काठमाडौं
आगामी वैशाख देखि सवारी साधनमा हरियो स्टिकर अनिवार्य हुने भएको छ । यातायात व्यवस्था विभागले वैशाख देखि काठमाडौं उपत्यका लगायत देशभरका महानगरपालिका र उपमहानगरपालिकामा गुड्ने सवारी साधनमा हरियो स्टिकर अनिवार्य गर्न लागेको हो ।
प्रदूषण न्यूनीकरणका लागि सवारी साधनमा जाँच गरी हरियो स्टिकर अनिवार्य गर्न लागिएको विभागले जनाएको छ । यस्तो व्यवस्थाले वातावरण प्रदूषण हुनबाट बच्ने भएकाले प्राथमिकताका साथ हरियो स्टिकर लागू गर्न लागिएको हो । विभागका महानिर्देशक रुपनाराण भट्टराईले भने, ‘सवारी साधनमा वैशाख देखि हरियो स्टिकर लागू गर्न लागिएको छ ।’ उनले दुई पांग्रे बाहेक सबै प्रकारका सवारी साधनमा हरियो स्टिकर अनिवार्य गर्न लागिएको बताए । प्रदूषण जाँचपास गरी हरियो स्टिकर नलिएका सवारीसाधनलाई रोक लगाइने पनि महानिर्देशक भट्टराईले बताए ।
विभागले यस अघि न्युरोड, ठमेल, त्रिभुवन विमानस्थल, दरबारमार्ग, सिंहदरबार आसपासका क्षेत्रमा हरियो स्टिकर अनिवार्य गरेको थियो । सवारीसाधन जाँच्ने मेसिन पर्याप्त नभएका कारण सबै सवारी साधनमा हरियो स्टिकर लागू हुन सकेको थिएन । विभागसँग हाल तीन वटा मात्रै प्रदूषण जाँच गर्ने मेसिन छन् । विभागले हरियो स्टिकर सहरी क्षेत्रमा अनिवार्य गर्न ४० वटा मेसिन खरिदका लागि टेन्डर आह्वान गरिसकेको छ । विभागले उपत्यकाका २० स्थानबाट गर्ने व्यवस्था मिलाउन लागिएको बताइएको छ ।
राजधानीबाट





























प्रतिक्रिया