समाजवादको बीउ रुकुम पूर्वबाटै रोपिन्छ : प्रचण्ड

समाजवादको बीउ रुकुम पूर्वबाटै रोपिन्छ : प्रचण्ड

केन्द्रबिन्दु
27
Shares

रुकुम पूर्व । प्रतिनिधि सभा निर्वाचनका लागि रुकुम पूर्वबाट प्रत्यक्ष उम्मेदवार बनेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्वलाई नयाँ समाजवादी आन्दोलनको केन्द्र बनाउने उद्घोष गरेका छन्।

प्रेस सेन्टर नेपाल रुकुम पूर्वले रुकुमकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा दाहालले भने, “समाजवादको कुरा भाषणमा होइन, व्यवहारमा उतार्ने समय आएको छ । त्यसको सुरुवात क्रान्तिको आधार इलाका रुकुम पूर्वबाटै हुन्छ ।”

देशको राजनीतिक परिवर्तन र गणतन्त्र स्थापनामा रुकुमको भूमिकालाई ऐतिहासिक भन्दै दाहालले नयाँ समाजवादी यात्रा रुकुम पूर्वबाटै सुरु भएको बताए । “हिजो क्रान्तिको आगो यहीँबाट बलेको हो, अब विकास र समाजवादको नयाँ मोडेल पनि यहीँबाट उठ्छ,” उनले भने।

दाहालले रुकुम पूर्वलाई सडक, शिक्षा, पर्यटन र कृषि विकासको प्रयोगशाला बनाउने दाबी गर्दै युवा पलायन अन्त्य नगरी समाजवाद सम्भव नहुने स्पष्ट पारे। युवालाई खाडी र मलेसिया धकेल्ने राजनीति अब नचल्ने भन्दै प्रचण्डले रोजगारको सिर्जना हुनेगरी रुकुमपुर्वमा काम गर्ने जिकिर समेत गरे ।

उनले भने, “ यो ऐतिहासिक जिल्ला हो । देशमा गणतन्त्र आउन कसैले रोकेर रोकिदैन भन्ने सन्देश दिने बैठक बसेको चुनबाङ र त्यती बेला पार्टीभित्रको अन्तरसंघर्षलाई क्लाइमेक्स दिएको लाबाङ गाउँहरुलाई विश्वले नै चिन्ने गरेको छ । युद्ध पर्यटनलाई पनि विशेष ध्यानमा राखेर समाजवाद मोडेलको रुपमा विकास गर्ने छौँ । हामी राजनितिक रुपले समाजवादउन्मुख भयौ । विकासको हिसावले हुन सकेका छैनौ । अब भने यहाँको इतिहास, भूगोल, संस्कृति, जातजाती सबैको जनभावनामा आधारित विकासको मोडेललाई अंगालेर अगाडि बढ्ने छौ ।”

पछिल्ला वर्षमा सहिदका सपना ओझेलमा परेको स्वीकार गर्दै दाहालले सहिद, बेपत्ता, घाइते र अपाङ्ग परिवारको न्याय र सम्मानका लागि यो चुनाव निर्णायक हुने बताए ।

जेन्जी आन्दोलनपछि देश संकटमा धकेलिएको उल्लेख गर्दै उनले संकट समाधानमा आफ्नो पार्टी नै अग्रपंक्तिमा उभिएको दाबी गरे।

Logo