काठमाडौँ । सिन्धुलीको घ्याङलेख गाउँपालिका वडा नम्बर–२ स्थित हायुटारमा रहेको एसबीआई बैंक घरधनिकै मिलेमोतोमा भएको देखिएको छ । पुस २९ मा साँझ बैंक लुटमा संलग्न आरोपमा प्रहरीले बैंकको शाखा रहेको घरका धनी छविलाल स्याङ्तानलाई पक्राउ गरेको छ । यस्तै उनी सहित अन्य ७ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले शुक्रवार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
पक्राउ पर्नेमा काभ्रेको बनेपा घर भएका ४९ वर्षीय भागवत सिंह थापा, सिन्धुली घ्याङलेख गाउँपालिका घर भएका ४७ वर्षीय चतुरमान बज्यु, चितवन भरतपुर घर भएका २४ वर्षीय शशाङ्क श्रेष्ठ, नुवाकोट पञ्चकन्या–५ घर भएका २३ वर्षीय मिलन गिरी, सोही ठाउँका १९ वर्षीय विवेक मगर, सिन्धुली घ्याङलेख–२ बस्ने ४४ वर्षीय छविलाल स्याङ्तान र १६ वर्षीय बालक छन् भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी सूर्य प्रकाश सुवेदीले बताए । बैंकबाट लुटेको २ करोड ६८ लाख ५५ हजार नगद प्रहरीले बरामद गरेको थियो ।
लुटेराहरुले प्लास्टिकको पेस्तोल र खुकुरी देखाएर बैंक लुटेको र लुटमा प्रयोग भएको नक्कली पेस्तोल र खुकुरी बरामद गरेको छ । घरधनी स्याङ्तानले लुटेराहरूलाई हतियार व्यवस्थापन गरिदिएका थिए । उनले सूचना आदान प्रदान पनि गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । घ्याङलेख गाउँपालिका–२ बस्ने चतुरमान बज्यु र घरधनी छविलाल स्याङ्तानले २०८२ असोजबाट नै बैंक लुट्ने योजना बनाएको अनुसन्धान अधिकृतहरूलाई बताएका छन् ।
लुटेराहरू पुस २३ मा काठमाडौँबाट २ वटा मोटरसाइकलमा सिन्धुली गएका थिए । तर, त्यसबेला परिस्थिति अनुकूल नभएर फर्केको र दोस्रो प्रयासमा लुटेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । पुस २९ मा कोटेश्वरमा भेला भएर लुटेराहरू बनेपासम्म सार्वजनिक यातायातमा गएका थिए । बनेपाबाट टाटा सुमो रिजर्भ गरेर घटनास्थलमा पुगेका थिए ।
एसबीआई बैंकको शाखा कार्यालयका अनुसार ३ करोड ७ लाख लुटपाट भएको छ । आरोपीहरू विरुद्ध प्रहरीले चोरी तथा डाँका सम्बन्धी कसुरमा अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।





























प्रतिक्रिया