इक्यान नेतृत्वलाई निरञ्जन पन्तको खुला पत्र

इक्यान नेतृत्वलाई निरञ्जन पन्तको खुला पत्र

केन्द्रबिन्दु
186
Shares

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का नव–निर्वाचित अध्यक्ष लक्ष्मण पौडेल (एन्ड्र्यु)लाई साधारण सदस्य निरञ्जन पन्तले ३० बुँदे खुला पत्र लेखेका छन्। अध्यक्ष पौडेललाई निर्वाचनमा समर्थन गरेका पन्तले संस्थागत सुधार, पारदर्शिता, सदस्य–केन्द्रित सुशासन र शैक्षिक परामर्श उद्योगको विश्वसनीयता अभिवृद्धिका विषयमा विस्तृत सुझाव प्रस्तुत गरेका हुन्। युक्यान कन्सल्टेन्सीका सञ्चालकसमेत रहेका पन्तले खुला पत्रमार्फत इक्यानलाई व्यावसायिक, उत्तरदायी र दीर्घकालीन रूपमा सशक्त संस्थाको रूपमा अघि बढाउन आग्रह गरेका छन्।

यस्तो छ खुल्ला पत्र

नव–निर्वाचित इक्यान अध्यक्षज्यूलाई एक साधारण सदस्यको खुला पत्र
श्रद्देय नव–निर्वाचित अध्यक्षज्यू,

सर्वप्रथम, इक्यानको अध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।

तपाईंप्रति इक्यानका साधारण सदस्यहरूमा रहेको विश्वास, आसा र अपेक्षालाई सम्मान गर्दै तपाईंको नेतृत्वकालमा इक्यानको संरचनागत र संस्थागत सुधार हुने विश्वास व्यक्त गर्दछु। मैले इक्यान आगामी दिनमा थप पारदर्शि, व्यावसायी र सशक्त बन्दै सदस्य–केन्द्रित सुशासनतर्फ समर्पित हुनेछ भन्ने विश्वास लिएको छु। एक साधारण तर जिम्मेवार सदस्यको रूपमा मैले केहि विषय दृष्टिगत गर्दै तल बुदागत रूपमा उल्लेख गरेको छु। जुन आगामी दिनहरूमा इक्यानको संस्थागत वृत्ति विकासमा टेवा पुग्ने विश्वास लिएको छु।

इक्यानको बृहत्तर विकासलाई ध्यानमा राख्दै यस संस्थाको नयाँ नेतृत्वले गर्नुपर्ने केही महत्वपूर्ण कामका सन्दर्भमा मेरा केही विचार, सुझाव र अपेक्षाहरू यस खुला पत्रमार्फत इक्यान नयाँ कार्यसमिति समक्ष प्रस्तुत गरेको छु। यी सुझावहरू व्यक्तिगत स्वार्थभन्दा माथि उठेर इक्यानको दीर्घकालीन हित, सदस्यहरूको सम्मान, विद्यार्थी तथा अभिभावकको संरक्षण र सम्पूर्ण शैक्षिक परामर्श उद्योगको विश्वसनीयता अभिवृद्धि गर्ने उद्देश्यले राखिएका हुन्।

१. इक्यानको कार्यालय तथा प्रशासनिक क्षमता:
शैक्षिक परामर्शदाताहरूको साझा संस्था इक्यान आज एउटा महत्त्वपूर्ण मोडमा उभिएको छ। संस्थाको नाम, इतिहास र जिम्मेवारीलाई हेर्दा, अब यसले आफूलाई अझ व्यवस्थित, सशक्त र विश्वसनीय रूपमा प्रस्तुत गर्न ढिलाइ गर्न नहुने समय आएको अनुभूति हुन्छ। मेरो व्यक्तिगत धारणा अनुसार, इक्यानको कार्यालय आफैंले संस्थाको स्तर, गरिमा र सोच प्रतिबिम्बित गर्न सक्नुपर्छ। कार्यालय केवल एउटा कोठा मात्र होइन, त्यो संस्थाको अनुहार हो, जहाँबाट यसको संस्कार, व्यावसायिकता र सम्मान झल्किन्छ।

यदि इक्यान राम्रो स्थानमा रहेको, व्यावसायिक र सहज पहुँचयोग्य कार्यालयबाट सञ्चालन भयो भने, त्यहाँ पाइला टेक्ने प्रत्येक सदस्यले अपनत्व महसुस गर्नेछन्। कार्यालय प्रयोजनका लागि छुट्टै कक्ष, कार्यकारी समिति सदस्य र आमन्त्रित अतिथिहरूलाई सहज रूपमा बस्न मिल्ने व्यवस्थित बैठक कक्ष र दूतावास, उच्चायोग, विश्वविद्यालय तथा अन्य महत्वपूर्ण सरोकारवालाका प्रतिनिधिहरूलाई स्वागत गर्न सकिने वातावरण बनाउनु आजको आवश्यकता हो। साना तर महत्वपूर्ण पक्षहरू, जस्तै पार्किङ सुविधा, प्रविधिमैत्री सुविधासम्पन्न कार्यक्रम हल लगायका पूर्वाधार निर्माण गर्नुपर्छ। हालको कार्यालय संरचनाले समन्वय, संस्थागत पहिचान र सेवा प्रवाहमा अपेक्षित प्रभाव पार्न नसकेको अनुभूति मलाई पनि भएको छ। त्यसैले कार्यालय स्थानान्तरणको सम्भावनालाई भावनात्मक नभई दीर्घकालीन हितका दृष्टिले हेर्नुपर्ने समय आएको छ। तर कुरा केवल भवनको मात्र होइन। सक्षम, व्यावसायिक र जवाफदेही कर्मचारीबिना कुनै पनि संस्था बलियो बन्न सक्दैन। स्पष्ट जिम्मेवारी, नियमित तालिम र निष्पक्ष कार्यसम्पादन मूल्याङ्कनमार्फत प्रशासनिक संयन्त्रलाई मजबुत बनाउन सकेमा, इक्यानको काम गर्ने शैलीमै परिवर्तन आउन सक्छ। यदि सचिवालयलाई यसरी सुदृढ र स्रोतसाधनयुक्त बनाइयो भने, आन्तरिक तथा बाह्य सञ्चार सहज हुनेछ, सदस्यहरूलाई प्रदान गरिने सेवाको गुणस्तरमा सुधार आउनेछ, र निर्णयहरू कागजमै सीमित नभई समयमै कार्यान्वयन हुनेछन्।

सबैभन्दा महत्वपूर्ण कुरा, यसले इक्यानलाई आफ्ना सदस्यहरूको हितलाई साँच्चै केन्द्रमा राख्ने, भरोसायोग्य र सम्मानित संस्थाका रूपमा स्थापित गर्न मद्दत गर्नेछ। यही रूपको इक्यानम देख्न चाहन्छु, जहाँ सदस्यहरू केवल नामका लागि होइन, गर्वका साथ आबद्ध भएको महसुस गर्न सकून्।

२. संस्थागत ड्रेस कोड र प्रतिनिधित्व:
इक्यानको नाम उच्चारण गर्दा जुन गम्भीरता र जिम्मेवारीको अनुभूति हुनुपर्छ, त्यो केवल नीति र निर्णयबाट मात्र होइन, संस्थाको बाहिरी प्रस्तुतिबाट पनि झल्किनु जरुरी छ। संस्थागत छवि निर्माणमा धेरै कुराहरूले भूमिका खेल्छन्, तर तीमध्ये एउटा सानो देखिने तर गहिरो प्रभाव पार्ने पक्ष भनेको व्यावसायिक ड्रेस कोड हो। जब केन्द्रीय वा शाखा बोर्डका सदस्यहरू कुनै बोर्ड बैठक, शाखा भ्रमण, दूतावास, उच्चायोग वा मन्त्रालयसँगको भेटघाटमा उपस्थित हुन्छन्, उनीहरूको पहिरनले नै पहिलो सन्देश दिन्छ यो संस्था कत्तिको अनुशासित, जिम्मेवार र गम्भीर छ भन्ने। यदि एउटै मापदण्डको, औपचारिक र संस्थागत पहिचान झल्काउने ड्रेस कोड अपनाइयो भने, इक्यानको प्रतिनिधित्व स्वतः नै अझ व्यवस्थित र प्रभावकारी बन्नेछ भन्ने अनुभूति मलाई हुन्छ।

मलाई थाहा छ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कार्यक्रममा एउटै शैली र मापदण्डको पोशाकमा देखिँदा, इक्यान केवल व्यक्तिहरूको समूह होइन, एउटा एकीकृत संस्था हो भन्ने सन्देश स्पष्ट रूपमा जान्छ। यही मापदण्ड केन्द्रीय र शाखा दुवै तहमा समान रूपमा लागू हुँदा, संस्थाभित्र एकरूपता, अनुशासन र आपसी समन्वयको भावना अझ बलियो बन्न सक्छ। स्पष्ट र व्यवस्थित ड्रेस प्रोटोकलले इक्यानको संस्थागत पहिचानलाई मात्र होइन, यसको आत्मविश्वासलाई पनि मजबुत बनाउँछ। सरकारी निकाय, कूटनीतिक मिसन र अन्तर्राष्ट्रिय साझेदारहरूसँग संवाद गर्दा, यस्तो व्यावसायिक प्रस्तुति सम्मान र विश्वासको आधार बन्न सक्छ। देख्दा सानो लाग्ने यो विषय वास्तवमा संस्थाको संस्कार र सोचको प्रतिविम्ब हो।

३. योग्यता र क्षमतामा आधारित जिम्मेवारी वाडफाड र नेतृत्वको उत्तरदायित्व:
संस्था बलियो बन्न नेतृत्वको शैली मात्र होइन, नेतृत्व चयनको प्रक्रिया पनि उत्तिकै विश्वसनीय र प्रेरणादायी हुनुपर्छ भन्ने मेरो व्यक्तिगत बुझाइ हो। ECAN जस्तो साझा संस्थामा जिम्मेवारी कसरी बाँडिन्छ भन्ने कुराले संस्थाको भविष्यको दिशा नै तय गर्छ। यही सन्दर्भमा, प्रत्येक कार्यकालको सुरुवातमा अध्यक्षले संस्थालाई प्रभावकारी रूपमा अघि बढाउन आवश्यक जिम्मेवारीहरू र विभागीय संरचना स्पष्ट रूपमा चित्रण गर्ने अभ्यास निकै अर्थपूर्ण हुन सक्छ भन्ने लाग्छ।

मलाई लाग्छ, यदि यी जिम्मेवारीहरू इक्यानका दीर्घकालीन लक्ष्य, रणनीतिक सोच र दैनिक सञ्चालनका यथार्थ आवश्यकतासँग जोडेर तय गरिए भने, संस्थाको काम गर्ने शैली स्वाभाविक रूपमा परिणाममुखी बन्दै जान्छ। कुनै बोर्ड सदस्यले कुनै विशेष विभागीय वा कार्यकारी भूमिका सम्हाल्ने इच्छा राख्नुभयो भने, त्यसलाई औपचारिक आवेदन प्रक्रियामार्फत अगाडि बढाउने व्यवस्था पारदर्शिताको राम्रो उदाहरण हुन सक्छ। त्यस्तो आवेदनमा अद्यावधिक बायोडाटा र आफूले जिम्मेवारी पाउने विभागलाई कसरी व्यवस्थित, सुदृढ र प्रभावकारी बनाउने भन्ने स्पष्ट दृष्टिकोण समेटिएको लिखित योजना हुनुले निर्णयलाई अझ सार्थक बनाउँछ।

