काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूमाथि राज्यले अत्याचार गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्। निर्वाचनको मनोनयन दर्ताको दिन आज विभिन्न अदालतमा मुद्दाको सुनुवाई परेपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।
पर्सा जिल्ला अदालतमा बयान दिएर निस्कने क्रममा लामिछानेले आफूलाई नियोजित रूपमा घेराबन्दी गरिएको दाबी गरे। “देशभर निर्वाचनको रौनक छ, तर म भने एउटा अदालतबाट अर्को अदालत धाउन बाध्य पारिएको छु,” उनले भने, “म माथि गरिएको अत्याचारका कारण तिमीहरू सब रसातलमा पुग्दै गरेको दृश्य इतिहासले देख्दैछ र लेख्दैछ।”
चितवन-२ मा उनी आफैँ उपस्थित हुने प्रयासमा रहे पनि समय अभाव भएपछि वारेसनामा मार्फत मनोनयन दर्ता गराएका छन् । आफू सहकारीको बाटो नै नहिँडेको व्यक्ति भए पनि गनेरै नसकिने गरी मुद्दा लगाइएको भन्दै उनले सरकार र राजनीतिक विरोधीहरूको कडा आलोचना गरे।
उनले भनेका छन्, “मलाई जिउँदो छोडेर तिमीहरूले एउटा गुण लगाएका छौ। म तिमीहरू सबैको गुण तिर्छु, चाँडै तिर्छु र बिना प्रतिशोध तिर्छु। म फेरि पनि भन्छु, म अभिमन्यु होइन।”





























प्रतिक्रिया