काठमाडौं । झापा क्षेत्र नम्बर–५ यसपटक सामान्य निर्वाचन क्षेत्र मात्र छैन । यो क्षेत्र अहिले राष्ट्रिय राजनीतिक बहसको केन्द्रमा छ । कारण स्पष्ट छ, चारपटक प्रधानमन्त्री भइसकेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र ‘नयाँ पुस्ताका रोजाइ’का राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) आमनेसामने छन् । दुवै आफूलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरिरहेका छन्, जसका कारण यो निर्वाचन नयाँ र पुराना पुस्ताको राजनीतिक परीषा पनि हो ।
२०४८ सालदेखि निरन्तर संसदीय राजनीतिमा सक्रिय ओली सातौँ पटक झापा–५ बाट चुनावी मैदानमा उत्रिएका हुन् । २०६४ सालबाहेक हरेक निर्वाचनमा सहज जित हात पारेका ओलीका लागि झापा–५ ‘सुरक्षित क्षेत्र’ मानिँदै आएको थियो । अघिल्लो निर्वाचनमा उनले ५२ हजार ३१९ मत ल्याउँदै प्रतिस्पर्धीभन्दा फराकिलो अन्तरले जित निकालेका थिए । एमालेको सांगठनिक जरा, जनवर्गीय संगठन र लामो समयदेखिको राजनीतिक पकडले झापा–५ लाई ओलीको गढ बनाएको छ ।
तर यही गढमा यसपटक बालेनले चुनौती दिएका छन् । संघीय संसद् र संसदीय राजनीतिमा नयाँ भए पनि बालेनले प्रतिनिधित्व गर्ने राजनीतिक भावनाले झापा–५ को चुनावी माहोललाई असामान्य बनाएको छ । ‘घरमै आएर चुनौती’ दिने बालेनको आगमनसँगै ओलीले पनि यसपटक निर्वाचन क्षेत्रमा बढी समय दिन थालेका छन् । विगतमा मनोनयन दर्तापछि काठमाडौं फर्कने ओली अहिले दमकमा बसेर कार्यकर्ता, शुभेच्छुक र युवा भेलामा सक्रिय देखिन्छन् ।
ओलीको शक्ति
ओलीको मुख्य शक्ति भनेकै अनुभव हो । चारपटक प्रधानमन्त्री, पार्टी अध्यक्ष र राष्ट्रिय राजनीतिका निर्णायक क्षणहरूमा नेतृत्व गरेको इतिहास उनले बोकेका छन् । उनका समर्थकहरूका अनुसार स्थायित्व, निर्णय क्षमता र सांगठनिक बल नै ओलीको प्रमुख आधार हो । एमालेका स्थानीय नेताहरू झापा–५ लाई ‘पोखरीजस्तो जमेको जनमत’ भएको क्षेत्रका रूपमा चित्रण गर्छन्, जहाँ बाहिरबाट आएको उम्मेदवारलाई जित निकाल्न कठिन हुने दाबी गर्छन् ।
तर यही अनुभव ओलीका लागि चुनौती पनि बनेको छ । लामो समय सत्तामा रहेकाले ‘निरन्तर पुरानो अनुहार’ को प्रतिनिधि भएको आरोप उनीमाथि लाग्दै आएको छ । विशेषगरी युवा मतदातामाझ परिवर्तनको चाहना बलियो हुँदै गएको छ । सामाजिक सञ्जालमा सक्रिय युवाहरू ओलीको भाषण शैली र कटाक्षप्रति आलोचनात्मक देखिन्छन् ।
बालेन यही असन्तुष्टिलाई आफ्नो पक्षमा पार्ने प्रयासमा छन् । सामाजिक सञ्जालबाट उदाएका बालेन ‘सिस्टम फेर्ने’ राजनीतिक एजेन्डासहित मैदानमा उत्रिएका छन् । उनी झापा–५ का लागि नयाँ अनुहार भए पनि राष्ट्रिय स्तरमा चर्चित नाम हुन् । घरदैलो, प्रत्यक्ष भेटघाट र अन्य पार्टीका युवा नेताहरूलाई आकर्षित गर्ने रणनीतिले बालेनको अभियानले चर्चा पाएको छ ।
पार्टी पलायन र संकेत
बालेनको आगमनसँगै झापा–५ मा दल परिवर्तनको क्रमले राजनीतिक वृत्तलाई झस्काएको छ । कांग्रेसका स्थानीय नेता, एमाले निकट युवा संघका पदाधिकारी र अन्य पार्टीका सक्रिय कार्यकर्ताहरू रास्वपामा प्रवेश गर्नुले ‘बिरासत भत्कने संकेत’ देखिएको बालेन पक्षको दाबी छ । विशेषगरी ओलीको गृहनगर दमकमा नै एमालेका युवा नेताहरूको पलायनले चुनावी समीकरणलाई चासोको विषय बनाएको छ ।
तर एमाले नेतृत्व यसलाई अस्थायी हल्लाका रूपमा लिन्छ । ओली स्वयंले सामाजिक सञ्जालले सिर्जना गरेको ‘भ्रमको तुवाँलो’बाट मुक्त हुन आग्रह गर्दै संगठनात्मक बल नै अन्ततः निर्णायक हुने बताएका छन् । उनका भाषणहरूमा बालेनलाई लक्षित कटाक्ष पनि स्पष्ट देखिन्छ—स्थानीय जिम्मेवारी, अनुभव र जवाफदेहिताको प्रश्न उठाउँदै ओलीले ‘धितो–जमानी’को उपमा दिएका छन् ।
