चितवन । जिल्लामा सुन्तलाखेती गर्ने किसानले राम्रो मूल्य पाएपछि उत्साहित भएका छन्। विगतको तुलनामा यस वर्ष सुन्तलाले राम्रो मूल्य पाएपछि किसान उत्साहित भएका हुन् । जिल्लाको इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिका– २९ मा सुन्तला खेती हुँदै आएको छ।
इच्छाकामना गाउँपालिका–५ का किसान रामप्रसाद बोहोरा अहिले गत वर्षको तुलनामा सुन्तलाको मूल्य राम्रो पाएपछि खुसी छन्। उनले भने “गत वर्षको तुलनामा यसवर्ष किसानले सुन्तलाको मूल्य पाएका छौं, खुसी छौँ।” गत वर्षमा मूल्य नपाउँदा निकै समस्या हुने गरेको भए पनि यसवर्ष बोटबाटै प्रतिकिलो रु १०० भन्दा बढीमा बिक्री हुँदै आएको उनले बताए।
किसानले अहिले सुन्तलालाई ग्रेडिङ्ग (वर्गीकरण) गरेर बिक्री वितरण गर्दै आएको उनले बताए। उनले भने “आफ्नो वडाले मात्रै सुन्तलाबाट रु ६० लाख हाराहारी कमाएको छ । अझै सुन्तला बिक्री गर्न बाँकी छ ।” कतिपय किसानले पहिले नै बिक्री गरिसकेका छन् भने कतिपयको अझै बिक्री गर्न बाँकी रहेको उनले बताए। माघ १५ गतेसम्ममा उत्पादित सुन्तला बिक्री भइसक्ने उनले बताए।
यस्तै भरतपुर महानगरपालिका–२९ चौकिडाँडाका किसान हिक्मत चेपाङ् अहिले सुन्तलाको मूल्य राम्रो पाएको भन्दै खुसी हुनुहुन्छ। उनीहरुले चेपाङ कृषि समूह बनाएर समूहका सदस्यहरुले व्यावसायिक रुपमा सुन्तलाखेती गर्दै आउनु भएको छ। उनले भने “हामी सबैले धेरै थोर क्षेत्रफलमा सुन्तला खेती गरेका छौँ। मूल्य पाएको छ। खुसी छौँ।” अहिले किसानको बारीबाटै व्यवसायीले सुन्तला उठाउने गरेको उनले बताए। प्रतिकिलो रु १०० भन्दा बढीमा सुन्तला बिक्री भएको उनले बताए।
सुन्तलामा विषादी हाल्दा धेरै बचाउन सकिने तर प्राङ्गारिक उत्पादन गर्दा कम बच्ने भएकाले केही समस्या भएपनि अहिले मूल्य पाएकाले आफूहरु उत्साहित भएको उनको भनाई छ। इच्छाकामना गाउँपालिका कृषि अधिकृत समीक्षा पौडेल व्यावसायिक किसानले सुन्तालालाई ग्रेडिङ्ग गरेर बिक्री गर्दै आएको बताउँछन्। उनका अनुसार सानो, मझौला र ठूलो गरेर छुट्याएर बिक्री गर्दै आएको छ। यसरी ग्रेडिङ् गरेर बिक्री गर्दा किसानले उचित मूल्य पाउन सफल भएको उनले बताए।
इच्छा कामना गाउँपालिकामा मात्रै यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ। उनका अनुसार ९२ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिँदै आएको यस क्षेत्रमा यो वर्ष एक हजार २.८ मेट्रिकटन सुन्तला उत्पादन भएको छ। उनले भने “गत वर्षको तुलनामा यो वर्ष सुन्तला उत्पादन घटेको छ ।” गत वर्ष एक हजार १२० मेट्रिकटन सुन्तला उत्पादन भएको उनले जानकारी दिए।
सुन्तलाका रुख बुढो हुनु र जलवायु परिवर्तनका कारण रोग लाग्दा उत्पादनमा कमी आए पनि किसानले मूल्य भने राम्रो पाएका हुन् । पौडेलका अनुसार इच्छाकामना गाउँपालिकामा आर्थिक वर्ष २०७९÷८० मा १०८० मेट्रिक टन उत्पादन भएको थियो । २०८०÷८१ मा केही उत्पादन घटेर १०३६ मेटिक टन उत्पादन भएको थियो । २०८१÷८२ मा ११२० मेट्रिकटन र २०८२÷८३ मा १००२।८ मेट्रिक टन उत्पादन भएको उनले जानकारी दिए।
गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ यहाँको सुन्तलाको स्वाद मिठो भएका कारण बजार पाउन गाह्रो छैन । उनले भने “यहाँको सुन्तलाको स्वाद राम्रो भएकाले नारायणगढ, मुग्लिन, फिस्लिङ, काठमाडौँ र पोखरामा माग उच्च छ। व्यवसायी बगैँचामै आएर खरिद गर्छन्।” इच्छाकामनामा सुन्तला खेतीको सम्भावना प्रचुर रहेको भन्दै उनले गाउँपालिका सुन्तलाखेती प्रवद्र्धनमा लागिरहेको बताए। उनले बीउबाट उत्पादित बिरुवा किसानलाई निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको बताउँछन्।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्र बस्नेत सन्तुलाका बोटमा लाग्ने रोग नियन्त्रणका लागि जैविकि औषधि, पुराना बोट हटाएर नयाँ बिरुवा रोप्ने कार्यक्रम, किसानलाई थप तालिम र अनुदान जस्ता कार्यक्रम गाउँपालिकाले अघि सारेको बताउँछन्। उनले भने “कृषि एम्बुलेन्सको व्यवस्था गरेर सुन्तला लगायतका कृषि उपजलाई बजारसम्म पुर्याउन पालिकाले सहयोग गर्दै आएको छ।”
कृषि विकास कार्यालय चितवनकी अधिकृत स्वस्तीका चौहान जिल्लामा सुन्तला उत्पादन राम्रो भएपछि उचित मूल्य पाएको बताउँछन्। १४५ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती हुँदै आएको बताउँदै उनले अहिले किसान सन्तुष्ट भएको बताए।
अझै केही ठाउँको उत्पादन टिप्न बाँकी रहेकाले यस वर्षको उत्पादन कति भन्न सक्ने अवस्थामा नरहेको उनको भनाई छ। भरतपुर महानगरपालिका–२९ को विभिन्न स्थानमा अझै सुन्तला टिप्न बाँकी रहेको छ।





























प्रतिक्रिया