काठमाडौं । नेकपा एमालेभित्र प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको टिकट वितरणलाई लिएर असन्तोष देखिए पनि टिकटबाट वञ्चित शीर्ष नेताहरूले पार्टीको चुनावी अभियानमा आफ्नो प्रतिबद्धता सार्वजनिक रूपमा दोहोर्याएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिए पनि नेताहरू व्यक्तिगत असन्तुष्टि थाती राख्दै ‘सूर्य चिन्ह’ र एमालेको जित नै आफ्नो प्राथमिकता भएको सन्देश दिएका छन् ।
पार्टी अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै एमालेले टिकट वितरण गरे पनि प्रक्रिया एकलौटी र सीमित घेराभित्र केन्द्रित भएको टिप्पणी भइरहेका छन् । पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहबाट निर्वाचन लडेका पूर्वउपाध्यक्ष सुरेन्द्र प्रसाद पाण्डे, उपमहासचिव योगेश भट्टराई, पूर्वपोलिटब्यूरो सदस्य गोकुल बास्कोटा, लालबाबु पण्डित, ठाकुर गैरे, विन्दा पाण्डे, अरुण नेपाल, बैजनाथ चौधरी, रचना खड्का, कर्णबहादुर थापा, ईन्द्रलाल सापकोटा, पुरुषोत्तम पौडेल, कृष्णगोपाल श्रेष्ठलगायत प्रभावशाली नेताहरू प्रत्यक्षतर्फको टिकटबाट बाहिर परेका थिए । पछि गैरेले दबाबका बीच टिकट पाए पनि अरुले पाएनन् ।
ओखलढुंगामा टिकट वितरणमा भएको असन्तुष्टिले जिल्ला कमिटी अध्यक्षको नेतृत्वमा पार्टीका नेताहरू नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरिसकेका छन् भने सिन्धुपाल्चोकका एमाले नेता पार्टीबाट अलग भइसकेका छन् । तर टिकट नपाए पनि नेताहरूले पार्टीविरुद्ध जाने, मौन बस्ने वा असहयोग गर्ने संकेत दिएनन् । बरु सार्वजनिक अभिव्यक्तिमार्फत उनीहरूले एमालेको चुनावी अभियानमा सक्रिय रहेका छन् ।
एमाले उपमहासचिव भट्टराई ताप्लेजुङमा एमाले उम्मेदवार क्षितित थेवेको मनोनयनमा आफैंमात्र पुगेनन्, चुनावी अभियानमा पनि साथै लागेर हिँडे । पाण्डे, बास्कोटा मात्र होइन, टिकटबाट बञ्चित गराइएका ओखलढुंगाका एमाले नेता यज्ञराज सुनुवार पनि चुनावी अभियानमा लागेका छन् ।
यता ओलीले टिकट वितरण एकलौटी मात्र गरेनन्, दमकमा कान्तिपुरसँगको कुराकानीमा पाण्डे र भट्टराईले चुनाव जित्न नसक्ने बताएपछि नेताहरू थप आक्रोशित भएका छन् । ओलीले भनेका छन्– ‘मसँग अध्यक्षमा प्रतिस्पर्धा गर्ने ईश्वर पोखरेल काठमाडौं–५ बाट उम्मेदवार बन्नुभएको छ । सुरेन्द्र पाण्डे र योगेश भट्टराईले जित्ने स्थिति रहेन यस पटक । बिन्दा पाण्डेको कुनै आधारै छैन । गोकुल बाँस्कोटाले अघिल्लो पटक टिकट पाउनुभयो, जित्नुभयो । चार वर्ष अगाडि र अहिलेको स्थितिमा फरक परेको छ, ‘ग्राउन्ड रियालिटी’ मा । गोकुलजीले कार्यकर्ता पंक्तिमा अलि बढी विभाजन ल्याउनुभयो । त्यहाँको कार्यकर्ता पंक्ति हिजो एकढिक्का भएर लागेको थियो, आज उहाँले अलि विभाजित गर्दा अप्ठ्यारो स्थिति भयो कि ?’
ओलीको यो भनाइबाट टिकट नपाएका नेताहरू थप आक्रोशित भएका छन् । पूर्वउपाध्यक्ष सुरेन्द्र प्रसाद पाण्डेले निर्वाचनको संवेदनशील घडीमा पार्टीलाई एकताबद्ध राख्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन् । उनले नेतृत्वका अभिव्यक्तिले कार्यकर्ताको मनोबल कमजोर पार्नुको साटो ऊर्जा दिनुपर्ने उल्लेख गर्दै टिकट वितरणको ‘क्याल्कुलेसन’ पार्टी हितका लागि स्वीकार गरिएको प्रस्ट पारेका छन् ।
पाण्डेले अहिले आफू टिकटको बहसभन्दा बाहिर रहेर एमालेका उम्मेदवारहरूलाई जिताउन र संगठनको साख जोगाउन सक्रिय रूपमा मैदानमा खटिइसकेको बताएका छन् ।
यसैगरी एमाले उपमहासचिव योगेश भट्टराईले पनि अध्यक्ष ओलीको सार्वजनिक टिप्पणीपछि प्रतिक्रिया दिँदै पार्टीप्रति आफ्नो प्रतिबद्धता दोहो¥याएका छन् । उनले फागुन २१ सम्म पार्टीका आन्तरिक विषयमा सार्वजनिक बहस नगर्ने स्पष्ट पार्दै “मेरो मिसन सूर्य चिन्ह र नेकपा एमाले हो, नो इफ, नो बट ।”
अध्यक्षको अभिव्यक्तिबाट चिन्तित र दुःखी भए पनि आफू विचलित वा निरास नभएको जनाउँदै भट्टराईले टिकट पाएको मात्रैले जीतको ग्यारेन्टी नहुने टिप्पणी गरेका छन् ।
पूर्वमन्त्री गोकुल बास्कोटाले पनि असहमति व्यक्त गर्ने शैलीमा संयम देखाएका छन् । पदमा बसेर तथ्यविहीन आरोप लगाउनु गलत भएको उल्लेख गर्दै उनले पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक गुण नभएको बताएका छन् । मदन भण्डारीको विचारलाई आफ्नो राजनीतिक आदर्शका रूपमा स्मरण गर्दै बास्कोटाले व्यक्तिगत आरोप–प्रत्यारोपभन्दा माथि उठेर पार्टी र जनताको पक्षमा उभिने संकेत दिएका छन् ।
टिकट वितरणमा अध्यक्ष ओलीको कडा निर्णय र टिप्पणीलाई ‘पत्थर’का रूपमा लिइए पनि नेताहरूले त्यसको जवाफ आक्रोश वा विद्रोहले होइन, सार्वजनिक प्रतिबद्धता र संगठनप्रतिको निष्ठाले दिएका छन् । टिकट नपाए पनि पार्टी नछोड्ने, अभियानबाट अलग नहुने र एमालेको जितका लागि काम गर्ने नेताहरूको सन्देशले चुनावी घडीमा एमालेलाई केही राहत दिएको छ ।































प्रतिक्रिया