काठमाडाैं । नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तको मर्जरपछि बनेको नेरुडे–मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडमा देखिएको पछिल्लो कर्मचारी आन्दोलन व्यक्तिगत स्वार्थबाट प्रेरित भएको पाइएको छ।
संस्थाका कर्मचारीका हक–हितसँग सम्बन्ध नभएको र सञ्चालक टेक बहादुर बोहोराको व्यक्तिगत स्वार्थले आन्दोलनलाई निर्देशित गरेको आरोप छ। केही दिन यता बनेपास्थित केन्द्रीय कार्यालय घेराउ, कार्यकारी अधिकृतविरुद्ध नाराबाजी र कार्यालय सञ्चालनमा अवरोध देखिएको छ।
संस्थाभित्रका स्रोतका अनुसार, सञ्चालक टेक बहादुर बोहोरा बोर्डमा स्पष्ट बहुमतमा नरहेको अवस्थामा निर्णय प्रक्रियामा नियन्त्रण कायम गर्न कार्यकारी अधिकृतको नियुक्तिलाई प्रमुख विषय बनाउँदै आफ्नो पक्षको कार्यकारी अधिकृत नियुक्त गराउन लागेका थिए। यसमार्फत कर्मचारी सरुवा–बढुवा, पदस्थापन र अन्य संवेदनशील निर्णयमा प्रभाव जमाउने र केही गोप्य वित्तीय स्वार्थ पूरा गर्ने योजना बनाइएको दाबी गरिएको छ।
हालै नियुक्त कार्यकारी अधिकृत केशवप्रसाद पौडेललाई सञ्चालक बोहोरा संयोजक रहेको कार्यकारी अधिकृत छनोट समितिको सिफारिसमा सञ्चालक समितिले वि.सं. २०८२/०९/०३ गते नियुक्त गरेको थियो। स्रोतका अनुसार पेशागत, स्वतन्त्र र नियमनअनुकूल कार्यशैली अपनाएका पौडेलले संस्थागत सुशासन, नीति–नियम र नेपाल राष्ट्र बैंकका निर्देशन विपरीतका काम गर्न अस्वीकार गरेपछि बोहोरा र उनको बीचमा टकराव सुरु भएको हो।
कर्मचारी स्रोतका अनुसार, सञ्चालक बोहोरा आफ्ना नजिकका नातेदार बिर्ख बहादुर बोहोरालाई मानव संसाधन विभागको इन्चार्ज कायम राख्न दबाब दिँदै मुख्य विभागका कर्मचारी परिवर्तन गरी आफ्ना सिफारिसका व्यक्तिहरू राख्न खोजेका थिए। तर कार्यकारी अधिकृतले यसलाई अस्वीकार गरेका थिए।
स्रोतले भनेका छन्, “मैले भनेको नमाने युनियन लगाएर हटाइदिन्छु” भन्ने अभिव्यक्ति दिने गरी सञ्चालक बोहोरा कार्यकारी अधिकृतलाई धम्की र ब्ल्याकमेल गरेको आरोप पनि लगाइएको छ। युनियनका केही सदस्यहरूलाई प्रयोग गरी कार्यकक्षमै कुटपिट गर्ने प्रयाससमेत भएको जानकारी प्राप्त भएको छ।
संस्थाभित्रका कर्मचारीहरूको भनाइमा, हाल देखिएको आन्दोलन कर्मचारीका साझा माग, सेवा सुविधा वा श्रमसम्बन्धी मुद्दाबाट प्रेरित नभई सञ्चालक बोहोरा आफ्नो स्वार्थ पूरा गर्न कर्मचारीलाई उपकरणका रूपमा प्रयोग गरेको हो। साविक मिर्मिरे लघुवित्तका केही कर्मचारीहरूलाई अगाडि सारेर संस्था नै बन्धक बनाउने प्रयास गरिएको दाबी गरिएको छ।
स्रोतका अनुसार, बोहोरा आफैं विराटनगर र मधेस प्रदेश पुगेर आन्दोलनमा सहभागी गराउन कर्मचारी उक्साउने प्रयासमा संलग्न थिए। तर कोशी र मधेस प्रदेशका कर्मचारीहरूले “सञ्चालक भएर आफैं आन्दोलन गराउन लगाउनु गैरजिम्मेवार र नियमनविपरीत हो” भन्दै उक्त प्रयास अस्वीकार गरेका थिए।
केन्द्रीय कार्यालयका वरिष्ठ कर्मचारीहरूका अनुसार, बोहोरा आफ्नै सामाजिक सञ्जालमार्फत संस्थाविरुद्ध पोस्ट गर्दै कर्मचारी भड्काउने, कार्यकारी अधिकृतको राजीनामा माग्ने पोस्टलाई प्रोत्साहन गर्ने, “संस्था डुब्न लाग्यो” भन्ने अफवाह फैलाउने र युनियनसँग आन्दोलनबारे बैठकसमेत गरेको सार्वजनिक सामग्री देखिएको छ। यसले आन्दोलन पूर्वयोजनाबद्ध भएको दाबीलाई बल दिएको छ।
नेरुडे–मिर्मिरे लघुवित्तमा यस्तो घटना भएपछि नेपाल राष्ट्र बैंकले घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको छ । यसअघि दफा १०० अन्तर्गत कारबाही भई बोर्डबाट हटाइएका सञ्चालक बोहोरा माथि पुनः नियामकीय कारबाही नभए लगानीकर्ताको जोखिम बढ्ने चिन्ता व्यक्त गरिएको छ। एक प्रमुख संस्थापक शेयरधनीले “यो क्रम रोकिएन भने नियामक निकायमा औपचारिक उजुरी दर्ता गरिने” बताएका छन्।































प्रतिक्रिया