एउटै जिम्मेवारीका लागि दुई वा सोभन्दा बढी आकांक्षी देखिँदा, स्वतन्त्र र निष्पक्ष प्यानलमार्फत संरचित अन्तर्वार्ता प्रक्रिया अपनाइनु न्यायोचित विकल्प जस्तो लाग्छ। यस प्रक्रियाले उम्मेदवारको क्षमता, अनुभव, नेतृत्व गुण र संस्थागत मूल्यसँगको मेललाई गहिराइमा बुझ्न मद्दत गर्न सक्छ। यस्तो अभ्यासले पद र जिम्मेवारी व्यक्तिगत पहुँच, वरिष्ठता वा राजनीतिक समीकरणको आधारमा होइन, योग्यता, प्रतिबद्धता र स्पष्ट दृष्टिकोणको आधारमा प्राप्त हुने संस्कार बसाल्न सक्छ। यदि नेतृत्व भूमिकाहरू यसरी छनोट हुन थाले भने, इक्यानभित्र निष्पक्षता, उत्तरदायित्व र व्यावसायिकताको संस्कृति बलियो बन्दै जान्छ।

सबैभन्दा महत्वपूर्ण कुरा, यसले साधारण सदस्यदेखि सरोकारवाला निकायसम्म एक साझा सन्देश पुर्‍याउँछ, संस्थाको नेतृत्व सक्षम, योग्य र दृष्टिवान व्यक्तिहरूको हातमा छ। यही विश्वास नै कुनै पनि संस्थाको दीर्घकालीन शक्ति हो भन्ने मेरो गहिरो अनुभूति हो।

४. साधारण सदस्य केन्द्रीत बोर्ड बैठक (खुला, पारदर्शी र प्रत्यक्ष):
संस्था बलियो बनाउने हो भने साधारण सदस्यलाई संस्थागत निर्णयबारे अपनत्व लिनका लागि बैठकको लिंक र कोड सेयर गर्न सकिन्छ। अब इक्यानका कुनै पनि निर्णय बन्द कोठाभित्र हुनुहुँदैन। यही सन्दर्भमा, इक्यानका बोर्ड बैठकहरूलाई अझ खुला, पारदर्शी र अवलोकनयोग्य बनाउने विषयमा गम्भीर रूपमा सोच्न सकिने देखिन्छ।

मेरो बुझाइमा, संवेदनशील विषयहरू बाहेकका अधिकांश बोर्ड बैठकहरू सुरक्षित भर्चुअल प्लेटफर्ममार्फत सबै दर्ता भएका सदस्यहरूका लागि पहुँचयोग्य बनाइएमा, संस्थाभित्रको विश्वास र पारदर्शिता दुवै मजबुत बन्न सक्छन्। यदि यस्ता बैठकहरूमा सहभागी हुन आवश्यक लगइन विवरणहरू अग्रिम रूपमा सदस्यहरूलाई उपलब्ध गराइयो भने, सदस्यहरू इक्यानभित्र भइरहेका मुख्य छलफल, बहस र निर्णय प्रक्रियाबारे प्रत्यक्ष रूपमा जानकार रहन सक्नेछन्। यसले “निर्णय कसरी भयो?” भन्ने प्रश्नभन्दा “निर्णयमा हामी पनि साक्षी थियौँ” भन्ने अनुभूति सिर्जना गर्न सक्छ। यसका साथै, बोर्डमा प्रत्यक्ष रूपमा समावेश नभएका सीमित संख्याका इक्यान सदस्यहरूलाई बैठकमा ‘अवलोकक’को रूपमा प्रत्यक्ष उपस्थित हुन दिने अभ्यास पनि उपयोगी देखिन्छ।

यस्तो अवसर इमेलमार्फत पूर्व अनुरोधका आधारमा, पालैपालो प्रणाली अपनाएर प्रदान गरिएमा निष्पक्षता कायम रहन सक्छ। जबसम्म अवलोककका स्थान खाली हुँदैनन्, एउटै सदस्यलाई पटक–पटक अवसर नदिने स्पष्ट मापदण्ड अपनाइएमा यसले सबैलाई समान अवसरको अनुभूति दिनेछ।

सदस्यहरूले बैठकको क्रममा कुनै छलफल, मतदान वा निर्णय प्रक्रियामा सहभागिता नजनाउने र मौन रूपमा बैठक अवलोकन गर्ने स्पष्ट व्यवस्था रहनु उपयुक्त देखिन्छ। तर, बैठकपछि उनीहरूलाई आफ्ना सुझाव, प्रतिक्रिया वा अवलोकन लिखित रूपमा प्रस्तुत गर्ने अवसर दिन सकिएमा मात्र उक्त बैठकको उपयोगिता स्पष्ट हुन्छ। यस्ता सुझावलाई बोर्डले आवश्यक ठानेमा विचार गर्ने लचकता पनि राख्न सक्छ।

मेरो सुझावका रूपमा, इक्यानका हरेक बैठकका मिनेट्स साधारण सदस्यहरूलाई समयमै पठाइने व्यवस्था गर्न सकिएमा पारदर्शिता र विश्वास अझ बलियो बन्ने देखिन्छ। यससँगै, इक्यानले साप्ताहिक वा मासिक न्यूजलेटर तयार गरी इमेल, वेबसाइट वा डिजिटल पोर्टलमार्फत सदस्यहरूलाई नियमित रूपमा पहुँच उपलब्ध गराएमा संस्थाभित्र भइरहेका गतिविधि, निर्णय, नीति र आगामी कार्यक्रमबारे सबै सदस्यहरू सजिलै जानकारीमा रहन सक्नेछन्। यस प्रकारको नियमित सूचना प्रवाहले सदस्य–संलग्नता बढाउने, आन्तरिक सञ्चार सुदृढ गर्ने र इक्यानलाई अझ खुला, जवाफदेही र सदस्य–केन्द्रित संस्थाका रूपमा विकास गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्न चाहन्छु।

मेरो विचारमा, यस किसिमको अभ्यासले इक्यानभित्र खुलापन र उत्तरदायित्वलाई मात्र होइन, नेतृत्व र सदस्यबीचको दूरीलाई पनि कम गर्नेछ। साधारण सदस्यहरूलाई संस्थाको निर्णय प्रक्रिया नजिकबाट बुझ्ने अवसर मिल्नेछ भने, भविष्यमा नेतृत्वमा आउन चाहने सदस्यहरूका लागि बोर्डस्तरका छलफल, निर्णय प्रक्रिया र संस्थागत जिम्मेवारीबारे प्रत्यक्ष अनुभूति लिन सक्ने एउटा महत्वपूर्ण पाठशाला बन्न सक्छ।

५. उच्चस्तरीय बैठकहरूमा निष्पक्ष र सन्तुलित प्रतिनिधित्व:

सस्थाले बाहिरी संसारसँग कसरी आफूलाई प्रस्तुत गर्छ भन्ने कुराले नै त्यसको विश्वसनीयता र परिपक्वता मापन हुने मेरो विश्वास छ। यही सन्दर्भमा, दूतावास, उच्चायोग, मन्त्रालय तथा अन्तर्राष्ट्रिय प्रतिनिधिमण्डलहरूसँग हुने औपचारिक बैठकहरूमा सहभागी छनोटको प्रक्रिया पनि इक्यानको मूल्य र संस्कार बोल्ने माध्यम बन्न सक्छ भन्ने मेरो व्यक्तिगत धारणा हो। मेरो बुझाइमा, यस्ता उच्चस्तरीय बैठकहरूमा सहभागी चयन गर्दा पारदर्शी र सन्तुलित ६०/४० प्रतिनिधित्व संरचना अपनाइयो भने, नेतृत्व र साधारण सदस्यबीचको दूरी कम हुँदै जान सक्छ। यस संरचनाअनुसार ६० प्रतिशत सहभागिता केन्द्रीय समिति तथा शाखा समितिका सदस्यहरूबाट हुने र बाँकी ४० प्रतिशत सहभागिता साधारण सदस्यहरूबाट सुनिश्चित गरिनु संस्थागत रूपमा सन्तुलित देखिन्छ।

जहाँ शाखा समितिको प्रतिनिधित्व आवश्यक हुन्छ, त्यहाँ व्यक्तिको पहुँच वा निकटताभन्दा पनि खुला र पारदर्शी लटरी प्रणालीमार्फत छनोट गरिएमा, सबैलाई समान अवसर मिल्ने अनुभूति हुनेछ। छनोटमा परेका सदस्य कुनै कारणवश उपस्थित हुन नसकेमा, अर्को योग्य सदस्य स्वतः समावेश हुने व्यवस्था पनि व्यवहारिक देखिन्छ।

साधारण सदस्यहरूको हकमा पनि यही निष्पक्ष लटरी प्रणाली अपनाइएमा, संस्थाभित्र समावेशिताको भावना अझ बलियो बन्न सक्छ। यस क्रममा काठमाडौँ उपत्यकाभित्रका र उपत्यकाबाहिर कार्यरत सदस्यहरूबीच सन्तुलन कायम गर्ने विषयलाई विशेष रूपमा ध्यानमा राख्न सकिएमा, इक्यान साँच्चिकै राष्ट्रिय संस्थाको रूपमा प्रस्तुत हुन सक्छ। मेरो दृष्टिमा, यस किसिमको अभ्यासले एउटै अनुहार बारम्बार उच्चस्तरीय बैठकहरूमा देखिने परम्परालाई तोड्नेछ र नेतृत्व तथा साधारण सदस्य दुवैलाई प्रतिनिधित्वको समान अवसर दिनेछ।

अझ महत्वपूर्ण कुरा, राष्ट्रिय र अन्तर्राष्ट्रिय सरोकारवालासँग संवाद गर्दा इक्यानले निष्पक्षता, विविधता र सामूहिक प्रतिनिधित्वको परिपक्व उदाहरण प्रस्तुत गर्न सक्नेछ। यही नै संस्थागत विश्वास निर्माण गर्ने मौन तर प्रभावकारी उपाय हो भन्ने मेरो धारणा हो।

६. शैक्षिक गन्तव्य अनुसारको डेटाबेस प्रणालीको विकास:
इक्यान भित्र लुकेको सबैभन्दा ठूलो शक्ति भनेको उसका सदस्यहरूको अनुभव र विशेषज्ञता हो। तर त्यो शक्ति सही रूपमा चिनिन र प्रयोग हुन सकेको छैन। यही सन्दर्भमा, सदस्यहरूलाई उनीहरूलाई सक्रिय रूपमा प्रतिनिधित्व गर्ने अध्ययन गन्तव्य देशका आधारमा वर्गीकृत गरी एक व्यवस्थित, देश विशेष डेटाबेस तयार गर्ने अभ्यासतर्फ इक्यानले सोच्न सक्छ भन्ने मेरो धारणा हो।

यदि यस्तो डेटाबेस बनाइयो भने, कुन देशसँग सम्बन्धित विषयमा कुन सदस्यसँग व्यावहारिक अनुभव र ज्ञान छ भन्ने कुरा सहजै पहिचान गर्न सकिनेछ। दूतावास, विश्वविद्यालय, वा अन्य सरोकारवालासँग हुने देश विशेष बैठक, प्रतिनिधिमण्डल वा छलफलहरूमा त्यसै देशसँग काम गर्ने सदस्यहरूलाई प्राथमिकता दिन सकिने आधार तयार हुनेछ।

यसले छलफललाई अझ सार्थक र परिणाममुखी बनाउन सहयोग पुर्‍याउनेछ। तर प्राथमिकता भनेको पहुँच वा नजिकपनको नाममा सीमित व्यक्तिहरूलाई बारम्बार अवसर दिने माध्यम बन्नु हुँदैन भन्ने मेरो ठम्याइ छ।

