काठमाडौँ। नेकपा (एमाले) ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार टुङ्ग्याउन बैठकको आह्वान गरेको छ । केन्द्रिय सचिवालय बैठक भोली दिउसो १ बजे केन्द्रिय कार्यालय च्यासलमा बस्नेछ ।
माघ ६ गते उम्मेदवार मनोनयनको मिति नजिकिए सँगै एमालेले त्यसअघि नै १६५ वटै निर्वाचन क्षेत्रमा उठाउने उम्मेदवारको अन्तिम टुंगो लगाउन बैठक बोलाएको हो ।
बैठकले प्रत्येक जिल्लाबाट आएका सिफारिसहरूमा निर्णय गर्ने प्रचार तथा प्रकाशन विभाग संयोजक मीनबहादुर शाहीले जानकारी दिएका छन् ।
यसअगाडि अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताको नाम सर्वसम्मत सिफारिसमा परिसकेको शाहीले बताए ।
एमालेले अहिलेसम्म कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने निर्णय कायम राखेकाले सबै निर्वाचन क्षेत्रमा आफ्नै उम्मेदवार उठाउने तयारी गरेको छ ।
दुर्गम क्षेत्रका उम्मेदवारलाई समयमै मनोनयन दर्ता गर्न सहज होस् भन्ने उद्देश्यले पनि सचिवालय बैठकबाट भोलि नै निर्णय लिने तयारी गरिएको एमालेले जनाएको छ ।
यसअघि केन्द्रीय कमिटी बैठकले उम्मेदवार छनोटको अन्तिम अधिकार सचिवालयलाई प्रदान गरेको थियो।





























प्रतिक्रिया