काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसभित्रको विवाद र सम्भावित फुटले निर्वाचन प्रक्रिया नरोकिने दाबी गरेका छन्। उनले चुनाव तोकिएकै समयमा हुने भन्दै सबैलाई ढुक्क हुन आग्रह गरेका छन्।
भरतपुर महानगरपालिकाको प्रशासकीय भवन उद्घाटनपछि बोल्दै प्रचण्डले अहिले चुनाव हुन्छ कि हुँदैन भन्ने अन्योल देखिए पनि सरकार, निर्वाचन आयोग, राजनीतिक दल र कूटनीतिक क्षेत्र सबै निर्वाचनमा होमिइसकेको बताए ।
उनले अघिल्ला निर्वाचनका अनुभव सम्झाउँदै अन्तिम समयसम्म शंका रहे पनि चुनाव सफलतापूर्वक सम्पन्न भएको उल्लेख गरे। अहिले समानुपातिक सूची बुझाइसकिएको, प्रत्यक्षतर्फ मनोनयनको मिति नजिकिएको र आफ्नो पार्टीले टिकट बाँड्न सुरु गरिसकेको बताए ।
प्रचण्डले चुनावबाहेक अर्को विकल्प देशका लागि जोखिमपूर्ण हुनसक्ने चेतावनी दिँदै स्वच्छ र निष्पक्ष निर्वाचन नै वर्तमान राजनीतिक समस्याको एकमात्र निकास भएको जिकिर गरे ।
कांग्रेसको विशेष महाधिवेशन र आधिकारिकता विवादका कारण चुनाव प्रभावित हुन्छ कि भन्ने प्रश्नबारे सरकार, आयोग र सुरक्षा निकायसँग बुझ्दा कुनै असर नपर्ने जवाफ पाएको उनको भनाइ छ ।
उनले छिट्टै कांग्रेसको आन्तरिक विवाद समाधान भई निर्वाचन प्रक्रिया अघि बढ्ने विश्वास व्यक्त गरे।





























प्रतिक्रिया