त्यसैले सहभागी छनोट पूर्ण रूपमा पारदर्शी र निष्पक्ष रहोस् भन्ने उद्देश्यले लटरी प्रणाली अपनाउनु उपयुक्त देखिन्छ। यसले व्यक्तिगत प्रभाव, सम्बन्ध वा पक्षपातको सम्भावनालाई न्यून गर्दै सबैलाई समान अवसरको अनुभूति दिलाउनेछ। मेरो बुझाइमा, एक पटक कुनै सदस्यलाई कुनै विशेष देश सम्बन्धी बैठक वा कार्यक्रममा सहभागी गराइसकेपछि, त्यही श्रेणीका अन्य योग्य सदस्यहरूले अवसर नपाउँदासम्म सोही सदस्यलाई पुनः चयन नगर्ने घुम्ती प्रणाली अपनाइएमा संस्थागत न्याय झन् बलियो हुनेछ। यस्तो अभ्यासले केही सीमित अनुहारहरू मात्र सधैं प्रतिनिधित्वमा देखिने संस्कारलाई तोड्नेछ र व्यापक सदस्य सहभागितालाई प्रोत्साहन गर्नेछ।

अन्ततः, यस किसिमको प्रणालीले इक्यानभित्र रहेको सामूहिक विशेषज्ञतालाई अगाडी ल्याउनेछ भने समावेशिताको भावना बलियो बनाउने र संस्थालाई अझ सुदृढ, परिपक्व र विश्वसनीय बनाउनेछ भन्ने मेरो विश्वास हो।

७. सदस्यता विस्तारमा मापढण्ड निर्धारण:
इक्यानको भविष्य संस्थाको आकारमा मात्र होइन, यसको चरित्र र मूल्यमा निर्भर गर्छ भन्ने मेरो व्यक्तिगत विश्वास हो। सदस्य संख्या बढ्नु आफैंमा सकारात्मक संकेत हो, तर त्यो वृद्धि संस्थाको व्यावसायिक मापदण्ड, नैतिकता र विश्वसनीयतामा सम्झौता गरेर हुनु हुँदैन। यही सन्तुलन कायम राख्ने विषयमा अब इक्यानले गम्भीर रूपमा सोच्नुपर्ने समय आएको जस्तो लाग्छ। मेरो धारणा अनुसार, नयाँ संस्थाहरूलाई सिधै पूर्ण सदस्यता दिनुभन्दा प्रारम्भिक रूपमा एशाेसिएट मेम्बरसिपको अवधारणा अपनाउनु उपयुक्त देखिन्छ।

यसले इक्यानमा प्रवेश गर्ने संस्थालाई सिक्ने, आत्मसात् गर्ने र आफूलाई प्रमाणित गर्ने समय दिन्छ। एशाेसिएट अवधिमा सम्बन्धित संस्थाले इक्यानले तोकेका अनिवार्य तालिम कार्यक्रमहरू पूरा गरेको छ कि छैन, नियामक तथा नैतिक मापदण्डको पालना गरेको छ कि छैन, र संस्थाको आचारसंहिताप्रति कत्तिको प्रतिबद्ध छ भन्ने विषयमा नियमित मूल्याङ्कन गर्न सकिन्छ। कम्तीमा दुई वर्षको एशाेसिएट अवधि पूरा गरेपछि मात्र, कार्यसम्पादन सन्तोषजनक रहेको, सबै तालिम पूरा गरिएको, र आचारसंहिता तथा नियमको पालना प्रमाणित भएको अवस्थामा फूल मेम्बरसिप प्रदान गर्ने व्यवस्था संस्थागत रूपमा अझ परिपक्व र सुरक्षित हुनेछ भन्ने मेरो बुझाइ हो।

यस अवधिमा एशाेसिएट सदस्यहरूलाई मतदान अधिकार नदिने व्यवस्था राखिएमा, सदस्यता प्रक्रियालाई अझ जिम्मेवार र उद्देश्यपूर्ण बनाउन सहयोग पुग्नेछ। यसका साथै, यसले निर्वाचनको समयमा अनावश्यक राजनीति गर्ने, वा व्यक्तिगत फाइदाका लागि सदस्यता वितरण गर्ने प्रवृत्तिलाई क्रमशः निरूत्साहित गर्दै लैजानेछ भन्ने मेरो विश्वास छ। यस किसिमको संरचित सदस्यता प्रणालीले इक्यानको प्रतिष्ठा जोगाउने मात्र होइन, पारदर्शिता र निष्पक्षतालाई संस्थागत बनाउनेछ। साथै, अल्पकालीन स्वार्थ वा निर्वाचन केन्द्रित उद्देश्यका लागि सदस्यता विस्तार गर्ने प्रवृत्तिलाई पनि नियन्त्रण गर्न सकिनेछ। अन्ततः, यसले इक्यानलाई संख्यामा मात्र होइन, गुणस्तर, विश्वास र नैतिकतामा पनि बलियो संस्थाका रूपमा अगाडि बढाउने आधार तयार गर्नेछ भन्ने मेरो दृढ विश्वास छ।

८. निश्पक्ष, स्वतन्त्र र सदस्य प्रति उत्तरदायी विभाग:
इक्यानको व्यावसायिक स्तर, पारदर्शिता र निष्पक्षतालाई दीर्घकालीन रूपमा मजबुत बनाउन संस्थाभित्रै दुईवटा पूर्ण रूपमा स्वतन्त्र र व्यावसायिक ढंगले सञ्चालित संरचनाहरू आवश्यक देखिन थालेका छन्। मेरो व्यक्तिगत धारणा अनुसार, अब एक स्वतन्त्र तालिम विभाग र अर्को अनुगमन तथा मुल्याङ्कन विभाग स्थापना गर्ने विषयमा गम्भीर र संस्थागत छलफल सुरु हुनुपर्ने समय आएको छ। यी दुवै इकाइहरूलाई बोर्ड संरचनाबाट स्पष्ट रूपमा अलग राखेर सञ्चालन गरिएमा मात्र निष्पक्षता, विश्वसनीयता र स्व–नियमनको अभ्यास मजबुत हुन सक्छ।

स्वतन्त्र तालिम विभागले इक्यानका सदस्य संस्थाहरूका लागि न्यूनतम व्यावसायिक मापदण्ड निर्धारण गर्ने, नियमित क्षमता अभिवृद्धि तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने र परामर्शदाता तथा कर्मचारीहरूलाई नैतिक अभ्यास, नियामक दायित्व, भिसा इमान्दारी तथा विद्यार्थी हितसँग सम्बन्धित विषयहरूमा निरन्तर सचेत बनाउने भूमिका निर्वाह गर्न सक्छ। यसले शैक्षिक परामर्श उद्योगलाई ज्ञान, जिम्मेवारी र व्यावसायिक मर्यादाको दिशातर्फ उन्मुख गराउने अपेक्षा गर्न सकिन्छ।

त्यसैगरी, अनुगमन तथा मुल्याङ्कन विभाग ले सदस्य संस्थाहरूको कार्यसम्पादनलाई संरचित, वस्तुनिष्ठ र पारदर्शी प्रणालीमार्फत निगरानी गर्ने व्यवस्था विकास गर्न सक्छ। यसअन्तर्गत सबै सदस्य संस्थाहरूका लागि वार्षिक अनुगमन तथा मूल्याङ्कन तालिका लागू गर्न सकिनेछ। सेवा गुणस्तर, नैतिक व्यवहार र इक्यानका निर्देशिका तथा आचारसंहितासँगको अनुपालन परीक्षण गर्न ‘मिस्ट्री शपिङ’ जस्ता व्यवहारिक र प्रमाण–आधारित विधिहरू उपयोगी हुन सक्छन्।

साथै, दूतावास, सम्बन्धित मन्त्रालय, अभिभावक तथा विद्यार्थीहरूबाट प्राप्त हुने प्रतिक्रिया र गुनासोलाई औपचारिक रूपमा समेट्ने स्पष्ट संयन्त्र विकास गरिएमा अनुगमन प्रक्रिया अझ प्रभावकारी बन्नेछ। यदि कुनै सदस्य संस्थाले इक्यानका मापदण्ड वा आचारसंहिता उल्लङ्घन गरेको पाइएमा, उल्लङ्घनको गम्भीरताका आधारमा जरिवाना, अस्थायी निलम्बन वा सदस्यता खारेजी जस्ता अनुशासनात्मक कारबाहीको स्पष्ट र लिखित व्यवस्था हुनु अपरिहार्य देखिन्छ। यस्ता निर्णयहरू निष्पक्ष, प्रमाण–आधारित र पारदर्शी हुनुपर्छ, ताकि संस्थामाथि कुनै पनि प्रकारको पक्षपातको प्रश्न नउठोस्

मेरो दृष्टिमा, यस प्रकारको स्वतन्त्र तालिम, अनुगमन र उत्तरदायित्वको संरचनाले इक्यानभित्र संस्थागत जवाफदेहिता उल्लेखनीय रूपमा बलियो बनाउनेछ। यसले विद्यार्थी हितलाई केन्द्रमा राख्ने वातावरण सिर्जना गर्नेछ र ECAN लाई स्व–नियमन गर्ने, परिपक्व तथा अन्तर्राष्ट्रिय स्तरमा विश्वास गर्न सकिने व्यावसायिक संस्था का रूपमा स्थापित गर्न दीर्घकालीन योगदान पुर्‍याउनेछ।

९. वार्षिक सम्मान तथा पुरस्कार कार्यक्रम:
इक्यानका सदस्य संस्थाहरूभित्र लुकेर रहेका उत्कृष्ट अभ्यास, उत्तरदायित्व र व्यावसायिक योगदानलाई उजागर गर्ने हेतुले औपचारिक रूपमा वार्षिक सम्मान तथा पुरस्कार कार्यक्रम सञ्चालन गर्ने। मेरो व्यक्तिगत धारणा अनुसार, यस्ता कार्यक्रमहरूले केवल सम्मान मात्र होइन, संस्थाभित्र सकारात्मक सोच, प्रेरणा र उत्तरदायित्वको संस्कृति निर्माण गर्न ठूलो भूमिका खेल्न सक्छन्।

यस किसिमको पहलमार्फत नैतिक अभ्यासलाई निरन्तर प्राथमिकतामा राख्ने, विद्यार्थी हितलाई केन्द्रमा राखेर काम गर्ने, सेवा गुणस्तरमा निरन्तर सुधार गर्ने, नियामक मापदण्डको इमान्दारीपूर्वक पालना गर्ने, तथा शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने संस्था र व्यक्तिहरूलाई सार्वजनिक रूपमा पहिचान र सम्मान गर्न सकिने देखिन्छ। यसले जिम्मेवार रूपमा सञ्चालन भइरहेका संस्थाहरूको कामलाई दृश्यता दिने मात्र होइन, सम्पूर्ण उद्योगलाई सकारात्मक दिशातर्फ डोर्याउने अपेक्षा गर्न सकिन्छ।

यस प्रकारको पुरस्कार कार्यक्रमले सदस्यहरूबीच स्वस्थ प्रतिस्पर्धा र निरन्तर सुधारको भावना विकास गर्न सहयोग पुर्‍याउने, उत्कृष्ट कार्य गर्ने संस्थाहरूलाई विद्यार्थी, अभिभावक, दूतावास तथा शैक्षिक संस्थाहरूको नजरमा थप विश्वसनीय बनाउनेछ र इक्यानका मूल्य, मापदण्ड र आचारसंहिताप्रति सदस्यहरूको प्रतिबद्धता अझ मजबुत बनाउने विश्वास गर्न सकिन्छ। यस्ता सम्मानहरूको छनोट प्रक्रिया पारदर्शी, स्पष्ट मापदण्डमा आधारित र स्वतन्त्र निर्णायक समितिको निगरानीमा सञ्चालन गरिएमा कार्यक्रमप्रति विश्वास र सम्मान दुवै बढ्नेछ।

मेरो दृष्टिमा, यस पहलले इक्यानसदस्यता आफैंमा गौरवको विषय बन्ने वातावरण सिर्जना गर्नेछ र संस्थाभित्र उत्कृष्टताको संस्कृतिलाई दीर्घकालीन रूपमा सुदृढ गर्न सकारात्मक योगदान पुर्‍याउनेछ।

