बागलुङ । नेपाली कम्युनिष्ट आन्दोलनका अनुभवी, निष्ठावान् र संघर्षबाट खारिएका नेता ज्ञामनाथ गैरे ‘अनिल’ बागलुङ जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन्। फागुन २१ गते सम्पन्न हुने निर्वाचनका लागि पार्टीको विश्वास प्राप्त गरेपछि उनले जनतासँग मत माग्ने औपचारिक अभियान थालेको केन्द्रविन्दुलाई बताए।
उम्मेदवारी पाएपछि गैरेले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, पार्टीका सम्पूर्ण कमरेडहरू, गण्डकी प्रदेश नेतृत्व, बागलुङ जिल्लाका पार्टी पंक्ति तथा शुभेच्छुकहरूप्रति हृदयदेखि धन्यवाद व्यक्त गरेका छन्। उनले आफूप्रति व्यक्त गरिएको विश्वासलाई बागलुङको उज्ज्वल भविष्यप्रतिको साझा आशाको रूपमा लिएको बताउँदै यसले आफूलाई अझ जिम्मेवार र प्रतिबद्ध बनाएको उल्लेख गरेका छन्।
गैरेले कुनै एक दलको मात्र होइन, सम्पूर्ण बागलुङवासीको साझा प्रतिनिधिका रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन्। “पद होइन कर्तव्य ,सत्ता होइन सेवा” लाई प्राथमिकता दिएर इमानदार, जनमुखी र परिणाममुखी राजनीति गर्ने संकल्प दोहो-याएका छन्।
नेता गैरे बागलुङको कम्युनिष्ट आन्दोलनका भरोसायोग्य व्याक्तिका रूपमा चिनिन्छन्। जनयुद्ध कालदेखि समाजलाई परिवर्तनको बाटोमा डोहो-याउँदै माओवादी मोर्चा सम्हालेर हिँडका गैरेले सक्रिय रहँदै पार्टी संगठनको तल्लो तहदेखि माथिल्लो तहसम्म पार्टीले दिएको जिम्मेवारी सम्हाल्दै आएका छन्। वैचारिक रूपमा दृढ र संगठनात्मक रूपमा सक्षम नेताका रूपमा परिचित गैरे अवसरवादी राजनीतिभन्दा टाढा रहँदै निरन्तर जनपक्षीय भूमिकामा सेवाभावमा सदैव देखिँदै आएका छन्।
बागलुङको पश्चिमी भेग ढोरपाटन, निसीखोला, तमानखोला, ताराखोला, बडिगाड र गल्कोटका केही भाग समेटिएको क्षेत्र नं. २ मा गैरेको गहिरो जनसम्पर्क छ । सडक, शिक्षा, स्वास्थ्य र रोजगारीका समस्या नजिकबाट बुझेका उनी स्थानीय आवश्यकतामा आधारित विकास नै दिगो समाधान हो भन्ने मान्यतासहित अघि बढिरहेका छन्।
उनले आफ्नो उम्मेदवारीमा मध्यपहाडी लोकमार्गको स्तरोन्नति र ग्रामीण सडकलाई बाह्रै महिना सञ्चालनयोग्य बनाउने, ढोरपाटन शिकार आरक्षलाई अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने, कृषि आधुनिकीकरण, चिस्यान केन्द्र स्थापना, साना जलविद्युत आयोजना, विकट बस्तीमा गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको पहुँच तथा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलतासहितको जनमैत्री प्रशासनलाई प्राथमिक एजेन्डा बनाएका छन्।
गैरेमाथि अहिलेसम्म कुनै आर्थिक वा नैतिक विवाद नआएका उनी आफ्नै पार्टीभित्र मात्र नभएर अन्य दलका नेता,कार्यकर्ता र स्वतन्त्र नागरिकहरूबीच पनि सादगी र इमानदार नेताका रूपमा सम्मानित छन्। युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने र वैदेशिक रोजगारीमा आर्जित सीपलाई स्वदेशमै प्रयोग गर्ने उनको दृष्टिकोणले युवापुस्तालाई जागरुक गराउँदै आइरहेको नेकपा बाग्लुङका एक नेता बताउँछन् ।
पार्टी संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाल दुवैको विश्वास प्राप्त गर्नुले गैरे वाम–लोकतान्त्रिक शक्तिको साझा र बलियो उम्मेदवारका रूपमा उभिएका छन्। संघर्ष, विचार र अनुभवले खारिएका ज्ञामनाथ गैरे ‘अनिल’ को उम्मेदवारीले बागलुङ क्षेत्र नं. २ मा नयाँ राजनीतिक आशा र उत्साह सिर्जना गरेको स्थानियले बताएका छन् ।





























प्रतिक्रिया