काठमाडौं । स्थानीय लघु, साना तथा मझौला उद्योगलाई प्रोत्साहन गर्ने र स्वदेशी उत्पादनको बजार विस्तार गर्ने उद्देश्यका साथ ग्लोबल आइएमई बैंकले शुक्रबार आफ्नो ५० औं ‘ग्लोबल हाट बजार’ भव्यताका साथ आयोजना गर्दैछ।
विगत लामो समयदेखि साप्ताहिक रूपमा सञ्चालन हुँदै आएको यस हाट बजारले स्थानीय उद्यमीहरूलाई आफ्ना रैथाने तथा दिगो उत्पादनहरू सिधै उपभोक्तासम्म पुर्याउने एक प्रभावकारी माध्यम प्रदान गर्दै आएको छ।
यस विशेष अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मीले ५० औं संस्करणसम्मको यो यात्रा निकै सुखद र उत्साहजनक रहेको बताए । उनले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन हाट बजारले खेलेको भूमिकाप्रति खुसी व्यक्त गरे । उनले भनेका छन्, “सबैको निरन्तर उत्साह र सक्रिय सहभागिताले नै यस साप्ताहिक कार्यक्रमलाई स्थानीय उद्योगहरूका लागि आफ्ना रैथाने दिगो उत्पादनहरू प्रदर्शन गर्ने एक प्रभावकारी माध्यम बनाएको छ ।”
‘हामीले बैंकको सामाजिक उत्तरदायित्व समेतलाई मनन गरी केवल कर्जा प्रवाहमा मात्र केन्द्रित नभई उद्यमीहरूको चौथर्फी विकास र व्यावसायिक सीप, विकास तथा बजारीकरणका लागि पनि सहकार्य गर्दै आएका छौँ।’ उनले थपेका छन्, ‘ग्लोबल आइएमई बैंकले सञ्चालन गरेको यस हाट बजारप्रति यहाँहरूको साथ, समर्थन र विश्वास अझ बढ्दै जानेछ र भविष्यमा हजारौँ हाट बजारको उत्सव हामी सबै मनाउन पाउने छौँ भन्ने विश्वास लिएका छौँ। साथै, यो प्लेटफर्मले साना र मझौला उद्यमहरूलाई डिजिटल भुक्तानीतर्फ अभ्यस्त गराउँदै उनीहरूको व्यापारलाई थप सहज र सुरक्षित बनाउने अभ्यासको रूपमा पनि काम गर्नेछ भन्ने कुरामा विश्वस्त रहेका छौँ।’
ग्लोबल आइएमई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता उद्यमशील कार्यहरूलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
ग्लोबल आइएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकका हाल ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।





























प्रतिक्रिया