१०. सदस्य तथा कर्मचारीका लागि क्षमता अभिवृद्धि तालिम सञ्चालन:

मलाई लाग्छ, इक्यानको साख यसको पदाधिकारीको भाषणमा होइन, सदस्य संस्थामा काम गर्ने प्रत्येक व्यक्तिको व्यवहार र दक्षतामा देखिन्छ।

विद्यार्थीको भविष्य बोकेर बसेका हातहरू कति प्रशिक्षित, कति जिम्मेवार र कति नैतिक छन् भन्ने कुराले नै यस क्षेत्रको इज्जत तय गर्छ। यही सन्दर्भमा, इक्यानअन्तर्गतका सबै सदस्य संस्थाहरूको व्यावसायिक स्तर बलियो बनाउन संरचित र निरन्तर तालिम कार्यक्रमको आवश्यकता गहिरो रूपमा महसुस हुन्छ।
सेवा गुणस्तरमा एकरूपता ल्याउन केही आधारभूत तालिमहरू अनिवार्य बनाउने विषय पनि गम्भीर छलफलयोग्य देखिन्छ। तर, यी तालिमहरू संस्था प्रमुखहरूमा मात्र सीमित भए भने यसको प्रभाव अधुरो रहन्छ। विद्यार्थीको सपनासँग प्रत्यक्ष काम गर्ने काउन्सेलर, भर्ना तथा भिसा प्रक्रिया सम्हाल्ने अधिकारी, र दैनिक सञ्चालनमा खटिने सहयोगी कर्मचारीहरू – सबै एउटै व्यावसायिक मापदण्डमा प्रशिक्षित हुनु आवश्यक देखिन्छ।

तालिमका विषयहरू केवल प्राविधिक ज्ञानमा सीमित नहोस्। नैतिक परामर्श, विद्यार्थी हितको संरक्षण, भिसा नियमको इमानदार पालना, गन्तव्य देशका कानुन, उपभोक्ता संरक्षण र व्यावसायिक आचरणजस्ता पक्षहरू यसको मुटु हुनुपर्छ। तालिमको प्रत्यक्ष असर विद्यार्थी सेवामा देखिनेछ – विद्यार्थी र अभिभावकका गुनासा घट्नेछन्, भरोसा बढ्नेछ। इक्याननाम होइन, मूल्यका कारण चिनिने संस्था बन्नेछ। यही विषयले ECAN लाई साँच्चिकै जिम्मेवार र विश्वसनीय व्यावसायिक संस्थाको रूपमा अझ मजबुत बनाउनेछ भन्ने मेरो व्यक्तिगत धारणा हो।

११. तालिमपश्चात अनुगमन, मुल्याङ्कन र स्थिति विश्लेषण:
तालिम सकिनु आफैंमा गन्तव्य होइन, त्यो त जिम्मेवारीको सुरुवात मात्रै हो भन्ने लाग्छ। कागजमा सिकेको ज्ञान र कक्षामा सुनेका मापदण्डहरू वास्तवमै व्यवहारमा उतारिएका छन् कि छैनन् भन्ने प्रश्नले नै कुनै संस्थाको वास्तविक चरित्र देखाउँछ।
यही कारणले, प्रारम्भिक तथा निरन्तर तालिमपछि सदस्य संस्थाहरूको कामकाजलाई नजिकबाट हेर्ने, बुझ्ने र आवश्यक परे सुधारको बाटो देखाउने नियमित अनुगमन प्रणाली आवश्यक देखिन्छ।

यसका लागि सबै सदस्य संस्थाहरूलाई स्पष्ट, सरल र लिखित मार्गनिर्देशन उपलब्ध गराइए राम्रो हुने धारणा बनिन्छ। कुन अभ्यास स्वीकार्य मानिन्छ, कुन कार्य कुनै हालतमा गर्नु हुँदैन, र विद्यार्थी, अभिभावक, शैक्षिक संस्था तथा सम्बन्धित निकायहरूसँग व्यवहार गर्दा कस्तो आचरण अपेक्षित छ – यी कुरा अस्पष्ट भए भ्रम पैदा हुन्छ, स्पष्ट भए विश्वास बन्छ।

अनुगमनको प्रक्रिया दण्डमुखीभन्दा पनि न्यायमुखी, निष्पक्ष र प्रमाणमा आधारित हुनुपर्छ भन्ने अनुभूति हुन्छ। यदि कुनै संस्थाले तोकिएका मापदण्डहरू पालना नगरेको तथ्यसहित देखियो भने, उल्लङ्घनको गम्भीरताअनुसार चेतावनी, अनिवार्य पुनःतालिम, अस्थायी निलम्बन वा अन्ततः सदस्यता खारेजीजस्ता कदमहरू लिन सकिने व्यवस्था हुनु स्वाभाविक देखिन्छ। यी उपायहरू सजायका लागि होइन, सुधार र जवाफदेहिताका लागि हुन्।

यसरी स्पष्ट अनुपालन र निरन्तर अनुगमनको संस्कृति विकास गर्न सकियो भने, त्यसले संस्थागत जिम्मेवारीलाई बलियो बनाउनेछ, विद्यार्थी र अभिभावकको हित सुरक्षित हुनेछ, र सबै सदस्य संस्थामा नैतिक र उत्तरदायी सञ्चालनप्रति इक्यानको प्रतिबद्धता शब्दमा होइन, व्यवहारमै देखिने विश्वास गर्न सकिन्छ।

१२. उजुरी व्यवस्थापन, निलम्बन तथा अनुशासन पालनामा कडाइ:
विद्यार्थी, अभिभावक र संस्थाको सामूहिक विश्वास कुनै नारा होइन, त्यो न्यायपूर्ण व्यवहारबाट मात्रै टिक्ने मूल्य हो भन्ने लाग्छ। यही विश्वासलाई जोगाइराख्न स्पष्ट, पारदर्शी र कडाइका साथ लागू हुने उजुरी व्यवस्थापन प्रणाली अपरिहार्य देखिन्छ।
उजुरीलाई नजरअन्दाज गर्नु भन्दा, त्यसलाई गम्भीरतापूर्वक लिन सक्ने संरचना हुनु नै संस्थागत परिपक्वताको चिन्ह हो।

यदि विद्यार्थी, अभिभावक, दूतावास, नियामक निकाय वा अन्य आधिकारिक संस्थाबाट कुनै सदस्य संस्थाविरुद्ध औपचारिक उजुरी आउँछ भने, निष्पक्ष र स्वतन्त्र छानबिन सम्पन्न नहुन्जेलसम्म सम्बन्धित संस्थाको सदस्यता अस्थायी रूपमा निलम्बन गर्ने व्यवस्था उपयुक्त हुन सक्छ भन्ने अनुभूति हुन्छ। यसले आरोप र निर्णयबीचको दूरीमा न्यायलाई सुरक्षित राख्दै छानबिन प्रक्रियाप्रति सबैको भरोसा कायम गर्न मद्दत पुर्‍याउन सक्छ।

छानबिनको क्रममा यदि कुनै संस्था गम्भीर अनियमितता, अनैतिक अभ्यास वा स्पष्ट अनुपालन उल्लङ्घनमा दोषी ठहरिन्छ भने, त्यसको प्रकृति र गहिराइअनुसार सदस्यता खारेज गर्ने, उक्त निर्णय र संस्थाको नाम औपचारिक रूपमा सबै सदस्यहरूलाई जानकारी गराउने, र कम्तीमा दुई वर्षसम्म पुनः सदस्यताका लागि आवेदन गर्न नपाउने जस्ता कठोर तर आवश्यक कदमहरू लिन सकिने देखिन्छ।

यस प्रकारको निष्पक्ष र पारदर्शी प्रक्रिया सजायको प्रदर्शनभन्दा पनि न्यायको रक्षा हो। यसले जवाफदेहिता सुनिश्चित गर्छ, भविष्यका अनियमितताप्रति निवारक सन्देश दिन्छ, र सबैभन्दा महत्वपूर्ण कुरा – विद्यार्थी र अभिभावकको विश्वास जोगाउँदै इक्यानले अनैतिक अभ्यासप्रति शून्य सहनशीलता राख्छ भन्ने स्पष्ट सन्देश सम्पूर्ण उद्योगमा फैलाउने विश्वास गर्न सकिन्छ।

१३. इक्यान स्वामित्वको भौतिक पूर्वाधार स्थापना:
संस्था बलियो बन्ने आधार केवल व्यक्ति होइन, संरचना पनि हो भन्ने अनुभूति बारम्बार हुन्छ। यही सन्दर्भमा, इक्यानको संस्थागत स्थायित्व, आत्मनिर्भरता र दीर्घकालीन दिगोपनलाई सुदृढ गर्ने दिशामा आफ्नै स्वामित्वमा रहने स्थायी कार्यालय भवन स्थापना गर्ने विषय गम्भीरतापूर्वक सोच्नुपर्ने समय आएको जस्तो लाग्छ।
इक्यानको आफ्नै भवन हुनु केवल इँटा र सिमेन्टको कुरा होइन; त्यो संस्थाको पहिचान, आत्मविश्वास र भविष्यप्रतिको प्रतिबद्धताको प्रतिक हुन सक्छ। यस्तो संरचनाले दीर्घकालीन रूपमा सञ्चालन खर्च घटाउने मात्र होइन, सदस्य सेवा, तालिम, बैठक र उद्योगसम्बन्धी संवादका लागि समर्पित, व्यवस्थित र सम्मानजनक स्थान उपलब्ध गराउने अपेक्षा गर्न सकिन्छ।

यस लक्ष्यतर्फ अघि बढ्न आवश्यक पर्ने आर्थिक स्रोतहरू पूर्ण रूपमा पारदर्शी र नैतिक माध्यमबाट संकलन गरिनु अत्यन्त महत्वपूर्ण देखिन्छ। सदस्यहरूको स्वेच्छिक योगदान, दान, अनुदान, शुभेच्छुक तथा साझेदार संस्थाहरूको सहयोग जस्ता उपायहरू यसका सम्भावित आधार बन्न सक्छन्। पूर्वाधार निर्माणमा सबै सदस्य योगदानहरूको स्पष्ट अभिलेख राखी सार्वजनिक रूपमा जानकारी गराउने अभ्यासले संस्थाप्रतिको विश्वास अझ गहिरो बनाउने विश्वास गर्न सकिन्छ।

यसरी कृतज्ञता र मर्यादाबीच सन्तुलन कायम गर्दै अघि बढ्न सक्ने हो भने, ECAN केवल आजको आवश्यकतामा सीमित संस्था नभइ भोलिको पुस्ताले गर्वका साथ हेर्न सक्ने दिगो संस्थाका रूपमा स्थापित हुन सक्ने विश्वास व्यक्त गर्न सकिन्छ।

१४. सदस्यकै स्वामित्व र पहुँच सुनिश्चित गरी व्यवसायीक केन्द्रीय डिजिटल आवेदन पोर्टल सञ्चालन:

संस्था दिगो बन्ने बाटो केवल नीति र पदबाट होइन, आत्मनिर्भर संरचना र दूरदर्शी सोचबाट खुल्ने अनुभूति हुन्छ। यही सन्दर्भमा, इक्यानको दीर्घकालीन संस्थागत विकास, पारदर्शिता र वित्तीय आत्मनिर्भरतालाई सुदृढ गर्ने उद्देश्यले इक्यानका सदस्यहरू स्वयं शेयरधानी रहने गरी एक स्वतन्त्र, नाफामूलक संस्थाको दर्ता गर्ने सम्भावनाबारे गम्भीरतापूर्वक सोच्नुपर्ने समय आएको जस्तो लाग्छ।

उक्त संस्था प्रारम्भिक चरणमा सदस्यहरूको स्वेच्छिक लगानीमा आधारित क्राउड फण्डेड मोडलमा सञ्चालन हुन सक्ने र यसको पहिलो प्रमुख परियोजनाका रूपमा एक केन्द्रीय, सुरक्षित र डिजिटल आवेदन पोर्टल विकास गर्ने पहल अत्यन्त समयसापेक्ष देखिन्छ।

