यता, काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन अन्तर्गतको बन्दसत्र आज बिहान ९ बजेदेखि पुनः सुरु हुँदैछ। बढ्दो आन्तरिक विवादका कारण महाधिवेशन सहमतितर्फ जान्छ वा टकराव अझ गहिरिन्छ भन्ने विषयमा चासो बढेको छ।































प्रतिक्रिया