बालेनका चुनौती
बालेनका लागि झापा–५ सहज क्षेत्र होइन । भूगोल, मतदाता संरचना र ग्रामीण समाज उनीका लागि नयाँ छन् । संसदीय अभ्यासको अनुभव नहुनु, सार्वजनिक बहस र मिडियाबाट दूरी राख्नु तथा स्थानीय मुद्दामा स्पष्ट खाका सार्वजनिक नगर्नु उनका कमजोरीका रूपमा देखिन्छन् । साथै, विगतमा ओलीलाई समर्थन गर्दै आएको राप्रपाले यसपटक आफ्नै उम्मेदवार उठाउनुले मत विभाजनको सम्भावना बढाएको छ, जसको प्रत्यक्ष लाभ कसलाई पुग्छ भन्ने प्रश्न खुला छ ।
मतदाताको निर्णायक भूमिका
झापा–५ मा १ लाख ६३ हजारभन्दा बढी मतदाता छन्, जसमा करिब नौ हजार नयाँ मतदाता थपिएका छन् । यी नयाँ मतदाता कुन धारतर्फ आकर्षित हुन्छन् भन्ने कुराले परिणामलाई निर्णायक रूपमा प्रभावित गर्न सक्छ । अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ एमाले पहिलो र रास्वपा दोस्रो भए पनि मतान्तर उल्लेख्य थियो । तर अहिलेको राजनीतिक माहोल फरक छ । स्थानीय बुद्धिजीवीहरूका अनुसार ओलीका लागि यो निर्वाचन ‘पहिलो गम्भीर चुनौती’ हो भने बालेनका लागि ‘सबैभन्दा ठूलो परीक्षा’ । अनुभवी नेतृत्व रोज्ने कि परिवर्तनको जोखिम लिने भन्ने निर्णय मतदाताको हातमा छ ।
ओलीका १० प्रबल पक्ष
१. दीर्घ राजनीतिक अनुभव ।
२. कार्यकारी नेतृत्व, निर्णय प्रक्रिया र राज्य सञ्चालनमा लामो अनुभव ।
४. झापा–५ मा स्थापित जनाधार ।
५. राष्ट्रवादी र विकासमुखी भाष्य ।
६. निर्णायक नेतृत्वको छवि ।
७. झापाकै नेता भएकाले भूगोल र समाजको राम्रो बुझाइ ।
८. गठबन्धन र सत्ता सञ्चालनको अनुभव ।
९. निर्वाचनमा परिचालित हुन सक्ने संगठित शक्ति ।
१०. ‘परिक्षित नेतृत्व’ रोज्ने मतदाताको विश्वास ।
ओलीका १० दुर्बल पक्ष
१. ‘पुरानो अनुहार’ र परिवर्तनविरोधी छविको आरोप ।
२. नयाँ सोच र शैली खोज्ने युवासँग दूरी ।
३. आलोचनात्मक प्रतिक्रिया निम्त्याउने सम्भावना ।
४. डिजिटल राजनीतिमा सीमित पकड ।
५. पार्टीभित्रै केही नेता–कार्यकर्ताको पलायन ।
६. सरकार सञ्चालनका क्रममा उठेका आलोचना ।
७. २०६४ सालको हारको स्मृति – पूर्णतः अपराजेय नभएको विगत ।
८. पहिलोपटक भोट हाल्ने मतदाताको झुकाव अस्पष्ट ।
९. यथास्थितिको प्रतिनिधि ठानिनु ।
१०. ओलीविरोधी मत एकीकृत हुन सक्ने जोखिम ।
बालेनका १० प्रबल पक्ष
१. नयाँ र वैकल्पिक राजनीतिक अनुहार ।
२. युवा र शहरी मतदातामा लोकप्रियता ।
३. क्लिन इमेज, भ्रष्टाचार र सत्ता राजनीतिसँग प्रत्यक्ष जोड नहुनु ।
४. ‘सिस्टम फेर्ने’ एजेन्डा ।
५. अन्य पार्टीका युवा नेताहरूको आकर्षण ।
६. घरदैलो र प्रत्यक्ष भेटघाटमा भीड र उत्साह देखिने अभियान ।
७. झापा–५ लाई राष्ट्रिय राजनीतिक केन्द्र बनाउनु ।
८. स्थापित दलविरुद्धको मनोविज्ञानको लाभ ।
९. साहसिक राजनीतिक चुनौती, ओलीको गढमै प्रतिस्पर्धा ।
१०. पहिलोपटक भोट हाल्ने युवाको आकर्षण ।
बालेनका १० दुर्बल पक्ष
१. झापा–५ का लागि नयाँ अनुहार ।
२. संसदीय र संघीय अनुभवको अभाव ।
३. स्थानीय मुद्दामा सीमित ।
४. सार्वजनिक बहस र मिडियाबाट दूरी ।
५. सांगठनिक संरचना कमजोर ।
६. ग्रामीण मतदातामा सीमित पहुँच ।
७. उत्साह टिकाउ रहन्न कि भन्ने शंका ।
८. परम्परागत मत विभाजन ।
९. अनुभवी प्रतिस्पर्धीसँग प्रत्यक्ष टक्कर ।
१०. पार्टी सभापति रवि लामिछाने ‘फ्याक्टर’ ।





























प्रतिक्रिया