यस्तो पोर्टलमार्फत प्रमुख अध्ययन गन्तव्य देशहरूका प्रमाणित विश्वविद्यालय तथा कलेजहरूको व्यवस्थित पहुँच उपलब्ध गराउन सकिनेछ, र भविष्यमा थप देश तथा सेवाहरू समेट्दै विस्तार गर्ने ढोका पनि खुला राख्न सकिनेछ। यो प्रणालीले इक्यानका सदस्य संस्थाहरूलाई विद्यार्थी आवेदन प्रक्रिया अझ छरितो, पारदर्शी र नैतिक रूपमा सञ्चालन गर्न सहयोग पुर्‍याउने अपेक्षा गर्न सकिन्छ।

महत्वपूर्ण कुरा के भने, यस पोर्टलमार्फत आवेदन पेश गर्दा प्रत्येक सदस्य संस्थाले आफ्नो पहिचान सुरक्षित राख्दै आफ्नै ब्रान्ड र लोगो प्रयोग गर्न पाउने व्यवस्था कायम रहन सक्छ। पोर्टलको सञ्चालन पूर्ण रूपमा स्वतन्त्र र व्यावसायिक व्यवस्थापन टोलीमार्फत हुनु आवश्यक देखिन्छ। यस प्रकारको केन्द्रीय, इक्यान स्वामित्वमा आधारित र स्वतन्त्र रूपमा सञ्चालित डिजिटल पोर्टलको स्थापना हुँदा, विदेशबाट प्रत्यक्ष रूपमा सञ्चालन भइरहेका अविश्वसनीय वा अनियमित पोर्टलहरूलाई स्वाभाविक रूपमा निरुत्साहित गर्ने वातावरण बन्न सक्छ।

हाल देखिँदै आएका केही बाह्य पोर्टलहरू अचानक बन्द हुने, सेवा रोकिने वा आर्थिक कारोबारमा समस्या आउँदा सदस्य संस्था तथा विद्यार्थीहरूको पैसा जोखिममा पर्ने अवस्थाबाट इक्यानका सदस्यहरू भविष्यमा सुरक्षित रहन सक्ने विश्वास गर्न सकिन्छ। आफ्नै देशभित्र, स्पष्ट नियम, उत्तरदायी व्यवस्थापन र बलियो डाटा सुरक्षासहित सञ्चालन हुने यस्तो प्रणालीले आर्थिक जोखिम मात्र घटाउने होइन, सदस्य संस्था र विद्यार्थी दुवैका लागि भरोसायोग्य विकल्पको रूपमा आफूलाई स्थापित गर्न सक्छ।

यसले बाह्य, अनियन्त्रित र अल्पकालीन फाइदाका लागि सञ्चालन हुने प्रणालीहरूमा निर्भरता घटाउँदै इक्यानका सदस्यहरूलाई दीर्घकालीन रूपमा सुरक्षित, स्थिर र विश्वसनीय डिजिटल संरचनामा आबद्ध गराउने अपेक्षा गर्न सकिन्छ। प्रमुख कार्यकारी अधिकृतको नेतृत्वमा दक्ष प्राविधिक र प्रशासनिक जनशक्तिसहितको संरचनाले मात्र यस्तो प्रणालीलाई विश्वसनीय बनाउन सक्छ। निष्पक्षता र विश्वास कायम राख्न, हितको द्वन्द्व न्यूनीकरण गर्न तथा संस्थागत मर्यादा जोगाउन इक्यानका बोर्ड सदस्य वा साधारण सदस्यहरूको दैनिक सञ्चालनमा कुनै प्रत्यक्ष संलग्नता वा प्रभाव नराख्ने नीति अवलम्बन गर्नु उपयुक्त देखिन्छ।

यस प्रणालीका आधारभूत सिद्धान्तहरूमा सबै योग्य इक्यान सदस्यहरूलाई समान पहुँच सुनिश्चित गर्ने, कुनै पनि प्रकारको प्राथमिकता वा पक्षपात हुन नदिने, डाटा सुरक्षा, साइबर सुरक्षा र गोपनीयतालाई सर्वोच्च प्राथमिकतामा राख्ने, तथा कडा पहुँच नियन्त्रण प्रणाली लागू गर्ने व्यवस्था अनिवार्य देखिन्छ। यस अन्तर्गत कुनै पनि इक्यान सदस्य – बोर्ड सदस्य सहित – ले आवेदन डाटा हेर्न, प्रभाव पार्न वा हेरफेर गर्न नसक्ने स्पष्ट संरचना बनाइनु आवश्यक देखिन्छ।

१५. वित्तीय दिगोपन तथा आम्दानीको न्यायोचित उपयोग:
संस्था दीर्घकालीन रूपमा मजबुत बन्ने आधार केवल उद्देश्य होइन, त्यसलाई धान्ने आर्थिक अनुशासन पनि हो भन्ने अनुभूति हुन्छ। यही दृष्टिकोणबाट हेर्दा, इक्यानको सञ्चालन र भविष्यको विकासलाई स्थिर र आत्मनिर्भर बनाउने उद्देश्यले पारदर्शी र दिगो वित्तीय मोडल अवलम्बन गर्ने विषय गम्भीरतापूर्वक सोचिनुपर्ने देखिन्छ।
इक्यानद्वारा व्यवस्थापन गरिने विभिन्न प्रणाली वा पहलहरूबाट प्राप्त हुने कमिसनमध्ये निश्चित प्रतिशत संस्थाको अनिवार्य सञ्चालन खर्च जस्तै: कार्यालय व्यवस्थापन, कर्मचारी पारिश्रमिक, प्रविधि विकास, तालिम कार्यक्रम र नियामक अनुपालनका लागि सुरक्षित राख्ने व्यवस्था व्यावहारिक र आवश्यक देखिन्छ।

यसले संस्थालाई बाह्य निर्भरता बिना आफ्नै खुट्टामा उभिन सक्ने आधार प्रदान गर्न सक्छ। यी सञ्चालन तथा रणनीतिक आवश्यकताहरू पूरा भएपछि बाँकी रहने अधिशेष रकमलाई सदस्यहरूको दीर्घकालीन हितलाई केन्द्रमा राखी जिम्मेवार रूपमा व्यवस्थापन गर्न सकिने देखिन्छ। यस्तो अधिशेष रकम कहिले सदस्यहरूलाई वार्षिक नगद लाभांशका रूपमा फर्काउन सकिन्छ, त कहिले सदस्य तालिम, डिजिटल पूर्वाधार, नीतिगत पैरवी वा विद्यार्थी हितसम्बन्धी कार्यक्रमहरूमा पुनः लगानी गरेर संस्थाको सामूहिक मूल्य अभिवृद्धि गर्न सकिन्छ। सबैभन्दा महत्वपूर्ण कुरा, यस्ता वित्तीय निर्णयहरू नियमित लेखापरीक्षण, स्पष्ट वित्तीय प्रतिवेदन र सदस्यहरूसमक्ष पूर्ण पारदर्शितासहित अघि बढाइनु अत्यावश्यक देखिन्छ।

यस्तै अभ्यासले संस्थागत जवाफदेहिता बलियो बनाउने, सदस्यहरूको भरोसा अझ गहिरो बनाउने र इक्यानलाई केवल संरचनात्मक संस्था होइन, सदस्य–केन्द्रित र व्यावसायिक रूपमा जिम्मेवार संस्थाका रूपमा स्थापित गर्ने विश्वास गर्न सकिन्छ।

१६. कार्यक्रम तथा सम्मेलनहरूमा समान र पारदर्शी पहुँच:
अवसरको पहुँच केहीका लागि सीमित हुँदा संस्था ठूलो देखिए पनि मनहरू टाढा हुने गर्छन् भन्ने अनुभूति हुन्छ। यही कारणले, इक्यानसमक्ष प्राप्त हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन, सेमिनार, कन्क्लेभ तथा अन्य औपचारिक कार्यक्रमहरूमा सहभागी हुने अवसर सबै सदस्यहरूका लागि समान र निष्पक्ष रूपमा खुला हुनु अत्यन्त आवश्यक देखिन्छ।

यसका लागि कार्यक्रमसम्बन्धी सम्पूर्ण विवरण, सहभागिताका स्पष्ट मापदण्ड र इच्छुक सदस्यहरूले नाम दर्ता गर्ने अन्तिम म्याद समयमै र पारदर्शी ढङ्गले जानकारी गराइनु उपयुक्त देखिन्छ।

सहभागी छनोट प्रक्रिया निष्पक्ष, समान र घुम्ती प्रणालीमा आधारित हुँदा एउटै सदस्यहरू पटक–पटक मात्र प्रतिनिधित्व हुने अवस्थालाई न्यून गर्न सकिने विश्वास गर्न सकिन्छ, विशेष र अपरिहार्य आवश्यकताबाहेक। साथै, भौगोलिक दूरी, समय अभाव वा अन्य यथार्थपरक कारणले प्रत्यक्ष रूपमा सहभागी हुन नसक्ने सदस्यहरूका लागि सम्भव भएसम्म अनलाइन वा भर्चुअल सहभागिताको विकल्प उपलब्ध गराइनु पनि समावेशी दृष्टिकोणको परिचायक हुन सक्छ। यसले सहभागितालाई केवल भौतिक उपस्थितिमा सीमित नगरी ज्ञान र अनुभवको पहुँचलाई व्यापक बनाउने अपेक्षा गर्न सकिन्छ।

यस प्रकारको पारदर्शी र समावेशी प्रणालीले सदस्यहरूबीच ज्ञान आदान–प्रदानलाई बलियो बनाउने, व्यावसायिक क्षमता अभिवृद्धिका अवसरहरू सबैका लागि समान रूपमा उपलब्ध गराउने, र संस्था वा सदस्यको आकार तथा स्थानका आधारमा सिर्जना हुने असमानतालाई क्रमशः न्यून गर्दै जाने विश्वास व्यक्त गर्न सकिन्छ।

१७. सहकार्य, समन्वय तथा उद्योगगत नेतृत्व:

कुनै पनि उद्योग एक्लै अघि बढ्दा सीमित हुन्छ, तर सहकार्यमा अघि बढ्दा बलियो बन्छ भन्ने अनुभूति शिक्षा तथा माइग्रेसन क्षेत्रले पटक–पटक देखाइसकेको छ।
यही सन्दर्भमा, यस क्षेत्रसँग सम्बन्धित अन्य संघ–संस्था, सरोकारवाला निकायहरू र उद्योग प्रतिनिधिहरूसँग नियमित बैठक र संरचित संवादमार्फत सहकार्य विस्तार गर्ने प्रयास इक्यानका लागि समयसापेक्ष र आवश्यक देखिन्छ। यस्तो सहकार्यले उद्योगले साझा रूपमा सामना गरिरहेका समस्या र चुनौतीहरू पहिचान गर्न मात्र होइन, तिनको समाधानतर्फ समन्वित र प्रभावकारी पहल अघि बढाउन सहयोग पुर्‍याउने अपेक्षा गर्न सकिन्छ।

विशेषगरी शिक्षा मन्त्रालय तथा अन्य सरकारी वा नियामक निकायहरूसँग हुने छलफल र परामर्शमा इक्यानले सदस्यहरूको सामूहिक आवाज बोकेर स्पष्ट, जिम्मेवार र अग्रणी भूमिका निर्वाह गर्न सके उद्योगको धारणा र आवश्यकताहरू अझ प्रभावकारी रूपमा प्रस्तुत हुन सक्छन्। यस क्रममा हुने सबै संवाद, छलफल र पहलहरू शिक्षा परामर्श क्षेत्रको समग्र हितलाई केन्द्रमा राख्दै, इक्यान सदस्यहरूको अधिकार, चासो र प्राथमिकतालाई मूल आधार बनाइ अघि बढाइनु अत्यन्त आवश्यक देखिन्छ।

