काठमाडौं। २०७९ को निर्वाचनमा देशभर नेकपा (एमाले)विरुद्ध गठबन्धन बनाएर चुनाव भएको थियो । एमालेले केही स्थानमा राप्रपासँग गठबन्धन गरेको भए पनि देशका अधिकांश भागमा पहिलो दल कांग्रेस, तेस्रो दल माओवादी केन्द्र र एमालेबाट फुटेको नेकपा (एकीकृत समाजवादी)ले औपचारिक रूपमा देशव्यापी चुनावी एकता गरेका थिए।
तीन दलको चुनावी तालमेलका कारण एमालेका उम्मेदवारहरूलाई चुनाव जित्न सहज थिएन। त्यसबेला चुनाव जितेका नेताहरू अहिले कुनै गठबन्धन नगरी राजनीतिक दलहरू चुनाव लड्दा सहजै विजयी हुने अनुमान गरिएको थियो। तर राजनीतिक पूर्वाग्रहका आधारमा यसपटक पार्टी अध्यक्ष केपी शर्मा ओली उम्मेदवार छनोटमा अनुदार देखिएका छन्।
नेकपा एमालेका क्षेत्र, जिल्ला र प्रदेशबाट एकल उम्मेदवारका रूपमा सिफारिस भएका धेरै नेताले टिकट पाएका छैनन्। कतिपय स्थानमा प्रतिस्पर्धामा पराजित भएका वा तेस्रो–चौथो स्थानमा रहेका व्यक्तिलाई समेत टिकट दिइएको छ।
पार्टीका उपमहासचिव योगेश भट्टराईले पार्टीको निर्णय सुनेर विचलित नहुन आग्रह गरेका छन्। “निर्णय सुनेर विचलित नहुन अनुरोध गर्दछु। अझ उच्च मनोबल र एकताका साथ नेकपा एमालेका उम्मेदवारहरूलाई विजयी बनाउन आफ्नो ठाउँ र हैसियतबाट सक्रिय रहन आह्वान गर्दछु। हाम्रो यात्रा लामो र गौरवपूर्ण छ,” उनले लेखेका छन्।
ताप्लेजुङबाट निरन्तर निर्वाचन लड्दै आएका भट्टराईको नाम हिजाेकाे बैठकले सार्वजनिक गरेको छैन। अध्यक्ष ओलीले टुंग्याउने भन्दै उक्त क्षेत्र खाली राखिएको छ।
अघिल्लो निर्वाचनमा कांग्रेस, माओवादी र नेकपा (एस) का साझा उम्मेदवार झलनाथ खनाललाई इलाम क्षेत्र नम्बर २ बाट पराजित गरेका महेश बस्नेतले यसपटक टिकट पाएनन्। उनको स्थानमा एमालेले काजीमान कागतेलाई उम्मेदवार बनाएको छ।
झापा क्षेत्र नम्बर ४ बाट लगातार सांसद जित्दै आएका लालप्रसाद सावाँ (एलपी) लाई यसपटक एमालेले टिकट दिएको छैन । एमाले महाधिवेशनमा केन्द्रीय सदस्य नबनाइएका सावाँलाई यसपटक उम्मेदवार बन्नसमेत निषेध गरिएको छ। उनले २९ हजार ३१५ मत ल्याउँदै कांग्रेसका देउमान थेबेलाई पराजित गरेका थिए। झापा–४ मा अखिलका पूर्व सचिव मनोज ताम्लीले टिकट पाएका छन्।
पाँचथरबाट प्रत्यक्ष निर्वाचित बशन्त नेम्बाङ स्वास्थ्य अवस्थाका कारण चुनावी दौडमा छैनन्। इलामबाट निर्वाचित सुहाङ नेम्बाङ भने फेरि चुनाव लड्दै छन्।
मोरङ–२ बाट कांग्रेस नेतृ सुजाता कोइरालालाई पराजित गरेका एमाले नेता ऋषिकेश पोखरेल पनि ओलीको प्राथमिकतामा परेनन्। सचिवालय बैठकले उनको नाम फाइनल गरेको छैन। उनी अघिल्लो कार्यकालमा सार्वजनिक लेखा समितिका सभापति थिए। सहकारी ठगी प्रकरणमा पत्नीको नाम जोडिएपछि उनी विवादमा तानिएका थिए।
२०७९ मा सुनसरी–२ बाट निर्वाचित भीम आचार्य पनि अन्तिम सूचीमा परेका छैनन्। उनले आफू चुनाव नलड्ने बताउँदै आएका छन्।
सोलुखुम्बुबाट कांग्रेस नेता बलबहादुर केसीलाई पराजित गर्दै सांसद बनेका मानवीर राईले पनि यसपटक टिकट पाएनन्। उनको स्थानमा उनी मन्त्री हुँदा स्वकीय सचिव रहेकी कल्पना राईले टिकट पाएकी छन्।
मधेस प्रदेशको पर्सा जिल्लाबाट निर्वाचित राजकुमार गुप्ता पनि उम्मेदवार सूचीमा छैनन्। पोखराको लिचीवारी भ्रष्टाचार काण्डमा दोषी ठहरिएपछि उनको स्थानमा प्रमोद जैसवाल उम्मेदवार बनेका छन्।
काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये एमालेले जितेको एक मात्र क्षेत्र काठमाडौं–९ बाट निर्वाचित कृष्णगोपाल श्रेष्ठले पनि टिकट पाएनन्। एमाले महाधिवेशनमा ईश्वर पोखरेल समूहबाट चुनाव लडेका कारण ओलीले टिकट दिन आनाकानी गरेको बताइन्छ।
कुनै समय ओलीका विश्वासपात्र मानिएका गोकुल बाँस्कोटाले टिकट पाउने–नपाउने टुंगो लागेको छैन। उनी २०७९ मा काभ्रेबाट निर्वाचित सांसद हुन्।
कास्की–१ बाट निर्वाचित मनबहादुर गुरुङको टिकट खोसिएको छ। उनले कांग्रेसका किशोरदत्त बराललाई २ हजार ६०९ मतान्तरले पराजित गरेका थिए। उनको स्थानमा बैणबहादुर क्षेत्रीलाई टिकट दिइएको छ।
कास्की–२ बाट निर्वाचित विद्या भट्टराईले चुनाव नलड्ने घोषणा गरिसकेकी छन्। ओली नेतृत्वको सरकारमा शिक्षा मन्त्री रहेकी भट्टराईले अनावश्यक दबाब र हस्तक्षेप भएको भन्दै राजीनामा दिएकी थिइन्।
कपिलवस्तु–३ बाट निर्वाचित मंगलप्रसाद गुप्ताले पनि टिकट पाएनन्। उनले कांग्रेसका अभिषेकप्रताप शाहलाई साढे तीन हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए।
पाल्पा–२ बाट २०७९ मा निर्वाचित ठाकुरप्रसाद गैरेलाई टिकट नदिई एमाले उपाध्यक्ष विष्णु पौडेललाई उम्मेदवार बनाइएको छ। गैरे एमाले महाधिवेशनमा ईश्वर पोखरेल समूहबाट सचिवका उम्मेदवार थिए।
कञ्चनपुर–१ बाट निर्वाचित तारा लामा पनि टिकटबाट वञ्चित भएका छन्। उनले माओवादी केन्द्रकी बिना मगरलाई ५ हजार ५४२ मतान्तरले पराजित गरेका थिए। उनको स्थानमा कमला बोहराले टिकट पाएकी छन्।































प्रतिक्रिया