पर्सामा निर्वाचन प्रहरी बन्न आमादेखि युवतीसम्मको उत्साह

पर्सामा निर्वाचन प्रहरी बन्न आमादेखि युवतीसम्मको उत्साह

केन्द्रबिन्दु
60
Shares

वीरगञ्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा जिल्लामा निर्वाचन प्रहरी बन्नेहरूको उल्लेख्य भीड देखिएको छ। वीरगञ्जस्थित नारायणी रङ्गशालामा महिला, आमा, युवती तथा युवाहरू शारीरिक अभ्यासमा सक्रिय रूपमा सहभागी भइरहेका छन्।

पर्साको विन्दवासिनी गाउँपालिका–१ स्थायी घर भएकी ५३ वर्षीया सिसकुमारी देवी विनिन तेस्रो पटक निर्वाचन प्रहरी बन्ने अभिलासासहित अभ्यासमा जुटिरहेकी छन्। तीन सन्तानकी आमा विनिन रहरभन्दा पनि परिवारको आर्थिक अवस्थाका कारण निर्वाचन प्रहरीमा सहभागी हुनुपरेको बताउँछिन्। अघिल्ला दुई निर्वाचनमा म्यादी प्रहरीको अनुभव भएकाले यसपटक पनि छनोट हुने आशा लिएको उनको भनाइ छ। उनका एक छोरा सवारी दुर्घटनामा परेर उपचाररत छन् भने पति खेतीपातीमा संलग्न छन्।

त्यस्तै, पर्साको पोखरिया नगरपालिकाकी ३२ वर्षीया दुई सन्तानकी आमा तेतरीदेवी चमार पनि निर्वाचन प्रहरी बन्ने लक्ष्यसहित अभ्यास गरिरहेकी छन्। देशको सेवा गर्न र छोराछोरीको पढाइ खर्च जुटाउन सहयोग होस् भन्ने उद्देश्यले आफू सहभागी भएको उनले बताइन्।

पर्साको बहुदरमाई नगरपालिका–९ निवासी दुई छोराकी आमा चन्द्रमा देवी पनि आर्थिक अभावका कारण निर्वाचन प्रहरी बन्ने प्रयासमा छन्। नर्सरीमा पढ्ने छोरालाई घरमै छाडेर अभ्यासमा आएको उनको भनाइ छ। उनका अनुसार निर्वाचन प्रहरी बनेर देशको सेवासँगै केही आम्दानी पनि गर्न सकिन्छ। उनका पति फोहोरमैला व्यवस्थापनसम्बन्धी काम गर्छन्।

युवती र युवाहरूको सहभागिता पनि उल्लेख्य देखिएको छ। १९ वर्षीया कुशुकुमारी पहिलो पटक निर्वाचन प्रहरी बन्ने प्रयासमा अभ्यासमा जुटिरहेकी छन्। निर्वाचन सफल बनाउन र केही आम्दानी गर्नका लागि सहभागी भएको उनको भनाइ छ ।

त्यस्तै, बहुदरमाई नगरपालिका–७ विश्रामपुरका २४ वर्षीया अमृत महतो यसअघि वन रक्षक, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा प्रतिस्पर्धा गरिसकेकाले अनुभवका लागि निर्वाचन प्रहरीमा सहभागी भएको बताउँछन्। उनले स्वच्छ र पारदर्शी निर्वाचन गराउन योगदान दिने बताएका छन्।

छिमेकी जिल्ला बाराको परवानीपुर गाउँपालिकाका १८ वर्षीया विदेशप्रसाद यादव पनि समयको सदुपयोग, अनुभव र आम्दानीका लागि निर्वाचन प्रहरीमा सहभागी भएको बताउँछन्।

जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीतर्फ गरी दुई हजार ८५२ जनाको माग गरिएकोमा आवेदन संख्या दोब्बरभन्दा बढी परेको छ । सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन प्रहरी भर्ना छनोट उपसमितिका संयोजक सुमनकुमार कार्कीका अनुसार सबै उमेर समूहका महिला तथा पुरुषको सहभागिता उत्साहजनक छ । छोटो अवधिका लागि भए पनि रोजगारीको अवसर सिर्जना भएको उनले बताए ।

पर्सा प्रहरीका अनुसार निर्वाचन प्रहरी छनोट प्रक्रिया निष्पक्ष र पारदर्शी बनाउन नियमित अनुगमन भइरहेको छ ।

Skip This
Skip This
Logo