यसरी सहकार्य, एकीकृत पैरवी र जिम्मेवार नेतृत्वको अभ्यासलाई सुदृढ गर्न सकिने हो भने, इक्यानले न्यायोचित नीतिहरू निर्माण गर्न सहयोग पुर्‍याउने, नियामक संरचनामा सकारात्मक सुधार ल्याउने, र सम्पूर्ण उद्योगको विश्वसनीयता तथा दीर्घकालीन दिगोपनलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्न सकिन्छ।

१८. उच्च आयोग, दूतावास तथा आप्रवासन निकायहरूसँग समन्वय:
पेशागत पहुँच र व्यक्तिगत लाभबीचको सीमारेखा स्पष्ट नहुँदा विश्वास कमजोर हुन्छ भन्ने अनुभूति धेरै पटक देखिन्छ। यही सन्दर्भमा, इक्यानले आफ्ना सदस्य संस्थाहरूलाई आधिकारिक र कार्यसम्बन्धी गतिविधिहरू – जस्तै औपचारिक बैठक, तालिम कार्यक्रम, सम्मेलन तथा शैक्षिक संस्थागत भ्रमणमा सहयोग पुर्‍याउने उद्देश्यले उच्च आयोग, दूतावास तथा आप्रवासन निकायहरूसँग पेशागत, जिम्मेवार र दीर्घकालीन सम्बन्ध विकास तथा कायम राख्नु आवश्यक देखिन्छ।

सम्भव भएसम्म, पूर्ण रूपमा पेशागत प्रयोजनसँग सम्बन्धित भिसा तथा आप्रवासन प्रक्रियामा इक्यानको तर्फबाट औपचारिक सिफारिस वा सहजीकरण प्रदान गर्ने अभ्यास अपनाउन सकिने देखिन्छ। तर, यस्ता सुविधाहरू स्पष्ट, लिखित मार्गनिर्देशन र मापदण्डअन्तर्गत मात्र उपलब्ध गराइनु अत्यन्तै महत्त्वपूर्ण देखिन्छ, ताकि कुनै पनि प्रकारको दुरुपयोगको सम्भावना नहोस्। यस सुविधा एजेन्सीका सञ्चालक वा प्रधान व्यक्ति, वा आवश्यक परेमा सम्बन्धित कर्मचारीहरूमा मात्र सीमित राखिनु, र केवल इक्यान वा उद्योग – सम्बन्धी आधिकारिक प्रयोजनका लागि प्रयोग गरिनु उपयुक्त देखिन्छ।

यदि कुनै सदस्यले यस प्रकारको सहजीकरणलाई व्यक्तिगत भ्रमण वा गैर – पेशागत उद्देश्यका लागि प्रयोग गरेको प्रमाणित हुन्छ भने, भविष्यमा इक्यानको तर्फबाट प्रदान गरिने यस्ता सहजीकरणमा स्थायी रूपमा प्रतिबन्ध लगाउने र आचारसंहिताअनुसार आवश्यक अनुशासनात्मक कारबाही गर्ने व्यवस्था पनि अपरिहार्य देखिन्छ।
यसरी नैतिक, संरचित र उत्तरदायी अभ्यास अवलम्बन गर्न सकिने हो भने, दूतावास तथा नियामक निकायहरूसँगको आपसी विश्वास अझ मजबुत बन्ने, सदस्यहरूको वैध पेशागत गतिविधिलाई सहज सहयोग पुग्ने, र इक्यानको समग्र संस्थागत विश्वसनीयता दीर्घकालीन रूपमा सुरक्षित रहने विश्वास व्यक्त गर्न सकिन्छ।

१९. अन्तर्राष्ट्रिय फ्यामिलियराइजेशन भ्रमण तथा प्रतिनिधित्वसम्बन्धी नीति:
विश्वव्यापी शैक्षिक परिवेशसँग प्रत्यक्ष जोडिने अवसरहरू कुनै पनि संस्थाको क्षमतामापनका महत्वपूर्ण सूचक हुन्। यही सन्दर्भमा, इक्यानले ब्रिटिश काउन्सिल, उच्च आयोग, विभिन्न दूतावासहरू, विश्वविद्यालय तथा कलेजहरूसँग नजिकको समन्वय र विश्वासमा आधारित सहकार्य विस्तार गर्दै छनोट गरिएका देशहरूमा अन्तर्राष्ट्रिय सञ्चालन गर्ने पहललाई दीर्घकालीन रणनीतिका रूपमा अघि बढाउनु उपयुक्त देखिन्छ।

यस प्रकारका भ्रमणहरूले केवल यात्राको अवसर मात्र नभई, सदस्यहरूको अन्तर्राष्ट्रिय बुझाइ विस्तार गर्ने, संस्थागत सम्बन्ध सुदृढ गर्ने र व्यावसायिक क्षमतामा गुणात्मक सुधार ल्याउने माध्यम बन्न सक्ने अपेक्षा गर्न सकिन्छ। FAM भ्रमणमा सहभागी छनोट गर्दा अन्य आधिकारिक बैठक तथा गतिविधिहरूमा लागू हुने समानुपातिक, पारदर्शी र निष्पक्ष प्रतिनिधित्वका मापदण्डहरूलाई नै आधार बनाइनु उचित देखिन्छ।

विशेषगरी, गन्तव्य देशसँग प्रत्यक्ष कार्यानुभव, निरन्तर संलग्नता र व्यावसायिक विशेषज्ञता भएका कन्ट्री स्पेसिफिक सदस्यहरूलाई प्राथमिकता दिनु व्यवहारिक मात्र होइन, प्रतिनिधित्वलाई अर्थपूर्ण र परिणाममुखी बनाउने उपाय पनि हुन सक्छ।
यसरी स्पष्ट उद्देश्य, सन्तुलित सहभागिता र पारदर्शी छनोट प्रक्रियामार्फत सञ्चालन गरिने FAM भ्रमणहरूले सरोकारवाला अन्तर्राष्ट्रिय संस्थाहरूसँगको आपसी विश्वास मजबुत पार्ने, प्राप्त सिकाइलाई संस्थागत लाभमा रूपान्तरण गर्ने र इक्यानको व्यावसायिक तथा संस्थागत प्रतिष्ठालाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्न सकिन्छ।

२०. आईईएलटीएस दर्ता तथा प्रवर्द्धन अभ्यासमा निष्पक्षता र पारदर्शितासम्बन्धी नीति:
पछिल्ला वर्षहरूमा आईईएलटीएस दर्ता तथा त्यससँग जोडिएका प्रवर्द्धनात्मक अभ्यासहरू शिक्षा परामर्श क्षेत्रको संवेदनशील र धेरै चर्चामा रहने विषय बनेका छन्। यही सन्दर्भमा, आईईएलटीएस दर्ता प्रक्रिया निष्पक्ष, पारदर्शी र भेदभावरहित रूपमा सञ्चालन हुने वातावरण सुनिश्चित गर्न इक्यानले स्पष्ट र नैतिक नीतिगत ढाँचा अवलम्बन गर्ने विषय गम्भीर रूपमा विचारणीय देखिन्छ।

दर्ता शुल्कहरू प्रचलित बजार मापदण्डसँग मेल खाने, प्रतिस्पर्धात्मक तथा अन्य अधिकृत निकायहरूले अपनाइरहेका शुल्क संरचनासँग तुलनायोग्य रहनु उपयुक्त देखिन्छ। यस क्रममा कुनै पनि सदस्य संस्थाले भ्रामक वा गलत सूचना प्रवाह गर्ने, लुकेका सर्तहरू लागू गर्ने, वा अप्रकट प्रलोभनमार्फत कृत्रिम रूपमा शुल्क घटाउने अभ्यास नगर्ने स्पष्ट सिद्धान्त स्थापित हुनु आवश्यक देखिन्छ।

विशेषगरी, यदि कुनै सदस्य संस्थाले प्रवर्द्धनात्मक कार्यक्रमअन्तर्गत निःशुल्क आईईएलटीएस दर्ता उपलब्ध गराउने व्यवस्था अपनाउँछ भने, त्यसको सर्तका रूपमा विद्यार्थीलाई सोही संस्थामार्फत आवेदन दिन, भर्ना हुन वा अन्य सेवामा बाँध्ने प्रकारको दबाब सिर्जना गर्नु नहुने विषय स्पष्ट रूपमा निर्दिष्ट गरिनु उपयुक्त देखिन्छ। यही मान्यता अन्य सबै प्रकारका छुट, प्रस्ताव वा प्रोत्साहनात्मक योजनाहरूमा पनि समान रूपमा लागू हुनुपर्ने अपेक्षा गर्न सकिन्छ। यस प्रकारका सबै प्रवर्द्धनात्मक अभ्यासहरू पूर्ण रूपमा पारदर्शी, स्वेच्छिक र विद्यार्थी केन्द्रित हुनुपर्छ।
यसले विद्यार्थीहरूको अधिकार संरक्षण गर्न, अनुचित प्रतिस्पर्धा न्यूनीकरण गर्न, र इक‍्यान सदस्य संस्थाहरूको पेशागत विश्वसनीयता तथा शिक्षा परामर्श उद्योगको समग्र प्रतिष्ठा सुदृढ गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्न सकिन्छ।

२१. एनओसी प्रमाणीकरण तथा विद्यार्थी पहुँचसम्बन्धी मार्गनिर्देशन:
विद्यार्थीहरूको शैक्षिक यात्रामा विदेश अध्ययन अनुमतिपत्र (एनओसी) एउटा साधारण कागज मात्र होइन, भविष्यतर्फ खुल्ने ढोकाको चाबी जस्तै हो। तर यही प्रक्रियामा देखिने ढिलाइ, अन्योल र अव्यवस्थाले धेरै विद्यार्थी र अभिभावकहरूलाई अनावश्यक मानसिक तनावमा पार्दै आएको यथार्थ पनि लुकाउन सकिँदैन।

यही सन्दर्भमा, एनओसी सम्बन्धी समस्या र चुनौतीहरूको समयमै तथा प्रभावकारी समाधानका लागि सम्बन्धित संघ–संस्था र शिक्षा मन्त्रालयसँग नजिकको समन्वय र सहकार्य गर्दै अघि बढ्ने दृष्टिकोण अत्यन्त आवश्यक देखिन्छ। यस प्रक्रियालाई थप सहज, विश्वसनीय र व्यवस्थित बनाउन समर्पित प्रमाणीकरण टोली गठन गर्ने विषय पनि गम्भीर रूपमा विचारणीय देखिन्छ। उक्त टोलीले पेश गरिएका कागजातहरूको सत्यता जाँच गर्ने, आवश्यक पुष्टि गर्ने र अनावश्यक ढिलाइलाई न्यून गर्ने जिम्मेवारी वहन गर्न सक्ने अपेक्षा गर्न सकिन्छ। कागजातहरू प्रामाणिक भएको पुष्टि भएपछि, विद्यार्थीहरूले तोकिएको डिजिटल प्रणालीमार्फत आफ्नै पहुँचमा एनओसी डाउनलोड गर्न सक्ने व्यवस्था लागू गर्नु उपयुक्त देखिन्छ।

दीर्घकालीन रूपमा, यस प्रकारको समन्वयात्मक र विद्यार्थी–केन्द्रित पहलले एनओसी प्रक्रियामा देखिँदै आएको अन्योल घटाउन, सरोकारवाला निकायहरूसँगको विश्वास मजबुत बनाउन, र सम्पूर्ण प्रणालीलाई उत्तरदायी र प्रभावकारी बनाउने महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गर्न सकिन्छ।

