काठमाडौं
प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलले प्रमुख सचेतक चयन गर्न नसक्दा सभामुख कृष्णबहादुर महरालाई संसद्को कार्यसूची बनाउन अप्ठेरो परेको छ । संसद्को कार्यसूची तयार पार्नका लागि प्रमुख सचेतकसँगको छलफल आवश्यक पर्नेमा दलहरूले प्रमुख सचेतक तथा सचेतक छान्न सकेका छैनन् । ‘सभामुखज्यूले संसद अत्यावश्यक कानुनहरू निर्माणका लागि दलहरूसँग परामर्श गरिरहनु भएको छ,’ संघीय संसद सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले भने, ‘राजनीतिक दलहरूले प्रमुख सचेतक र सचेतकको नाम सचिवालयमा नपठाउँदा सभामुखज्यूको छलफल प्रभावित बनिरहेको छ ।’
विशेषगरी सत्तारूढ नेकपा एमाले सहित राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक नहुँदा छलफल गर्न कठिन भएको सभामुखको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार छलफलमा कहिले कुन नेता आउने कहिले कुन नेता आउने गर्दा छलफल प्रभावकारी बन्न सकेको छैन ।
संसदमा प्रतिनिधित्व गर्ने पाँच दल मध्ये प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने सोमबार साँझ आफ्नो दलको प्रमुख सचेतकमा बालकृष्ण खाँणलाई तोकेको छ । यसअघि नै माओवादी केन्द्रले प्रमुख सचेतकमा देवप्रसाद गुरुङ तोकिसकेको छ भने अन्य तीन दलले प्रमुख सचेतक तोक्न सकेका छैनन् । सत्तारूढ एमाले भित्र प्रमुख सचेतक कसलाई बनाउने भन्ने विषयमा बहस भए पनि निर्णय लिन नसक्दा संसद्को गतिविधिमा नै समस्या उत्पन्न भएको सभामुख कृष्णबहादुर महराले जानकारी दिए ।
राजधानीबाट































प्रतिक्रिया