सायमीसहित राष्ट्रिय मुक्ति पार्टीको समूह नेकपामा विलय

सायमीसहित राष्ट्रिय मुक्ति पार्टीको समूह नेकपामा विलय

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय मुक्ति पार्टी नेपालका एकता पक्षधर समूहबीच औपचारिक एकता भएको छ । राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमीसहितका नेताहरू नेकपामा समाहित भएका हुन्।

काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा एकता सहमतिपत्रमा दुवैपक्षले हस्ताक्षर गरेका हुन् । सहमतिपत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र सुमन सायमीले हस्ताक्षर गरेका छन् ।

एकतासँगै जारी सहमतिपत्रमा सडक तथा खोला मापदण्डको नाममा गैरन्यायिक ढंगले गरिएको विस्थापन, सहकारी क्षेत्रमा मौलाउँदै गएको संगठित भ्रष्टाचार र त्यसबाट पीडित नागरिकको अधिकार हननप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ ।

साथै सडक–खोला मापदण्ड पीडित, सहकारी पीडित, गुठी आन्दोलन, पहिचान पक्षधर आन्दोलनलगायत न्याय, अधिकार र पहिचानका पक्षमा उठेका आन्दोलनहरूको भावना आत्मसात् गर्दै एकताको निर्णय गरिएको उल्लेख छ ।

पहिचानसहितको संघीय समाजवादी गणतन्त्रलाई संस्थागत गर्ने साझा प्रतिबद्धतासहित नेकपाको नीति, कार्यक्रम र कार्यदिशा स्वीकार गर्दै पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ र चुनाव चिह्न ‘तारा’ कायम रहने सहमति भएको छ ।

सायमी २०७९ को स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बनेका थिए । उनले उक्त निर्वाचनमा १३ हजारभन्दा बढी मत प्राप्त गरेका थिए । त्यसपछि उनी स्वतन्त्र र वैकल्पिक राजनीतिक धारको एकीकरण अभियानमा सक्रिय रहँदै आएका थिए ।

२०७९ कै प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवारी दिएका सायमी पराजित भए पनि पछिल्लो समय राष्ट्रिय मुक्ति पार्टी नेपालमा वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा थिए ।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा सायमी नेकपाबाट काठमाडौं–८ मा उम्मेदवार बन्ने तयारीमा रहेको बुझिएको छ । ५२ वर्षीय सायमी काठमाडौं कालीमाटीका स्थायी बासिन्दा हुन् र रैथाने समुदायबीच प्रभावशाली अभियन्ताका रूपमा चिनिन्छन् ।

Skip This
Skip This
Logo