काठमाडौं । केन्द्रबिन्दु बुलेटिनमा हामीले दैनिक पाँच वटा समाचार प्रस्तुत गर्ने गर्छाै । आजका प्रमुख पाँच समाचारहरुमध्ये मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण आगामी महिनाभित्रमा गरिने भएको छ । गत असार महिनामा भएको परीक्षणका क्रममा दुर्घटना भएपछि सुरुङमा रहेका त्रुटि सच्याएर पुनः परीक्षण गर्न लागिएको छ । खानेपानी मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार त्रुटि सच्याउने काम मङ्सिरको दोस्रो सातासम्म सकिने छ ।
त्यस्तै कतार विश्वकप छनोटअन्तर्गत नेपालले प्रतिस्पर्धा गरिरहेको फिफा विश्वकप छनोट र एशियन कप छनोटका बाँकी खेलहरु सन् २०२१ को जुन महिनाभित्र सकिने भएको छ । एशियाली फुटबल महासंघ (एएफसी) ले विश्वकप र एशियन कप छनोटका बाँकी खेलहरु जुन १५ सम्म सकिने जनाएको हो ।
सरकारले फजुल खर्च नियन्त्रण गर्न नयाँ मापदण्ड जारी गरेको छ । मापदण्डले कोभिड–१९ को संक्रमण रोकथामका लागि अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी बाहेक सार्वजनिक निकायमा कार्यरत पदाधिकारी वा कर्मचारीलाई साविकमा प्रदान गरिंदै आएको विभिन्न प्रकारका भत्ता कटौती गरिएको हो ।
त्यस्तैगरी अमेरिकाका लागि प्रस्तावित राजदूत डा. युवराज खतिवडाले एमसीसी संशोधनका विषयमा अमेरिकी सरकारसँग कुरा राख्ने बताएका छन् । संसदीय सुनुवाईका क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै डा. खतिवडाले एमसीसीका विषयमा उठेका विषयहरुमा छलफल गर्न र थप स्पष्ट पार्न अमेरिकी सरकार तयार रहेकाले संशोधन आवश्यक रहेका विषयमा पनि कुरा राख्ने बताएका हुन् ।
सुदूरपश्चिम प्रदेश सरकारले कृषि अनुसन्धान, प्रसार र शिक्षा केन्द्र बनाउने भएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ५ आइबिआरडी बजार नजिक रहेको राष्ट्रिय आवास कम्पनीका नामको ७४ बिघा जमिनमा कृषि अनुसन्धान, प्रसार र शिक्षा केन्द्र स्थापनाको प्रक्रिया सुरु भएको हो । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..































प्रतिक्रिया