नेकपाले पर्वतमा उठाएका मनहरि को हुन ?

नेकपाले पर्वतमा उठाएका मनहरि को हुन ?

केन्द्रबिन्दु
78
Shares

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधि सभाको चुनावका लागि मनहरि तिमिल्सिना समर लाई टिकट दिएको छ । देश र जनताका लागि ज्यानको जोखिम मोलेर संघर्ष गरेका तिमिल्सिनालाई यसपाली नेकपाले टिकट दिएको हो । संगठन निर्माण, निर्वाचन व्यवस्थापन र भूमिगत राजनीतिमा लामो अनुभव बटुल्दै कमाण्डर समेत बनेर समाज परिवर्तनका लागि लडेका तिमिल्सिना वौद्धिक वैचारिक युवा नेता हुन्। समर उनको पार्टीको युद्धकालिन नाम हो । मनहरी नचिनेको नाम होइन,जनयुद्धका बेलादेखी अहिलेसम्म जिल्लाका रहेक ठाउँहरुमा पुग्ने जनताको दुखसुखमा साथ दिने नाम हो ।
तर चिन्नु सुन्नु जान्नु भएको छैन भने पनि उनी हजुरका साथी जस्तै हुन्। दाजुभाई हुन्। भाईछोरा हुन्। उनी जहाँ जान्छन् यो माया र सद्भाव बटुल्छननै उत्तिकै सम्मान समेत व्यक्त गर्छन् मनहरी ।

मनहरी पर्वत जिल्लाको हरियो डाँडा, उर्वर खेतबारी र आत्मीय सामुदायिक संस्कृतिबाट उठेर राष्ट्रिय बौद्धिक, राजनीतिक र सञ्चार क्षेत्रमा स्थापित नाम हुन्। गाउँको साधारण जीवनबाट सुरु भएको उनको यात्रा संघर्ष, विचार र विकासको स्पष्ट दिशासहित अघि बढेको छ । २०४१ असार २ गते पर्वतको मोदी गाउँपालिका–७, राम्जामा जन्मिएका तिमिल्सिनाले बाबु तेजराज शर्मा र आमा टुल्कीदेवी शर्माबाट पाएको पारिवारिक संस्कार, श्रमप्रतिको सम्मान र समाजप्रतिको जिम्मेवारीलाई आफ्नो जीवनको मूल्य बनाए । यही संस्कार र चेतनाले उनलाई सधैं समाज परिवर्तनका पक्षमा उभिन प्रेरित गरिरह्यो।

बाल्यकालदेखि नै उनी अध्ययनशील, जिज्ञासु र विश्लेषणशील स्वभावका थिए । सामान्य विद्यालयमा पढ्दा पनि वक्तृत्वकला, नेतृत्व क्षमता र गहिरो सोचका कारण उनी शिक्षक तथा साथीहरूमाझ छुट्टै पहिचान बनाउँथे। गाउँमा हुने राजनीतिक छलफल, साहित्यिक कार्यक्रम र सामुदायिक गतिविधिमा उनी सक्रिय रहन्थे। समाजमा देखिने असमानता, अन्याय र समस्यामाथि प्रश्न उठाउने र समाधान खोज्ने बानीले उनलाई सानैदेखि फरक व्यक्तित्वका रूपमा चिनायो। यही चेतनाले उनलाई विद्यार्थी राजनीतितर्फ आकर्षित ग-यो।

२०५४ सालमा अखिल (क्रान्तिकारी) को मूल इकाइ सदस्य बनेर उनले औपचारिक राजनीतिक यात्रा सुरु गरे। दुई वर्षमै इकाइ अध्यक्ष बनेर नेतृत्वदायी भूमिकामा प्रवेश गरेका उनी २०५७ सालमा नेकपा (माओवादी) का पार्टी सदस्य बनेपछि पूर्णकालीन कार्यकर्ताका रूपमा भूमिगत जीवनमा प्रवेश गरे। त्यो समय व्यक्तिगत सुरक्षा, परिवारसँग खुला सम्पर्क र भविष्य सबै अनिश्चित थिए । तर उनले आफ्नो जीवन आन्दोलन र जनताको पक्षमा समर्पण गरे।

२०५८ सालमा गाउँ जनसरकारको सदस्य निर्वाचित हुँदै उनले विद्रोही आन्दोलनलाई संगठित गर्ने जिम्मेवारी पाए । सोही वर्ष अखिल (क्रान्तिकारी) जिल्ला समिति सदस्य बनेर स्वायर्ड दलमा सहायक कमाण्डरको भूमिकासमेत निर्वाह गरे। तर संघर्षको यही क्रममा २०५८ पुसदेखि २०५९ माघसम्म उनी नेपाली सेनाद्वारा हिरासतमा राखिए । हिरासतको यातना, पीडा र अन्यायका बाबजुद उनले आफ्नो वैचारिक प्रतिबद्धता गुमाएनन्। बरु यस घटनाले उनलाई जनतासँग अझ नजिक बनायो र परिवर्तनका लागि अझ दृढ बनायो।

