काठमाडाैं । विसं २०७९ सालको प्रतिनिधि सभाको प्रत्यक्षतर्फ नौ जना सांसद निर्वाचित भएका थिए । कुल १ सय ६५ निर्वाचन क्षेत्रमा २२५ जना महिला उम्मेदवार थिए। तर केही सीमित उम्मेदवारले मात्रै जित निकाले । निर्वाचितमध्ये सबैभन्दा बढी एमालेका चार जना छन्।
दोस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका दुई जना छन्। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्ति पार्टीबाट एक–एक जना निर्वाचित भएका छन्। उनीहरू सबैले पुरुष उम्मेदवारलाई पराजित गर्दै संसद प्रवेश गरेका हुन्।
एमालेबाट जुलीकुमारी महतो, विद्या भट्टराई, ज्वालाकुमारी साह र भगवती चौधरी निर्वाचित भएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोबिता गौतम र डा. तोसिमा कार्की निर्वाचित भएका छन्। कांग्रेसबाट सीता गुरुङ, माओवादी केन्द्रबाट रेखा शर्मा र नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ निर्वाचित भएका छन्।
एमालेकी जुलीकुमारी महतो ३३ हजार ३८८ मत प्राप्त गरी धनुषा–३ बाट विजयी भएकी हुन्। उनले सत्ता गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टीका अनिलकुमार झालाई ९ हजार ६६९ मतान्तरले पराजित गरेकी थिइन्। झाले २३ हजार ६८६ मत प्राप्त गरेका थिए। महतो यसअघि समानुपातिकतर्फ दुई पटक सांसद भइसकेकी छन् भने यो पहिलो पटक प्रत्यक्ष निर्वाचन लडेकी हुन्। आगामी फागुन २१ गते हुने निर्वाचनमा उनको सोही क्षेत्रबाट उम्मेदवारी सिफारिस भएको छ।
माओवादी पृष्ठभूमिबाट राजनीतिमा उदाएकी ज्वालाकुमारी साह बारा–३ बाट २० हजार २५१ मत प्राप्त गरी निर्वाचित भएकी हुन्। उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका रामकुमार यादवले १७ हजार २७९ मत प्राप्त गरेका थिए। साह २०७४ सालको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएकी थिइन्। २०७४ सालमा पार्टी एकता भएपछि उनी एमालेमा प्रवेश गरेकी थिइन्। यस पटकको निर्वाचनमा भने उनको निर्वाचन लड्ने सिफारिस आएको छैन।
विद्या भट्टराई कास्की–२ बाट निर्वाचित भएकी थिइन्। भट्टराईले १६ हजार ९९८ मत प्राप्त गरेकी छन् भने रास्वपाका माधवप्रसाद कँडेलले १२ हजार ४९५ मत प्राप्त गरेका थिए । भट्टराई २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित उनका श्रीमान् रवीन्द्र अधिकारीको निधनपछि भएको उपनिर्वाचनमा विजयी भएकी थिइन्। उनी दोस्रो पटक पनि कास्की–२ बाट निर्वाचित भएकी हुन्। केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनी शिक्षा मन्त्रीसमेत बनेकी थिइन्। तर, ओलीसँग असन्तुष्टि जनाउँदै राजीनामा दिएकी थिइन्। हाल उनी सक्रिय राजनीति नगर्ने घोषणा गरी स्वतन्त्र बसेकी छन्।
सुनसरी–३ मा एमालेकी भगवती चौधरीले सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका विजयकुमार गच्छदारलाई पराजित गर्दै संसद प्रवेश गरेकी हुन्। चौधरीले ४० हजार ७८८ मत प्राप्त गरेकी छिन् भने गच्छदारले ३५ हजार ६०० मत पाएका छन्। चौधरी अघिल्लो दुई पटक गच्छदारसँगै पराजित भएकी थिइन्। उनी २०६४ सालको पहिलो संविधानसभा सदस्य थिइन्। यसबेला उनी वन तथा भू–संरक्षण राज्यमन्त्री र केपी ओलीको सरकारमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीसमेत बनेकी थिइन्। फागुन २१ मा हुने निर्वाचनमा सोही क्षेत्रबाट उनले निर्वाचन लडेकी छैनन् र एमाले भूगोल कमिटीले सिफारिस पनि गरेको छैन।
यसैगरी कांग्रेसकी सीता गुरुङ १९ हजार ७०७ मत सहित तेह्रथुमबाट निर्वाचित भएकी थिइन्। उनले १८ हजार ६३१ मत पाएका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का विजय सुब्बालाई पराजित गरेकी थिइन् । उनी यसअघि समानुपातिक सांसद थिइन्। प्रत्यक्ष निर्वाचित भएर कांग्रेसकी एक मात्र महिला सांसद भएकी उनी केही समयका लागि शहरी विकास मन्त्रीसमेत बनेकी थिइन्।
यता नेकपा माओवादी केन्द्रकी रेखा शर्मा दाङ–२ बाट २६ हजार ८८० मतसहित विजयी भएकी छन्। उनले एमालेका महासचिव शंकर पोखरेललाई पराजित गरिन्। यसअघि दुई पटक समानुपातिक सांसद भएकी शर्मा चुनाव जितेपछि सूचना तथा प्रविधि मन्त्रीसमेत बनेकी थिइन्।
पहिलो पटक निर्वाचनमा भाग लिएको राष्ट्रिय स्वतन्त्र पार्टीले दुई जना महिला सांसदलाई प्रत्यक्षतर्फ जिताउन सफल भयो। सोबिता गौतम काठमाडौं–२ बाट १५ हजार २३८ मतसहित निर्वाचित भएकी छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका मणिराम फुयाँलले ११ हजार ५५५ मत पाएका थिए । डा. तोसिमा कार्की ललितपुर–३ बाट एमालेका अमृत भट्टराईलाई पराजित गर्दै निर्वाचित भएकी हुन्। कार्कीले ३१ हजार १३६ मत प्राप्त गरेकी छन् भने अमृत भट्टराईले १२ हजार ९६३ मत पाएका थिए। उनी निर्वाचन जितेपछि केही समय स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीसमेत बनेकी थिइन्।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ कैलाली–१ बाट निर्वाचित भएकी छन्। उनले कांग्रेसका रामजनम चौधरीलाई पराजित गरिन्। रञ्जिताले ३० हजार ४०४ मत पाएकी छन् भने चौधरीले १८ हजार ८१ मत पाएका थिए। उनी थारुहट आन्दोलनका दोषी रेशम चौधरीकी श्रीमती हुन्। हाल रेशम जेल सजाय पूरा गरी पुनः राजनीतिमा सक्रिय भएका छन्। श्रीमान्–श्रीमती फरक–फरक पार्टीबाट सक्रिय छन्। फागुन २१ मा हुने निर्वाचनमा रञ्जिताले नेपाली कम्युनिष्ट पार्टीसँग चुनावी तालमेल गर्ने निर्णय गरिसकेकी छन्।































प्रतिक्रिया