२२. लैङ्गिक समानता तथा महिला सशक्तीकरण:
कुनै पनि संस्था त्यसका नीति, संरचना र उपलब्धिभन्दा पनि त्यहाँ कार्यरत व्यक्तिहरूले कत्तिको सम्मान, सुरक्षा र प्रतिनिधित्वको अनुभूति गर्छन् भन्ने कुराले चिनिन्छ। यही सन्दर्भमा, इक्यानभित्र महिला उद्यमीहरूको समावेशी सहभागिता प्रवर्द्धन गर्नु केवल समानताको प्रश्न मात्र नभई संस्थागत परिपक्वताको मापदण्डका रूपमा पनि हेर्न सकिन्छ।

महिला सदस्यहरूले आफ्ना विचार निडर रूपमा व्यक्त गर्न सक्ने, निर्णय प्रक्रियामा अर्थपूर्ण रूपमा सहभागी हुन पाउने, र नेतृत्व तहसम्म पुग्ने अवसर समान रूपमा प्राप्त गर्ने वातावरण निर्माण गर्नु आजको आवश्यकता हो। यसका लागि इक्यानका सबै गतिविधि, कार्यक्रम, नीतिगत निर्णय तथा नेतृत्व संरचनामा महिलाहरूलाई न्यायोचित, भेदभावरहित र सम्मानजनक अवसर सुनिश्चित गर्ने स्पष्ट र प्रभावकारी व्यवस्था आवश्यक देखिन्छ।

महिला सदस्यहरूको सशक्तीकरणका निम्ति क्षमता अभिवृद्धि कार्यक्रम, पेशागत विकासका अवसर, नेतृत्व विकास पहल तथा स्रोत–साधनमा समान पहुँच सुनिश्चित गर्ने प्रयासहरू कार्यान्वयनमा ल्याउन सकिने देखिन्छ। यस्ता पहलहरूले महिला उद्यमीहरूको आत्मविश्वास बढाउन, उनीहरूको दक्षता र नेतृत्व क्षमतामा थप धार दिन, र संस्थाभित्र सकारात्मक ऊर्जा सिर्जना गर्न सहयोग पुर्‍याउने अपेक्षा गर्न सकिन्छ।

दीर्घकालीन रूपमा, यस प्रकारको समावेशी र लैङ्गिक संवेदनशील कार्यदिशाले ECAN भित्र लैङ्गिक समानता प्रवर्द्धन गर्न, संस्थागत न्याय सुनिश्चित गर्न, र सन्तुलित, दिगो तथा भविष्यप्रति उत्तरदायी संगठनात्मक विकास हासिल गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन्छ।

२३. राजनीतिक नभइ योग्यतामा आधारित निर्णय:
कुनै पनि पेशागत संस्था आफ्नो उद्देश्य, आचरण र निर्णय प्रक्रियाबाट चिनिन्छ। त्यसैले इक्यानको संस्थागत विश्वसनीयता, निष्पक्षता र व्यावसायिक मर्यादा जोगाइराख्न राजनीतिक विचार, आस्था वा आबद्धतालाई संगठनको दैनिक कार्यसञ्चालन र निर्णय प्रक्रियाबाट स्पष्ट र दृढ रूपमा अलग राख्नु अपरिहार्य देखिन्छ। राजनीति व्यक्तिगत विश्वासको विषय हुन सक्छ, तर संस्थागत निर्णयहरू कुनै पनि राजनीतिक प्रभाव, पहुँच वा गठबन्धनको छायामा पर्नु हुँदैन भन्ने अपेक्षा स्वाभाविक देखिन्छ। यस सन्दर्भमा, संगठनभित्र कुनै व्यक्ति वा संस्थालाई राजनीतिक सम्बन्धको आधारमा अवसर, लाभ, पद वा विशेष प्राथमिकता प्रदान नगर्ने स्पष्ट, लिखित र सबैका लागि समान रूपमा लागू हुने नीति आवश्यक देखिन्छ।

इक्यानका सबै निर्णयहरू निष्पक्षता, पारदर्शिता, समान अवसर र योग्यता जस्ता आधारभूत मूल्यहरूमा टेकेर, संस्थाको दीर्घकालीन हित र सम्पूर्ण सदस्यहरूको साझा भविष्यलाई केन्द्रमा राखेर गरिनु संस्थागत सुशासनको मूल आत्मा हुनेछ।
यस्तो स्पष्ट र साहसी दृष्टिकोणले व्यक्तिगत स्वार्थ वा बाह्य प्रभावभन्दा माथि उठेर इक्यानलाई साँच्चिकै व्यावसायिक, सदस्य–केन्द्रित र भरोसायोग्य संस्थाका रूपमा स्थापित गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिन्छ–जहाँ अवसर राजनीतिक पहुँचबाट होइन, योग्यता र नैतिकताबाट तय हुन्छ।

२४. “तपाईं भन्नुहुन्छ, हामी कार्यान्वयन गर्छौँ” अवधारणा:
सदस्य–केन्द्रित सुशासनप्रति केवल प्रतिबद्धता व्यक्त गर्नु मात्र पर्याप्त हुँदैन, त्यसलाई व्यवहारमा उतार्ने साहस र इच्छाशक्ति पनि आवश्यक हुन्छ। यही भावनालाई संस्थागत अभ्यासमा रूपान्तरण गर्ने उद्देश्यले इक्यानले “यु से वी डु” अवधारणालाई औपचारिक कार्यसंस्कृतिको रूपमा अंगाल्नु समयसापेक्ष र अर्थपूर्ण देखिन्छ।
यसले सदस्यहरूलाई केवल दर्शक होइन, संगठनको दिशा र भविष्य निर्माणका सक्रिय साझेदार बनाउने वातावरण सिर्जना गर्न सक्छ। यस अवधारणाअन्तर्गत सदस्यहरूले संगठनभित्र सुधार आवश्यक देखिएका विषय, नयाँ पहल, नीतिगत परिवर्तन वा दीर्घकालीन विकाससम्बन्धी आफ्ना सुझाव, चिन्ता र अपेक्षाहरू खुला र निडर रूपमा प्रस्तुत गर्न सक्ने व्यवस्था स्थापित गरिनु आवश्यक देखिन्छ। यस्ता सुझावहरू भावनात्मक प्रतिक्रिया मात्र नभई, निर्णय प्रक्रिया र रणनीतिक योजना निर्माणका लागि महत्वपूर्ण मार्गदर्शन बन्न सक्ने अपेक्षा गर्न सकिन्छ।

प्राप्त सुझाव तथा प्रतिक्रियाहरूलाई कार्यकारी टोलीले औपचारिक रूपमा संकलन गरी गम्भीरतापूर्वक समीक्षा गर्ने, तिनको व्यवहारिकता मूल्यांकन गर्ने र सम्भव भएका विषयहरूमा समयबद्ध कार्यान्वयन गर्ने प्रयास गरिनु उपयुक्त हुनेछ। अझ महत्वपूर्ण कुरा, के गरियो र किन गरियो – के गर्न सकिएन र किन सकिएन – त्यसको स्पष्ट जवाफ सदस्यहरूसमक्ष प्रस्तुत गरिनु संस्थागत इमानदारीको परिचायक हुनेछ। यसै क्रममा, वार्षिक साधारण सभालाई केवल औपचारिक कार्यक्रमको सीमामा नराखी, सदस्यको आवाज र संगठनको जवाफबीचको सेतुका रूपमा प्रयोग गर्न सकिने देखिन्छ। साधारण सभामा कार्यकारी टोलीले संक्षेपमा निम्न विषयहरू प्रस्तुत गर्ने अभ्यास संस्थागत गर्न सकिनेछः

  • सदस्यहरूबाट उठाइएका प्रमुख सुझाव र चासोका विषयहरू
  • सफलतापूर्वक कार्यान्वयन गरिएका पहलहरू
  • कार्यान्वयन गर्न नसकिएका विषयहरू र त्यसका स्पष्ट तथा यथार्थपरक कारणहरू
    यस प्रकारको अभ्यासले संगठनभित्र जवाफदेहिता, खुलापन र विश्वासको संस्कृति विकास गर्न सहयोग पुर्‍याउनेछ। जब सदस्यले बोलेको कुरा सुन्ने मात्र होइन, त्यसमा आधारित काम पनि देखिन्छ, तब “You Say, We Do” नारा मात्र होइन – ECAN को पहिचान बन्न सक्ने विश्वास व्यक्त गरिन्छ।

२५. डिजिटल सदस्य सेवा तथा सञ्चार प्रणाली:
सदस्य सेवा प्रवाहलाई समयको मागअनुसार रूपान्तरण नगरी कुनै पनि संस्था दिगो र भरोसायोग्य बन्न सक्दैन। यही यथार्थलाई आत्मसात गर्दै इक्यानले आफ्ना सदस्यहरूसँगको सम्बन्धलाई अझ प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउन एकीकृत डिजिटल सदस्य सेवा तथा सञ्चार प्रणाली विकास गर्ने सम्भावनातर्फ गम्भीर रूपमा सोच्नु आजको आवश्यकता देखिन्छ।

यस प्रकारको डिजिटल प्लेटफर्मले सदस्यहरूको दैनिक आवश्यकता र संस्थागत प्रक्रियालाई एउटै प्रणालीमा जोड्न सक्ने अपेक्षा गर्न सकिन्छ। सदस्य प्रोफाइल व्यवस्थापनदेखि सदस्यता नवीकरण र शुल्क भुक्तानीसम्म, सूचना तथा परिपत्रहरूको समयमै प्रकाशनदेखि निर्णय, बैठक र नीतिसम्बन्धी अभिलेखमा सहज पहुँचसम्म – सबै प्रक्रिया पारदर्शी र व्यवस्थित रूपमा सञ्चालन गर्न सकिनेछ। साथै, सदस्यहरूले उजुरी दर्ता गर्न र त्यसको प्रगतिलाई स्पष्ट रूपमा ट्र्याक गर्न सक्ने व्यवस्था समावेश हुँदा, जवाफदेहिता केवल प्रतिबद्धतामा सीमित नभई व्यवहारमा देखिनेछ। यस्तो प्रणालीले इक्यान र सदस्यहरूबीचको सञ्चारलाई छरितो, विश्वसनीय र समयमै बनाउने मात्र होइन, प्रशासनिक जटिलता घटाउँदै संस्थागत दक्षता उल्लेखनीय रूपमा बढाउने विश्वास व्यक्त गरिन्छ।
अन्ततः, जब सेवा सहज हुन्छ, सूचना स्पष्ट हुन्छ र प्रतिक्रिया देखिन्छ – त्यतिबेला सदस्य सन्तुष्टि बढ्छ, विश्वास मजबुत हुन्छ र संस्था आफ्नै बलमा भविष्यतर्फ अघि बढ्ने आधार तयार हुन्छ।

२६. प्रणालीमा आधारित नेतृत्व योजना
महत्त्वपूर्ण पद खाली हुँदा संस्था कमजोर नहोस् भनेर समयमै नयाँ नेतृत्व तयार पार्ने प्रक्रिया नै नेतृत्व योजना हो। कुनै पनि संस्था व्यक्तिबाट होइन, प्रणालीबाट बलियो हुन्छ। नेतृत्व परिवर्तन अनिवार्य यथार्थ हो, तर त्यसले संस्था डगमगाउनैपर्छ भन्ने छैन – यदि त्यो परिवर्तन पूर्वतयारीसहित, सोचेर र संस्थागत ढंगले गरिएको छ भने। इक्यान जस्तो संस्थामा त यो कुरा झन् गहिरोसँग लागू हुन्छ, किनकि यहाँ हरेक सदस्य आफैंमा सबल, सचेत र नेतृत्व गर्न सक्ने क्षमता बोकेका छन् भन्ने विश्वास गर्नु आवश्यक छ।