भूमिगत जीवनपछि मनहरि तिमिल्सिनाले पत्रकारितालाई संघर्षको अर्को सशक्त माध्यम बनाए । २०५८ देखि २०६० सम्म ‘जनादेश साप्ताहिक’ का संवाददाता बनेर पत्रकारिता सुरु गरेका उनले छोटो समयमै निर्भीक र तथ्यमा आधारित पत्रकारको पहिचान बनाए । २०६४ देखि २०६६ सम्म रेडियो गण्डकी, पोखराका प्रबन्ध निर्देशक बनेर काम गरे। त्यसपछि स्वाभिमान राष्ट्रिय साप्ताहिक (२०६४–२०६७), गण्डकी खबर राष्ट्रिय दैनिक (२०६७–२०७०) र पोखरा भ्यू राष्ट्रिय साप्ताहिक (२०७०–२०७२) मा सम्पादक तथा प्रकाशकका रूपमा जिम्मेवारी सम्हाले। उनका लेख र सम्पादकीयहरूले सामाजिक अन्याय, राजनीतिक असमानता र विकासका चुनौतीलाई निर्भीक रूपमा उजागर गरे।

२०७२–२०७३ मा उनी तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस संयोजक बने। यस भूमिकाले उनलाई राष्ट्रिय राजनीति, सञ्चार व्यवस्थापन र राज्य सञ्चालनको प्रक्रियालाई नजिकबाट बुझ्ने अवसर दियो। त्यसपछि उज्यालो नेपाल डटकमका प्रधान सम्पादक र लोकपाटी डटकमका अध्यक्ष तथा प्रधान सम्पादकका रूपमा अनलाइन पत्रकारितामा उल्लेखनीय योगदान दिए । अनलाइनखबर, नयाँ पत्रिका, नागरिक दैनिक, अन्नपूर्ण पोस्ट, रातोपाटी, सेतोपाटी, कमाण्डरपोस्ट लगायतका सञ्चारमाध्यममा उनका सयौँ लेख प्रकाशित छन्।

पत्रकारितासँगै मनहरि तिमिल्सिना एक सशक्त लेखक र विचारकका रूपमा पनि स्थापित छन्। उनका ‘जनताको जनवादका आधारहरू’ (२०७६), ‘कम्युनिस्ट स्कुल’ (२०७७), ‘समाजवादी क्रान्तिको कार्यदिशा’ (२०७८), ‘समाजवाद ः सिद्धान्त र प्रयोग’ (२०७९) र ‘पार्टी स्कुल’ (२०८२) जस्ता पुस्तकहरूले नेपाली वामपन्थी बौद्धिक जगतमा महत्वपूर्ण योगदान दिएका छन्। त्यसैगरी कम्युनिस्ट ज्ञानकोश, विश्वप्रसिद्ध पुस्तकहरूको सारसंक्षेप, गणतन्त्र अगाडि र पछाडिको नेपाल तथा ‘क्वान्टम सिद्धान्त’ (सम्पादन) जस्ता कार्यमार्फत उनले ज्ञान प्रसारमा उल्लेखनीय भूमिका खेलेका छन्।

उनको विकास दृष्टिकोण जनजीवन केन्द्रित छ । उनी भन्छन्न्,“भौतिक पूर्वाधार मात्र विकास होइन, विकास भनेको जनताको जीवनमा अवसर सिर्जना गर्नु हो।” ग्रामीण क्षेत्रबाट भइरहेको तीव्र बसाइँसराइलाई उनी गम्भीर चुनौतीका रूपमा हेर्छन्। यसको समाधानका लागि व्यावसायिक कृषि, रोजगारी सिर्जना, उद्यमशीलता विकास, सूचना प्रविधिमा लगानी, कृषि उत्पादनमा समर्थन मूल्य, एग्रो–टुरिज्म आधारित होमस्टे, स्मार्ट भिलेज र स्थानीय तहबीच समन्वयमा आधारित विकास योजना आवश्यक रहेको उनको धारणा छ ।

पर्वत जिल्लाको समग्र रूपान्तरणका लागि उनले दीर्घकालीन लक्ष्यसमेत अघि सारेका छन्। जिल्लाका ६१ वटै वडामा पक्की सडक, प्रत्येक वडामा कम्तीमा एक व्यवसायिक परियोजना, बाँदर आतंक नियन्त्रण गरी कृषि संरक्षण, युवालाई स्वरोजगार र सीपमूलक तालिम तथा प्रविधिमैत्री स्थानीय शासन प्रणाली उनको विकास एजेन्डाका प्रमुख बुँदा हुन्।

गाउँको माटोबाट उठेर राष्ट्रिय बौद्धिक तहसम्म पुगेका मनहरि तिमिल्सिनाको जीवन संघर्ष, विचार र विकासको संगम हो। उनी आज पनि जनताको पक्षमा कलम र विचार चलाइरहेका छन्। उनको यात्रा केवल व्यक्तिगत सफलताको कथा मात्र होइन, परिवर्तनका लागि लड्ने हजारौँ युवाका लागि प्रेरणाको स्रोत बनेको छ । सदैव उत्पीडित वर्गको अधिकार र जनताको न्यायका लागि लडिरहने तिमिल्सिना नेपाली कम्युनिष्ट पार्टीले टिकट दिएपछी जनतासँग साक्षात्कार गर्न पर्वतका दूरदराजका गाउँगाउँ पुगेर स्थानिय जनताको दुखेसो गुनासो सुन्दै आएका छन् ।

Skip This
Skip This
Logo