काठमाडौं । डडेलधुरामा ३४ वर्षदेखि निरन्तर देखिँदै आएको शेरबहादुर देउवाको संसदीय उम्मेदवारी यसपटक अन्त्य भएको छ । पूर्वप्रधानमन्त्री देउवा प्रतिनिधि सभा निर्वाचन नलड्ने भएपछि नेपाली काँग्रेसले डडेलधुराबाट नैनसिंह महरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
कांग्रेस संसदीय बोर्डको बैठकले महरलाई आधिकारिक उम्मेदवार बनाउने निर्णय गरेसँगै डडेलधुरामा कांग्रेसको नेतृत्व पुस्तान्तरणको संकेत देखिएको छ । लामो समयदेखि देउवाको सुरक्षित निर्वाचन क्षेत्रका रूपमा चिनिँदै आएको डडेलधुरा अब नयाँ अनुहारसहित चुनावी प्रतिस्पर्धामा प्रवेश गरेको हो।
नैनसिंह महर देउवा पक्षकै नेता हुन्। विद्यार्थी राजनीतिबाट उदाएका महर नेविसंघको केन्द्रीय अध्यक्ष भइसकेका छन् भने हाल उनी कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका छन्। संगठन र आन्दोलनको अनुभव बोकेका महरलाई देउवाको राजनीतिक विरासत अघि बढाउने पात्रका रूपमा हेरिएको छ ।
देउवाको उम्मेदवारी नहुनु केवल व्यक्ति परिवर्तन मात्र नभई कांग्रेसभित्रको रणनीतिक पुनर्संरचना र आगामी पुस्तालाई जिम्मेवारी हस्तान्तरणको सन्देशका रूपमा पनि विश्लेषण गरिएको छ ।
डडेलधुरामा महरको नेतृत्वमा कांग्रेसले देउवाको पकड जोगाउन कस्तो रणनीति अपनाउँछ भन्ने विषय चासोको केन्द्रमा रहेको छ ।





























प्रतिक्रिया