यही सोचको आधारमा इक्यान भित्र नेतृत्व हस्तान्तरणलाई सहज, व्यवस्थित र दिगो बनाउन विकास गर्ने विषय गम्भीर विचारयोग्य देखिन्छ। नेतृत्व कुनै एक व्यक्तिको वरिपरि सीमित नहोस्, बरु संस्थाभित्र रहेका सक्षम सदस्यहरूबीच स्वाभाविक रूपमा विकसित हुँदै जाओस् भन्ने भावना यस योजनाको मूल आत्मा हुन सक्छ।
यस योजनाअन्तर्गत भविष्यका सम्भावित नेतृत्वदायी व्यक्तिहरूको समयमै पहिचान गर्ने, उनीहरूलाई जिम्मेवारी वहन गर्न सक्षम बनाउने उद्देश्यले लक्षित तालिम, मार्गदर्शन र क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने अभ्यास सुरु गर्न सकिने देखिन्छ।

यसले नेतृत्वलाई पदको प्रतिस्पर्धाभन्दा सेवा, उत्तरदायित्व र निरन्तरतासँग जोड्नेछ। यस प्रकारको नीतिले नेतृत्वमा अचानक हुने परिवर्तनका कारण संगठनभित्र सिर्जना हुन सक्ने अस्थिरता, व्यक्तिकेन्द्रित निर्भरता तथा बाह्य -विशेषतः राजनीतिक – प्रभावको जोखिमलाई उल्लेखनीय रूपमा न्यूनीकरण गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिन्छ।

अझ महत्वपूर्ण कुरा, यसले इक्यानभित्र संस्थागत स्मृति, निरन्तरता र दीर्घकालीन सुशासनलाई सुरक्षित गर्दै, संस्थालाई आजभन्दा भोलि अझ मजबुत, परिपक्व र भरोसायोग्य बनाउने आधार तयार पार्नेछ।

२७. युवा तथा नयाँ उद्यमी समावेशीकरण कार्यक्रम:
संस्था बलियो तब बन्छ, जब त्यसले अनुभवी हातको ज्ञान र नयाँ पुस्ताको ऊर्जालाई एउटै यात्रामा जोड्न सक्छ। इक्यान भित्र नयाँ, साना तथा युवा उद्यमी सदस्यहरू केवल सहभागी मात्र होइनन्, उनीहरू नै संस्थाको भोलि हुन् भन्ने सोच स्थापित गर्नु आजको आवश्यकता देखिन्छ। यही सन्दर्भमा, यस्ता सदस्यहरूको सक्रिय सहभागिता र क्षमता विकासलाई प्रोत्साहन गर्न विशेष समावेशीकरण कार्यक्रमहरू विकास गर्ने विषय गम्भीरतापूर्वक विचारयोग्य देखिन्छ।

अनुभवी र सफल सदस्यहरूसँग प्रत्यक्ष जोडिने मेन्टरसिप कार्यक्रम, लक्षित नेतृत्व विकास तथा व्यवस्थापन तालिम, र अनुभव तथा ज्ञान आदान–प्रदानलाई सहज बनाउने संरचित प्रणालीले नयाँ सदस्यहरूलाई संस्थाभित्र आफ्नो स्थान खोज्न मात्र होइन, आफ्नो आवाज बनाउन पनि मद्दत गर्न सक्छ। यस प्रकारका पहलहरूले नयाँ र युवा उद्यमीहरूको आत्मविश्वास बढाउने, पेशागत दक्षता सुदृढ गर्ने र संस्थागत मूल्य तथा जिम्मेवारीप्रतिको बुझाइ गहिरो बनाउने विश्वास व्यक्त गरिन्छ।
अझ महत्वपूर्ण कुरा, यसले इक्यान भित्र दीर्घकालीन नेतृत्व निर्माण, स्वस्थ पुस्तान्तरण र संगठनात्मक निरन्तरताको बलियो आधार तयार पार्दै संस्थालाई समयसँगै अझ सक्षम र दिगो बनाउने अपेक्षा गर्न सकिन्छ।

२८. संकट व्यवस्थापन तथा आकस्मिक नीति

संकट सधैं सूचना नदिई आउँछ। भिसा नीति एकाएक बदलिन्छ, अन्तर्राष्ट्रिय परिस्थितिले दिशा मोड्छ, महामारीजस्ता घटनाले पूरै प्रणाली रोकिदिन्छन्, वा सरकारी नीतिगत निर्णयले हजारौँ विद्यार्थी र संस्थालाई अन्योलमा पारिदिन्छ। यस्ता संवेदनशील क्षणहरूमा इक्यानको भूमिका मौन होइन – स्पष्ट, समयमै र नेतृत्वदायी हुनुपर्छ भन्ने विश्वास व्यक्त गरिन्छ। यही सन्दर्भमा, यस्ता आकस्मिक अवस्थाहरूमा इक्यानको आधिकारिक धारणा, नीतिगत दिशा र सदस्यहरूका लागि स्पष्ट तथा व्यवहारिक मार्गनिर्देशन तुरुन्तै उपलब्ध गराउने “क्राइसिस रेस्पाेन्स फ्रेमवर्क” विकास गर्नु अत्यन्त आवश्यक देखिन्छ।

संकटको घडीमा एउटै स्वर, एउटै सन्देश र एउटै दिशा नहुनु नै सबैभन्दा ठूलो जोखिम हुन सक्छ। यस प्रकारको संरचित संकट व्यवस्थापन ढाँचाले सदस्य संस्थाहरूलाई अनिश्चितता र अफवाहको अन्धकारबाट जोगाउन, तथ्यमा आधारित र एकरूप सूचना प्रवाह सुनिश्चित गर्न, तथा संगठनको संस्थागत विश्वसनीयता जोगाइराख्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गर्न सकिन्छ।
अझ महत्त्वपूर्ण कुरा, यसले संकटको समयमा इक्यानलाई प्रतिक्रियाशील मात्र होइन, मार्गदर्शक र भरोसायोग्य नेतृत्व प्रदान गर्ने सदस्य–केन्द्रित संस्थाको रूपमा उभ्याउने विश्वास व्यक्त गरिन्छ।

२९. विद्यार्थी तथा अभिभावक संरक्षण डेस्क:
विद्यार्थी र अभिभावकको भरोसा नै शिक्षा परामर्श क्षेत्रको आधारशिला हो। तर जब यही भरोसा अन्योल, डर वा गुनासोले घेरिन थाल्छ, त्यतिबेला सुन्ने, बुझ्ने र मार्ग देखाउने एउटा स्पष्ट संयन्त्रको अभाव सबैभन्दा ठूलो कमजोरी बन्छ। यही सन्दर्भमा, इक्यान अन्तर्गत सदस्य संस्थामार्फत सेवा लिने विद्यार्थी तथा अभिभावकहरूको हित संरक्षणलाई थप मजबुत बनाउन विशेष “विद्यार्थी तथा अभिभावक संरक्षण डेस्क” स्थापना गर्ने विषय गम्भीर रूपमा विचारयोग्य देखिन्छ।
यो डेस्क केवल जानकारी दिने काउन्टर मात्र नभई विद्यार्थी र अभिभावकका जिज्ञासा, चिन्ता र गुनासोलाई सम्मानपूर्वक सुन्ने, बुझ्ने र आवश्यक मार्गनिर्देशन प्रदान गर्ने भरोसायोग्य माध्यम बन्न सक्ने अपेक्षा गर्न सकिन्छ। यस प्रकारको संरचित र पहुँचयोग्य संयन्त्रले विद्यार्थी तथा अभिभावकहरूमा इक्यान प्रतिको विश्वासलाई थप गहिरो बनाउनेछ। अझ महत्वपूर्ण कुरा, यसले इक्यान लाई केवल सदस्य संस्थाहरूको प्रतिनिधि मात्र नभई विद्यार्थी केन्द्रित, उत्तरदायी र सामाजिक रूपमा जिम्मेवार संस्थाका रूपमा स्थापित गर्न निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गरिन्छ।

३०. बाह्य (विदेशी) कम्पनीहरूसँग सहकार्य तथा नीतिगत ढाँचा:
नेपालको शैक्षिक परामर्श क्षेत्र आज केवल देश भित्रकै प्रतिस्पर्धाले मात्रै होइन, सीमापारिबाट आउने कम्पनीहरूको प्रभावले पनि चुनौतीपूर्ण बन्दै गएको छ। यस्ता बाह्य विदेशमा दर्ता भएका तर नेपालमा सेवा दिन चाहने कम्पनीहरूसँग सहकार्य गर्नु आफैंमा अवसर पनि हो, र जोखिम पनि छ।

अवसरलाई सम्भावनामा बदल्न र जोखिमलाई नियन्त्रणमा राख्न, स्पष्ट नीति नै सबैभन्दा बलियो कवच बन्न सक्छ। यही सन्दर्भमा, इक्यान ले नेपालबाहिर दर्ता भएका तथा नेपालमा सेवा प्रदान गर्ने वा बजार प्रवेश गर्न चाहने बाह्य कम्पनीहरूसँग सहकार्य गर्ने विषयमा स्पष्ट, लिखित र पारदर्शी नीतिगत ढाँचा विकास गर्ने पहल गम्भीर विचारयोग्य देखिन्छ।

यस्तो ढाँचाले ती कम्पनीहरू नेपालमा कसरी सञ्चालन हुने, सदस्य संस्थाहरूसँगको सहकार्यको सीमारेखा के हुने, र लागू हुने कानुनी, व्यावसायिक तथा नैतिक मापदण्डहरू के–के हुने भन्ने कुरा सुरुदेखि नै स्पष्ट पार्न सहयोग पुर्‍याउने अपेक्षा गर्न सकिन्छ। यससँगै, यस्ता कम्पनीहरूसँग काम गर्दा इक्यान का सदस्यहरूले सामना गर्न सक्ने सम्भावित जोखिम, दायित्व र जिम्मेवारीबारे अग्रिम रूपमा जानकारी र सचेतना प्रदान गर्ने भूमिका इक्यानले निर्वाह गर्नु आवश्यक देखिन्छ।
यदि कुनै बाह्य कम्पनीलाई नेपालमा कार्य गर्न अनुमति वा मान्यता दिनुपर्ने अवस्था आएमा, त्यस कम्पनीको वैधानिकता, व्यावसायिक इतिहास, आर्थिक स्थायित्व र विश्वसनीयता गहिरो रूपमा परीक्षण गर्ने पहलमा इक्यान अग्रसर हुनु उपयुक्त देखिन्छ। अझ संवेदनशील पक्ष त त्यो क्षण हो, जब कुनै बाह्य कम्पनीले धोखाधडी गर्छ, अनियमित गतिविधिमा संलग्न हुन्छ, वा कुनै पूर्वसूचना बिना नेपालमा आफ्नो सञ्चालन बन्द गर्छ।

यस्ता अवस्थामा प्रभावित विद्यार्थी, अभिभावक तथा सदस्य संस्थाहरूको हित संरक्षण गर्न पूर्वतयारीसहितको प्रतिक्रिया, समन्वय र समाधान संयन्त्र तयार हुनु अत्यावश्यक देखिन्छ।

यदि ती कम्पनीहरू इक्यान कै पहल वा सिफारिसमा नेपाली बजारमा प्रवेश गरेका हुन् भने, त्यस्ता परिस्थितिमा इक्यान ले जिम्मेवारीबाट पन्छिने होइन – समन्वयकारी र मार्गदर्शक भूमिकामा उभिन सक्ने स्पष्ट नीति हुनु अझ जरुरी देखिन्छ।
यस प्रकारको दूरदर्शी र उत्तरदायी नीतिगत व्यवस्थामार्फत इक्यानले बाह्य जोखिम न्यूनीकरण गर्न, सदस्य तथा विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न, र संस्थागत विश्वसनीयता अझ बलियो बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन्छ।

अन्त्यमा, तपाईं र तपाईंको सम्पूर्ण कार्यसमितिलाई सफल, साहसी र दूरदर्शी कार्यकालका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु।

Skip This
Skip This
Logo